चीनसहित १४ अर्थतन्त्रमाथि थप भन्सार लगाउने अमेरिकी प्रस्तावको बेइजिङद्वारा विरोध

ड्रागन मिडिया समाचार कक्ष
चीनले आफू र अन्य १३ अर्थतन्त्रमाथि थप भन्सार लगाउने अमेरिकी प्रस्तावको विरोध गर्दै व्यापारिक मतभेद वार्ताबाट समाधान गर्न आग्रह गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले बिहीबार बेइजिङमा अमेरिकी व्यापार कानुनको दफा ३०१ अन्तर्गत अघि सारिएको प्रस्तावलाई एकपक्षीय कदम भन्दै यसले विश्व व्यापार संगठनका नियम उल्लङ्घन गर्ने बताए।
सिन्ह्वाका अनुसार अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले कथित ‘अतिरिक्त उत्पादन क्षमता’बारे गरेको अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै थप भन्सार प्रस्ताव गरेको हो। हेले अमेरिकाले अतिरिक्त उत्पादन क्षमतालाई बहाना बनाएर संरक्षणवादी नीति अघि बढाएको र बजार प्रतिस्पर्धालाई राजनीतिक विषय बनाएको आरोप लगाए।
हेका अनुसार थप भन्सारले अमेरिकाको आफ्नै अर्थतन्त्रका संरचनागत असन्तुलन समाधान गर्न खासै मद्दत गर्दैन। बरु विश्वव्यापी उत्पादन र आपूर्ति श्रृंखलामा अवरोध आउने, औद्योगिक सहकार्य कमजोर हुने र मूल्यवृद्धिको भार व्यवसायी तथा उपभोक्तामाथि पर्ने जोखिम रहेको उनले बताए। चीनले प्रस्तावको प्रगति नियालिरहेको र आफ्नो वैध अधिकार तथा हितको रक्षाका लागि आवश्यक कदम चाल्ने अधिकार सुरक्षित राखेको उनले स्पष्ट पारे।
सेप्टेम्बरमा चीन र अमेरिकाबीच भएको ३० अर्ब अमेरिकी डलरको पारस्परिक भन्सार कटौतीसम्बन्धी सहमतिबारे पनि हेले प्रतिक्रिया दिए। उनका अनुसार उक्त सहमतिले समेटेका वस्तुलाई अमेरिकाले अहिले प्रस्ताव गरेको थप भन्सारको दायराबाहिर राखेको छ। उनले अमेरिकालाई आफ्नो आन्तरिक प्रक्रिया छिटो पूरा गरी चीनसँगको सहकार्यमा सहमति कार्यान्वयन गर्न आग्रह गरे। सहमति चाँडै लागू भए द्विपक्षीय व्यापार विस्तारमा सहयोग पुग्ने उनको भनाइ थियो।





