प्रधानमन्त्रीको भारत भ्रमणबारे पहिलो पार्टी नेपालको सातबुँदे धारणा : राष्ट्रिय हित र सार्वभौमिकताको संरक्षण गर्न आग्रह

ड्रागन मिडिया सम्वाददाता
पहिलो पार्टी नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा भएका सहमति तथा समझदारीको कार्यान्वयन गर्दा नेपालको राष्ट्रिय हित, सार्वभौमिकता, भौगोलिक अखण्डता र आर्थिक स्वायत्तताको संरक्षण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
पार्टीका संयोजक गोविन्द बोहरा ‘ब्रह्माण्ड’ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउनु दुवै देशको साझा हितमा रहेको बताएका छन्। दुई देशबीचको मित्रता र सहकार्य सार्वभौम समानता, पारस्परिक सम्मान तथा विश्वासमा आधारित हुनुपर्ने पार्टीको धारणा छ।
प्रधानमन्त्री शाहको मंसिर ६ र ७ गते अर्थात सन २०२६ नोभेम्बर २२ र २३ मा सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा विकास, पूर्वाधार, ऊर्जा, व्यापार, पारवहन र शिक्षालगायत क्षेत्रमा भएका सहमति नेपालका लागि अवसर बन्न सक्ने पार्टीले जनाएको छ।
भ्रमणका क्रममा घोषित दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र एक खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा रहेको उल्लेख गर्दै पार्टीले ऋणको ब्याजदर, भुक्तानी अवधि, वित्तीय शर्त तथा त्यसबाट नेपालले प्राप्त गर्ने आर्थिक प्रतिफलसम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरेको छ।
पहिलो पार्टी नेपालले भ्रमणका क्रममा भएका सहमति तथा दीर्घकालीन नेपाल–भारत सम्बन्धका विषयमा सातबुँदे धारणा सार्वजनिक गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षा
पार्टीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपालको सीमा तथा भौगोलिक अखण्डतासँग सम्बन्धित विषयलाई छलफलमा मात्र सीमित नराख्न सरकारसँग आग्रह गरेको छ।
ऐतिहासिक प्रमाण, सुगौली सन्धि र नेपालको आधिकारिक नक्साका आधारमा कूटनीतिक पहलमार्फत सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने पार्टीको धारणा छ।
जलश्रोतमा नेपालको अधिकार सुनिश्चित गर्न माग
पञ्चेश्वर, सप्तकोशी, सुनकोशी र तल्लो अरुणलगायत जलविद्युत तथा बहुउद्देश्यीय परियोजना अघि बढाउँदा नेपालको पानी, जमिन र प्राकृतिक श्रोतमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
जलविद्युत उत्पादन, बिक्री, मूल्य निर्धारण, लगानी तथा नाफाको बाँडफाँटमा नेपालको अधिकतम राष्ट्रिय हित सुनिश्चित गर्नुपर्ने पार्टीले जनाएको छ।
वैदेशिक ऋण तथा अनुदानमा पारदर्शिता
विदेशी सहायता प्राप्त गर्नुलाई मात्र विकासको उपलब्धि मान्न नहुने उल्लेख गर्दै पार्टीले त्यस्तो सहायताबाट सिर्जना हुने रोजगारी, उत्पादन वृद्धि, ऋणको दायित्व तथा दीर्घकालीन आर्थिक प्रतिफलको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएको छ।
सरकारले वैदेशिक सहायता तथा ऋणसम्बन्धी सबै सम्झौता र वित्तीय शर्त नागरिकसमक्ष सार्वजनिक गर्नुपर्ने पार्टीको माग छ।
व्यापार तथा पारवहन मार्गको विविधीकरण
