१४ मंसिर २०८३, आईतवार

दिल्लीको संयुक्त दृष्टिपत्रदेखि बेइजिङ यात्रासम्म

नेपालको सार्वभौमिकता, रणनीतिक स्वायत्तता र विकास कूटनीतिको अग्निपरीक्षा

पासाङ ल्हामु

प्रधानमन्त्री बालेन्द्र शाहको सन् २०२६ नोभेम्बर २२ र २३ मा सम्पन्न भारतको राजकीय भ्रमणलाई केवल द्विपक्षीय मित्रता, आर्थिक सहायता र विकास साझेदारीका दृष्टिले मात्र मूल्याङ्कन गर्नु पर्याप्त हुँदैन। भ्रमणका क्रममा सार्वजनिक भएको २४ बुँदे संयुक्त वक्तव्य, दश आधारस्तम्भ समेटिएको संयुक्त दृष्टिपत्र, आठ समझदारीपत्र तथा विभिन्न पूर्वाधार परियोजनाको उद्घाटन र शिलान्यासले नेपाल–भारत सम्बन्धको भावी स्वरूप निर्धारण गर्ने व्यापक आधार तयार पारेका छन्। यी दस्तावेजको वास्तविक महत्त्व तिनले नेपालको अर्थतन्त्र, प्राकृतिक स्रोत, प्रशासनिक संरचना, प्रविधि, सुरक्षा, विदेश नीति र रणनीतिक निर्णयाधिकारमा पार्ने दीर्घकालीन प्रभावसँग जोडिएको छ।

नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक आधारमा विकसित भएको छ। भारतको प्रगति नेपालको विकासका लागि अवसर बन्न सक्छ। तर दुई देशबीचको भौगोलिक आकार, आर्थिक क्षमता र सामरिक शक्तिमा रहेको असमानताका कारण द्विपक्षीय सहकार्यमा सार्वभौमिक समानता र पारस्परिक हितको सिद्धान्त अझ स्पष्ट रूपमा स्थापित गर्न आवश्यक छ। असमान शक्ति संरचनाबीच हुने सहकार्यमा राष्ट्रिय हितको संरक्षण सद्भावनामा मात्र निर्भर रहन सक्दैन। त्यसका लागि स्पष्ट कानुनी आधार, संस्थागत क्षमता र स्वतन्त्र निर्णयाधिकार अनिवार्य हुन्छ।

संयुक्त दृष्टिपत्रको व्यापकता र नीतिगत जोखिम

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गरेको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ शीर्षकको संयुक्त दृष्टिपत्रले दुई देशबीच व्यापक आर्थिक तथा विकास साझेदारी, भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा, जलस्रोत तथा जलवायु अनुकूलन, सुशासन, प्रविधि तथा अन्तरिक्ष, शिक्षा तथा सीप विकास, खेलकुद, संस्कृति तथा पर्यटन, स्वास्थ्य र कृषि क्षेत्रको सहकार्यलाई समेटेको छ। यसको व्यापकता हेर्दा यो सामान्य विकास सहयोगसम्बन्धी दस्तावेजभन्दा विस्तृत प्रकृतिको देखिन्छ।

यही व्यापकता नेपालको नीति निर्माणका लागि अवसर र चुनौती दुवै हुन्। एउटा छिमेकी मुलुकसँग राज्य सञ्चालनका यति धेरै क्षेत्रमा दीर्घकालीन सहकार्य विस्तार गर्दा नेपालको आफ्नै संस्थागत क्षमता, नीतिगत स्वतन्त्रता र अन्य मुलुकसँग सहकार्य गर्ने अधिकारमा कुनै प्रतिकूल प्रभाव नपरोस् भन्ने सुनिश्चित गर्नुपर्छ।

