१४ मंसिर २०८३, आईतवार

कालीकोटमा शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता, शिक्षामा १० प्रतिशत बजेट छुट्याइने

ड्रागन मिडिया सम्वाददाता

कालीकोटमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक, अभिभावक र स्थानीय सरकारबीच सहकार्य गर्ने सहमतिसहित शनिबार सम्पन्न शैक्षिक सम्मेलनले १९ बुँदे प्रतिबद्धता जारी गरेको छ।

जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शैक्षिक सरोकारवालाको सहभागितामा आयोजित सम्मेलनले शिक्षा क्षेत्रका १८ प्रमुख समस्यामाथि छलफल गरी सुधारका उपाय पहिचान गरेको हो।

सम्मेलनले अनुदान शिक्षकको तलबभत्ताबाहेक प्रत्येक स्थानीय तहले वार्षिक बजेटको १० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्ने, शिक्षकको सेवासुविधामा एकरूपता ल्याउने तथा सीपमूलक र प्रविधिमैत्री शिक्षा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

जिल्लाभर कक्षा ६ देखि ९ सम्मका परीक्षा एकै समयमा सञ्चालन गर्ने, विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानका लागि जिल्लास्तरीय मापदण्ड निर्धारण गर्ने र पालिकास्तरमा नियमित घुम्ती बैठक सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।

त्यसैगरी प्रधानाध्यापक व्यवस्थापन, विषयगत शिक्षक गोष्ठी, शिक्षकको पेशागत क्षमता विकास, अभिभावक शिक्षा, विद्यालय पूर्वाधारको अनुगमन तथा सूचना प्रविधिको प्रयोग विस्तारलाई प्राथमिकता दिइएको छ।

सम्मेलनले बालविवाहलगायत सामाजिक कुप्रथा अन्त्य गर्न विद्यालयको अगुवाइमा अभियान सञ्चालन गर्ने तथा आगामी दिनमा पालिकास्तरीय शैक्षिक सम्मेलन आयोजना गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले सरकारी तलबभत्ता प्राप्त गर्ने शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्।

सामुदायिक विद्यालयप्रति घट्दो आकर्षण र खस्किँदो शैक्षिक उपलब्धिमा सुधार ल्याउने उद्देश्यले सामाजिक विकास कार्यालय कालीकोटको आयोजनामा सम्मेलन सम्पन्न भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button