सरकारलाई प्रश्न गर्न सक्ने स्वतन्त्र प्रेस आवश्यक : मुख्यमन्त्री मगर

ड्रागन मिडिया सम्वाददाता
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकार र राजनीतिक नेतृत्व परिवर्तन हुँदैमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य र मान्यता परिवर्तन हुन नहुने बताएका छन्। उनले लोकतन्त्रको सुदृढीकरणका लागि सरकारलाई प्रश्न गर्न सक्ने स्वतन्त्र, व्यावसायिक र आर्थिक रूपमा सक्षम सञ्चारमाध्यम आवश्यक रहेको बताएका छन्।
कान्तिपुरका अनुसार शुक्रबार काभ्रेपलाञ्चोकको बनेपामा मदानी बिट मिडिया प्रालिको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री मगरले सरकार अस्थायी भए पनि लोकतान्त्रिक मूल्य, मान्यता र प्रेस स्वतन्त्रता स्थायी हुनुपर्नेमा जोड दिए।
‘सरकार परिवर्तन हुन सक्छ, नेतृत्व परिवर्तन हुन सक्छ, राजनीतिक परिस्थिति परिवर्तन हुन सक्छ तर प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुन सक्दैन,’ उनले भने, ‘हामीलाई सरकारको प्रशंसा गर्ने सञ्चारमाध्यम मात्र होइन, सरकारलाई प्रश्न गर्न सक्ने स्वतन्त्र सञ्चारमाध्यम चाहिएको छ।’
मुख्यमन्त्री मगरले सरकारका सकारात्मक काम जनतासमक्ष पुर्याउनुका साथै सरकारी कमजोरी, ढिलासुस्ती र गल्ती उजागर गर्नु पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी भएको बताए। सरकारको आलोचना गर्ने पत्रकार पनि लोकतन्त्रका महत्त्वपूर्ण साझेदार भएको उनको भनाइ थियो।
स्थानीय सञ्चारमाध्यमले भोगिरहेको आर्थिक सङ्कट र पत्रकारले नियमित पारिश्रमिकसमेत प्राप्त गर्न नसकेको अवस्थाप्रति मुख्यमन्त्री मगरले चासो व्यक्त गरे। स्थानीय सञ्चारमाध्यमको संस्थागत क्षमता अभिवृद्धि, प्रविधिको विकास र आर्थिक दिगोपनका लागि सहकार्यका कार्यक्रम अघि बढाउने उनले बताए।
समाचार सङ्कलनका क्रममा पत्रकारमाथि हुने धम्की, दबाब, दुर्व्यवहार र आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै उनले पत्रकारको पेशागत सुरक्षा तथा श्रम अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
पत्रकारलाई न्यूनतम पारिश्रमिक, नियमित तलब, दुर्घटना तथा स्वास्थ्य बीमा र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी सञ्चार संस्थाले पनि वहन गर्नुपर्ने उनले बताए।
मुख्यमन्त्री मगरले स्थानीय सञ्चारमाध्यमको आर्थिक दिगोपन, पत्रकारको पेशागत सुरक्षा र स्वतन्त्र पत्रकारिताको विकासका लागि सम्बन्धित पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।