संयुक्त दृष्टिपत्रमा भारतको ‘विकसित भारत २०४७’ र नेपालको ‘समुन्नत नेपाल’ को राष्ट्रिय आकांक्षाबीच परिपूरकता रहेको उल्लेख छ। दुई देशका विकास लक्ष्यबीच परिपूरकता खोज्नु स्वाभाविक हो। तर दुवै देशका राष्ट्रिय आकांक्षा, सुरक्षा आवश्यकता, भूराजनीतिक प्राथमिकता र आर्थिक रणनीति समान हुन्छन् भन्ने मान्यता राख्नु उचित हुँदैन। नेपालको विकास रणनीति नेपालको भौगोलिक वास्तविकता, आन्तरिक आवश्यकता र राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ।

सहायता : घोषणा र कार्यान्वयनको दूरी

भारत भ्रमणका क्रममा घोषणा गरिएको २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता विशेष चर्चामा छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान तथा १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधा हो। विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार विकासमा अनुदान उपयोग गर्ने तथा ऊर्जा क्षेत्रमा ऋण परिचालन गर्ने उल्लेख भए पनि परियोजना छनोट, वित्तीय शर्त र कार्यान्वयन विधि तय हुन बाँकी छ।

नेपालले यसअघि पनि वैदेशिक सहायताका ठूला प्रतिबद्धता प्राप्त गरेको थियो। तर सहायता उपयोगका शर्त, निर्माण सामग्री तथा परामर्शदाता छनोट, खरिद प्रक्रिया र प्रशासनिक अवरोधका कारण कतिपय प्रतिबद्धता अपेक्षित रूपमा कार्यान्वयन हुन सकेका थिएनन्। सन् २०१५ को भूकम्पपछि भारतले घोषणा गरेको ऋण सहायताको कार्यान्वयनमा देखिएका कठिनाइ यसका उदाहरण हुन्।

त्यसैले अहिले घोषणा गरिएको सहायता रकमलाई पूर्ण उपलब्धि मान्नुभन्दा त्यसको वित्तीय संरचना, ब्याजदर, ऋण चुक्ता अवधि, खरिदसम्बन्धी शर्त, स्थानीय रोजगारी, प्रविधि हस्तान्तरण र आर्थिक प्रतिफलको विस्तृत परीक्षण गर्नुपर्छ। भारतीय सहायता होस् वा चिनियाँ, अमेरिकी अथवा अन्य कुनै मुलुकको, नेपालको निर्णय एउटै राष्ट्रिय मापदण्डमा आधारित हुनुपर्छ।

सीमा, ईपीजी र ऐतिहासिक दायित्व

भारत भ्रमणको सबैभन्दा संवेदनशील पक्ष नेपाल–भारतबीचका ऐतिहासिक रूपमा बाँकी रहेका विषयको सम्बोधन हो। नेपालले सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ। सुस्ता क्षेत्रको सीमा विवाद पनि समाधान हुन बाँकी छ। संयुक्त वक्तव्यमा परराष्ट्र सचिवहरूलाई बाँकी सीमा समस्या समाधानका लागि काम गर्न निर्देशन दिइएको भए पनि विवादित भूभागबारे शीर्ष नेतृत्वबीच ठोस सहमति भएको देखिँदैन।

सीमा समस्या समाधानका लागि संवाद जारी राख्ने प्रतिबद्धता आफैँमा सकारात्मक भए पनि विगतदेखि दोहोरिँदै आएका यस्ता प्रतिबद्धताको परिणाम परीक्षण गर्न आवश्यक छ। सीमा स्तम्भको मर्मत, सीमाक्षेत्रको प्रशासनिक व्यवस्थापन र भूभागमाथिको सार्वभौम अधिकारसम्बन्धी विवाद एउटै प्रकृतिका विषय होइनन्। प्राविधिक सीमा व्यवस्थापनले मात्र राजनीतिक तथा ऐतिहासिक सीमा विवादको समाधान गर्न सक्दैन।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको भविष्य पनि उत्तिकै गम्भीर प्रश्न बनेको छ। दुवै देशका विज्ञ सम्मिलित समूहले सन् २०१८ मै तयार गरेको प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा पेस हुन सकेको छैन। भारतीय परराष्ट्र सचिव विक्रम मिश्रीले भ्रमणपछि उक्त प्रतिवेदनको सान्दर्भिकतामाथि प्रश्न उठाउँदै नयाँ संयुक्त दृष्टिपत्रमार्फत भविष्यतर्फ अघि बढ्ने धारणा व्यक्त गरेका छन्। नेपालको परराष्ट्र मन्त्रालयले भने प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस गर्ने प्रयास जारी राख्ने जनाएको छ।

