देशका अधिकांश भागमा मौसम सफा रहने, कोशीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
शुक्रबार दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले हाल देशमा कुनै मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ। शुक्रबार बिहान हिमाली क्षेत्रमा आंशिक बदली छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ। काठमाडौं उपत्यकामा शुक्रबार न्यूनतम तापक्रम ८ देखि १० र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान छ।
शुक्रबार राति कोशी र गण्डकीका हिमाली क्षेत्र तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
शनिबार बिहान उपत्यका र खोँचका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान छ।