भारतीय बन्दरगाहमा नेपालको पहुँच विस्तार हुनु सकारात्मक भएको उल्लेख गर्दै पहिलो पार्टी नेपालले चीनलगायत अन्य मित्रराष्ट्रसँग पनि व्यापार तथा पारवहनका वैकल्पिक मार्ग विकास गर्नुपर्ने धारणा अघि सारेको छ।
कुनै एक मुलुकमाथिको अत्यधिक आर्थिक तथा पारवहन निर्भरता नेपालको दीर्घकालीन राष्ट्रिय हितअनुकूल नहुने भन्दै पार्टीले व्यापारिक सम्पर्क र आपूर्ति प्रणालीको विविधीकरणलाई प्राथमिकता दिन आग्रह गरेको छ।
पेट्रोलियम तथा ऊर्जा सुरक्षा
पेट्रोलियम पाइपलाइन तथा भण्डारण केन्द्र निर्माणसम्बन्धी सहमतिलाई सकारात्मक रूपमा लिएको पार्टीले पेट्रोलियम पदार्थको सुरक्षित भण्डारण, आपूर्तिको विविधीकरण तथा स्वदेशी ऊर्जा उत्पादनमा जोड दिनुपर्ने जनाएको छ।
नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्न स्वदेशी जलविद्युत तथा वैकल्पिक ऊर्जाको विकासलाई प्राथमिकता दिनुपर्ने पार्टीको धारणा छ।
पुराना सन्धि तथा सम्झौताको पुनरावलोकन
पहिलो पार्टी नेपालले सन १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत समयसापेक्ष बनाउनुपर्ने पुराना द्विपक्षीय सन्धि तथा सम्झौताको पुनरावलोकन गर्न माग गरेको छ।
सार्वभौम समानता, पारस्परिक सम्मान र नेपालको राष्ट्रिय हितका आधारमा त्यस्ता सन्धि तथा सम्झौताको पुनरावलोकन प्रक्रिया अघि बढाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
संसद र नागरिकसमक्ष सम्झौता सार्वजनिक गर्न माग
नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग सम्बन्धित सबै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौता तथा समझदारी संसद र नागरिकसमक्ष स्पष्ट रूपमा पेश गर्नुपर्ने पार्टीले जनाएको छ।
आवश्यकताअनुसार संसदीय छलफल तथा जनपरामर्शको व्यवस्था गरी राष्ट्रिय महत्त्वका निर्णयमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने पार्टीको माग छ।
भारतसँग मित्रता, चीनसँग विश्वसनीय सहकार्य
पहिलो पार्टी नेपालले आफू भारतसँगको मित्रताको विरोधी नभई नेपालको राष्ट्रिय हितविपरीत हुने असमानता, अत्यधिक निर्भरता तथा सम्झौताको विरोधी रहेको स्पष्ट पारेको छ।
पार्टीले भारतसँग सुमधुर सम्बन्ध, चीनसँग विश्वसनीय सहकार्य तथा विश्वका सबै मित्रराष्ट्रसँग नेपालको राष्ट्रिय हितमा आधारित स्वतन्त्र कूटनीतिक सम्बन्ध विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेको छ।
नेपाल दुई ठूला छिमेकीबीच अवस्थित भएकै कारण कुनै पनि मुलुकको प्रभावक्षेत्र बन्न नहुने उल्लेख गर्दै पार्टीले आफ्नो इतिहास, पहिचान, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानसहित नेपाल स्वतन्त्र राष्ट्रका रूपमा विश्व समुदायमा स्थापित हुनुपर्ने जनाएको छ।
‘मित्रता सबैसँग, सहकार्य सबैसँग; तर नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वाभिमानमा कुनै सम्झौता गर्नु होइन’, विज्ञप्तिमा भनिएको छ।
पार्टीले नेपाली जनताको अधिकार, राष्ट्रिय श्रोतसाधनको सदुपयोग तथा स्वतन्त्र राष्ट्रिय निर्णय क्षमतालाई नेपालको दीर्घकालीन समृद्धिको आधारका रूपमा अघि सारेको छ।