नयाँ दृष्टिपत्रले सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान सम्झौता पारस्परिक सहमतिमा पुनरावलोकन गर्न सकिने आधार प्रस्तुत गरेको छ। तर त्यसले ईपीजी प्रतिवेदन औपचारिक रूपमा खारेज गरेको छैन। त्यसैले नेपालले नयाँ साझेदारीको नाममा विगतका असमानता, ऐतिहासिक दायित्व र समाधान हुन बाँकी विषयलाई ओझेलमा पर्न दिनु हुँदैन।

खुला सीमा र सुरक्षा व्यवस्थापन

नेपाल–भारत खुला सीमा दुई देशका नागरिकबीचको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धको महत्त्वपूर्ण आधार हो। तर यसको व्यवस्थापनमा देखिएका चुनौतीलाई बेवास्ता गर्न सकिँदैन। सीमापार अपराध, मानव बेचबिखन, अवैध कारोबार, सीमा अतिक्रमण तथा सीमाक्षेत्रका नागरिकले भोग्ने प्रशासनिक कठिनाइ समाधान गर्न आधुनिक, न्यायोचित र पारस्परिक रूपमा स्वीकार्य सीमा व्यवस्थापन आवश्यक छ। खुला सीमा सार्वभौम अधिकारको विकल्प होइन।

पूर्वाधार, रेल र हवाई सम्पर्क

भौतिक पूर्वाधार र सम्पर्क सञ्जालका क्षेत्रमा भारतसँग भएका समझदारीले नेपालका लागि महत्त्वपूर्ण सम्भावना सिर्जना गरेका छन्। रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग, पूर्व–पश्चिम रेलमार्ग, सीमापार मोटरेबल पुल, एकीकृत भन्सार जाँच चौकी, पेट्रोलियम पाइपलाइन तथा नयाँ पारवहन सुविधाले व्यापारिक लागत घटाउन र आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुर्‍याउन सक्छन्।

तर भारतीय प्रधानमन्त्रीको ‘पीएम गति शक्ति’ योजनाजस्ता पूर्वाधार नियोजन प्रणालीलाई नेपालमा उपयोग गर्ने प्रस्तावको रणनीतिक तथा प्राविधिक प्रभाव अध्ययन गर्नुपर्छ। संयुक्त दृष्टिपत्रमा नेपालले आफ्नो भौगोलिक तथा विकास प्राथमिकताअनुकूल यस्तो प्रणाली अपनाउन सक्ने उल्लेख छ। त्यसलाई नेपालको पूर्वाधार नियोजन भारतलाई हस्तान्तरण गर्ने निर्णयका रूपमा बुझ्नु तथ्यसङ्गत हुँदैन। तथापि, राष्ट्रिय पूर्वाधारसम्बन्धी तथ्याङ्क, भौगोलिक सूचना, परियोजना छनोट र दीर्घकालीन योजना निर्माणमाथि नेपालको पूर्ण नियन्त्रण सुनिश्चित हुनुपर्छ।

