दक्षिण चीन सागरको मामिलामा हस्तक्षेप रोक्न क्षेत्रबाहिरका देशलाई चीनको आग्रह
ड्रागन मिडिया समाचार कक्ष
फिलिपिन्स र अस्ट्रेलियाबीच हालै भएको रक्षा सहकार्य सम्झौताबारे प्रतिक्रिया दिँदै चीनले क्षेत्रबाहिरका देशलाई दक्षिण चीन सागरको मामिलामा हस्तक्षेप रोक्न आग्रह गरेको छ। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता चेन सीले बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा ती देशले दक्षिण चीन सागरमा चीनको सार्वभौमिकता, सामुद्रिक अधिकार र हितको सम्मान गर्नुपर्ने बताए।
सिन्ह्वाका अनुसार फिलिपिन्सले उक्त सम्झौताबाट दक्षिण चीन सागरमा चीनका गतिविधिको सामना गर्न आफ्नो प्रतिरोध क्षमता बलियो हुने बताएको छ। यसबारे सोधिएको प्रश्नमा चेनले फिलिपिन्सका केही राजनीतिज्ञले व्यक्तिगत स्वार्थका लागि चीनबारे भ्रामक कुरा फैलाएको र बाह्य शक्तिको समर्थन खोजेको आरोप लगाए। यस्ता कदमले तनाव बढाउने र क्षेत्रीय स्थिरता कमजोर पार्ने उनको भनाइ थियो।
‘दक्षिण चीन सागर शान्ति, मित्रता र सहकार्यको सागर हुनुपर्छ,’ चेनले भने। उनले चीनले आफ्नो क्षेत्रीय सार्वभौमिकता र सामुद्रिक अधिकारको रक्षाका लागि चालेका कदमलाई वैध र उचित बताए। चीनले उक्साहट र आफ्नो अधिकार उल्लङ्घन गर्ने गतिविधिको जवाफ दिन आवश्यक कदम चाल्ने र दक्षिण चीन सागरलाई अस्थिर बनाउने प्रयास विफल पार्ने पनि उनले बताए।