रक्सौल–काठमाडौं रेलमार्ग र केरुङ–काठमाडौं सीमापार रेलमार्गलाई परस्पर प्रतिस्पर्धी परियोजनाका रूपमा होइन, नेपालको व्यापार तथा पारवहन विविधीकरणका पूरक संरचनाका रूपमा विकास गर्न सकिन्छ। नेपालको रेल नीति कुनै एउटा छिमेकी मुलुकको राष्ट्रिय यातायात रणनीतिमा मात्र आबद्ध हुनु हुँदैन। दक्षिण र उत्तर दुवैतर्फको सम्पर्क विस्तारले नेपालको आन्तरिक उत्पादन, अन्तर्राष्ट्रिय व्यापार र आर्थिक स्वायत्ततालाई बलियो बनाउनुपर्छ।

हवाई सम्पर्क विस्तारमा भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति महत्त्वपूर्ण छ। तर अन्य हवाई प्रवेशमार्गको विषय अझै टुङ्गिएको छैन। बागडोग्रा विमानस्थलका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्न भारतले गरेको भनिएको प्रस्तावले नागरिक तथा सैन्य उड्डयनबीचको कानुनी पृथकीकरणसम्बन्धी बहस सिर्जना गरेको छ। सैन्य उडानको प्रस्ताव गरिएको भन्ने समाचारलाई भारतीय पक्षले अस्वीकार गरेको छ। त्यसैले अपुष्ट दाबीलाई स्थापित तथ्यका रूपमा लिनु हुँदैन।

यद्यपि, नेपालको हवाई सार्वभौमिकता कुनै पनि व्यावसायिक सुविधासँग साट्न मिल्ने विषय होइन। अन्तर्राष्ट्रिय नागरिक उड्डयनसम्बन्धी कानुनअनुसार नागरिक उडानका लागि दिइने सुविधा र विदेशी सैन्य विमानलाई दिइने अनुमति पृथक विषय हुन्। कुनै पनि हवाई सहमति गर्दा यसको प्रयोजन, क्षेत्राधिकार, निगरानी, सुरक्षा तथा रद्द गर्न सकिने अधिकार स्पष्ट हुनुपर्छ।

जलस्रोत, ऊर्जा र बजार

जलस्रोत तथा ऊर्जा सहकार्य अझ बढी दीर्घकालीन रणनीतिक महत्त्वको विषय हो। पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सप्तकोशी तथा सुनकोशी परियोजना, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना र सीमापार विद्युत प्रसारण लाइनसम्बन्धी सहमतिले ऊर्जा क्षेत्रमा नेपाल–भारत साझेदारी विस्तार गर्ने आधार तयार गरेका छन्।

तर जलविद्युत उत्पादन र जलस्रोत व्यवस्थापनलाई केवल विद्युत निर्यातसँग जोडेर हेर्नु पर्याप्त हुँदैन। जलाशय निर्माणबाट हुने सम्भावित विस्थापन, वातावरणीय प्रभाव, तल्लो तटीय लाभ, बाढी नियन्त्रण, सिँचाइ, खानेपानी र जलस्रोत उपयोगको अधिकारसमेत समग्र रूपमा मूल्याङ्कन गर्नुपर्छ। नेपालको प्राकृतिक स्रोतको उपयोगबाट प्राप्त हुने लाभको न्यायोचित बाँडफाँट सुनिश्चित नगरी कुनै पनि ठूलो बहुउद्देश्यीय परियोजनालाई अन्तिम रूप दिनु जोखिमपूर्ण हुन्छ।

भारत नेपालको विद्युतका लागि महत्त्वपूर्ण बजार हो। तर विद्युत उत्पादनमा लगानीको उत्पत्तिका आधारमा बजार पहुँच सीमित हुने अवस्थाले नेपालको स्वतन्त्र लगानी नीति प्रभावित गर्न सक्छ। नेपालले भारत, बंगलादेश र सम्भावित अन्य बजारसँग विद्युत व्यापार विस्तार गर्दै आन्तरिक औद्योगिकीकरण, विद्युतीय यातायात, कृषि प्रशोधन तथा हरित हाइड्रोजन उत्पादनमा पनि ध्यान दिनुपर्छ। ऊर्जा निर्यातबाट आयआर्जन गर्नु र ऊर्जा उपयोगमार्फत देशभित्र उत्पादन क्षमता विस्तार गर्नु दुवै आवश्यक छन्।

डिजिटल सार्वभौमिकता र प्रविधि

संयुक्त दृष्टिपत्रको अर्को महत्त्वपूर्ण पक्ष डिजिटल पूर्वाधार, कृत्रिम बुद्धिमत्ता, वित्तीय भुक्तानी प्रणाली, डाटा सेन्टर, अन्तरिक्ष प्रविधि तथा दूरसञ्चार सहकार्य हो। डिजिटल नेपाल अभियान, नेपाली भाषाका लागि कृत्रिम बुद्धिमत्तामा आधारित प्रविधि विकास, स्याटेलाइट सञ्चार, पृथ्वी अवलोकन, विपद् व्यवस्थापन तथा पाँचौं र छैटौं पुस्ताका दूरसञ्चार प्रविधिमा सहकार्यबाट नेपालले उल्लेखनीय लाभ लिन सक्छ।

तर डिजिटल सार्वभौमिकता आधुनिक राष्ट्रिय सार्वभौमिकताको अभिन्न अङ्ग बनिसकेको छ। नागरिकका व्यक्तिगत विवरण, राष्ट्रिय परिचय प्रणाली, वित्तीय कारोबार, सरकारी सञ्चार, भौगोलिक तथ्याङ्क र संवेदनशील पूर्वाधारको सूचना विदेशी प्रविधिमा निर्भर हुँदा त्यसको स्वामित्व, भण्डारण, पहुँच र सुरक्षासम्बन्धी प्रश्न उठ्छन्।

संयुक्त दृष्टिपत्रले स्वयं डिजिटल सार्वभौमिकता र तथ्याङ्क सुरक्षाका सिद्धान्त स्वीकार गरेको छ। अब ती सिद्धान्तलाई व्यवहारमा सुनिश्चित गर्न नेपालले आफ्नै कानुनी व्यवस्था, साइबर सुरक्षा क्षमता, राष्ट्रिय तथ्याङ्क पूर्वाधार र स्वतन्त्र प्राविधिक परीक्षण प्रणाली विकास गर्नुपर्छ। कुनै पनि विदेशी कम्पनी वा मुलुकको प्रविधिमा अत्यधिक निर्भरता सिर्जना हुन नदिन अन्तरसञ्चालनीय प्रणाली र प्रविधिको विविधीकरण आवश्यक छ।

सुरक्षा तथा प्रशासनिक सहकार्य

प्रहरी प्रशिक्षण, अपराध अनुसन्धान, फरेन्सिक विज्ञान, निजामती प्रशासन तथा सुशासनसम्बन्धी समझदारीले नेपालको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउन सक्छन्। तर विदेशबाट प्राप्त प्रशिक्षण र प्राविधिक सहयोगलाई नेपालको प्रशासनिक तथा सुरक्षा प्रणालीमाथिको बाह्य नियन्त्रणमा रूपान्तरण हुन नदिन स्पष्ट संस्थागत सीमा निर्धारण गर्नुपर्छ।

भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र राष्ट्रिय रक्षा विश्वविद्यालयसँग नेपाली सुरक्षा संस्थाहरूको सहकार्य तथा निजामती कर्मचारी प्रशिक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा सूचना आदानप्रदान, प्रशिक्षण सामग्री, संवेदनशील विवरणको सुरक्षा र नेपालको संविधानप्रतिको संस्थागत उत्तरदायित्व सुनिश्चित हुनुपर्छ। प्राविधिक दक्षता प्राप्त गर्नु र विदेशी प्रशासनिक ढाँचालाई यथावत् स्वीकार गर्नु फरक विषय हुन्।

शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटन

शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, संस्कृति तथा पर्यटन क्षेत्रमा भएका सहमतिले जनस्तरमा प्रत्यक्ष लाभ पुर्‍याउने सम्भावना छ। भारतीय प्राविधिक शिक्षण संस्थाको शाखा स्थापना, छात्रवृत्ति विस्तार, व्यावसायिक प्रशिक्षण, क्रिकेट प्रशिक्षण केन्द्र, स्वास्थ्य प्रयोगशालाको स्तरोन्नति, सुलभ औषधि केन्द्र, कृषि औद्योगिक पार्क तथा कृषि अनुसन्धानसम्बन्धी सहकार्य नेपालको विकास आवश्यकतासँग जोडिएका विषय हुन्।

त्यसैगरी, जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया, सारनाथ–कुशीनगर तथा पशुपतिनाथ–वाराणसी धार्मिक पर्यटन मार्गको विकासले पर्यटन प्रवर्द्धन र जनस्तरीय सम्बन्ध विस्तार गर्न सक्छ। तर नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा मौलिक सांस्कृतिक पहिचानको संरक्षण गर्दै यस्तो सहकार्य अघि बढाउनुपर्छ। संस्कृति सम्बन्ध विस्तारको माध्यम बन्नुपर्छ, एकरूपीकरणको होइन।

कार्यान्वयन संयन्त्र र संवैधानिक सीमा

संयुक्त दृष्टिपत्रको कार्यान्वयनका लागि नेपालका परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतको नेतृत्वमा उच्चस्तरीय अनुगमन समूह सक्रिय बनाउने तथा त्यसले दुई देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा रहेको संयुक्त आयोगसमक्ष प्रतिवेदन पेस गर्ने व्यवस्था गरिएको छ। यो संयन्त्रले परियोजना कार्यान्वयनमा देखिएका प्रशासनिक अवरोध हटाउन सहयोग गर्न सक्छ। तर नेपालको मन्त्रालयगत निर्णय, संवैधानिक अधिकार र राष्ट्रिय योजना निर्माण प्रक्रियामाथि उक्त संयन्त्रको अधिकारक्षेत्र स्पष्ट हुनुपर्छ।

नेपालको संविधानले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षणलाई राज्यको आधारभूत जिम्मेवारी मानेको छ। संविधानको धारा ५१ ले स्वतन्त्र परराष्ट्र नीति तथा समानता र पारस्परिक हितका आधारमा अन्तर्राष्ट्रिय सम्झौता गर्ने नीति निर्धारण गरेको छ। धारा २७९ ले निश्चित प्रकृतिका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अनुमोदनसम्बन्धी प्रक्रिया व्यवस्था गरेको छ। त्यसैले समझदारीपत्र वा दृष्टिपत्रको नाम जे राखिए पनि त्यसअन्तर्गत हुने बाध्यकारी सम्झौता संविधान र प्रचलित कानुनअनुकूल हुनुपर्छ।

बेइजिङ यात्राको सन्दर्भ

यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहको प्रस्तावित चीन भ्रमणलाई हेर्न आवश्यक छ। सन् २०२७ को चिनियाँ नयाँ वर्षअघि प्रधानमन्त्रीलाई बेइजिङमा स्वागत गर्न चीन तयार रहेको समाचार सार्वजनिक भइसकेको छ। भ्रमणको निश्चित मिति तय हुन बाँकी भए पनि नेपालसँग व्यवस्थित कूटनीतिक गृहकार्य गर्ने महत्त्वपूर्ण अवसर छ।

भारत भ्रमणमा व्यापक आर्थिक तथा प्राविधिक सहकार्यको आधार तयार गरिएको अवस्थामा चीन भ्रमणमा पनि नेपालले उत्तिकै स्पष्ट, परिणाममुखी र राष्ट्रिय हित केन्द्रित एजेन्डा पेस गर्नुपर्छ। सन् २०१७ को बीआरआई समझदारीपत्र र सन् २०२४ को डिसेम्बरमा हस्ताक्षरित बेल्ट एन्ड रोड सहकार्यको रूपरेखालाई कार्यान्वयनमा लैजाने विषय प्राथमिकतामा रहनुपर्छ।

केरुङ–काठमाडौं सीमापार रेलमार्ग, टोखा–छहरे सुरुङमार्ग, अरनिको राजमार्ग, किमाथाङ्का–खाँदबारी सडक, उत्तरी सीमा नाकाको स्तरोन्नति, सुक्खा बन्दरगाह तथा सीमापार विद्युत प्रसारण लाइनजस्ता परियोजनालाई नेपालको दीर्घकालीन आर्थिक विकास रणनीतिसँग जोड्न सकिन्छ। चीनसँग भएको पारवहन तथा यातायात सम्झौताको व्यावहारिक कार्यान्वयनले नेपालको अन्तर्राष्ट्रिय व्यापारिक पहुँच विस्तार गर्न सक्छ।

विशेषगरी कोरला नाकामा बढ्दो व्यापारिक गतिविधिका बाबजुद नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले नेपालको आफ्नै संस्थागत कमजोरी उजागर गरेको छ। सम्झौता गर्न सक्ने तर कार्यान्वयन गर्न नसक्ने प्रवृत्ति अन्त्य नगरेसम्म कुनै पनि उच्चस्तरीय भ्रमणबाट अपेक्षित प्रतिफल प्राप्त गर्न कठिन हुन्छ।

चीनसँग कृषि आधुनिकीकरण, औद्योगिक विकास, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, हरित ऊर्जा, स्वास्थ्य प्रविधि, प्राविधिक शिक्षा तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने पर्याप्त सम्भावना छ। यस्ता साझेदारीले नेपालको आर्थिक निर्भरता विविधीकरण गर्दै उत्पादन क्षमता र प्रतिस्पर्धात्मकता बढाउन सहयोग पुर्‍याउन सक्छन्। तर भारतसँगको सहकार्यमा लागू हुने वित्तीय पारदर्शिता, तथ्याङ्क सुरक्षा, राष्ट्रिय स्वामित्व र सार्वभौमिकताका मापदण्ड चीनसँगको सहकार्यमा पनि समान रूपमा लागू हुनुपर्छ।

असंलग्नता, सन्तुलन र राष्ट्रिय हित

नेपालको राष्ट्रिय हित कुनै एउटा शक्तिराष्ट्रको सफलतामा मात्र निर्भर छैन। भारत र चीनबीचको प्रतिस्पर्धा, हिन्द–प्रशान्त क्षेत्रको बदलिँदो शक्ति सन्तुलन तथा विश्वव्यापी आर्थिक पुनर्संरचनाबीच नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र स्वतन्त्र निर्णय क्षमता जोगाउँदै अघि बढ्नुपर्छ। नेपाल कुनै छिमेकी मुलुकविरुद्ध प्रयोग हुने सामरिक स्थल बन्नु हुँदैन, न त कुनै बाह्य शक्तिको आर्थिक, प्रशासनिक वा डिजिटल रणनीतिको परनिर्भर अङ्ग बन्नु उपयुक्त हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे सार्वजनिक बहसमा व्यक्त भएका गम्भीर आशङ्कालाई पनि प्रमाणका आधारमा परीक्षण गर्नुपर्छ। राजनीतिक आलोचना र राष्ट्रिय स्वाधीनतासम्बन्धी प्रश्न लोकतान्त्रिक विमर्शका आवश्यक पक्ष हुन्। तर कुनै नेता बाह्य शक्तिको निर्देशनमा सञ्चालित भएको वा कुनै समझदारी निश्चित विदेशी रणनीतिक योजनाअन्तर्गत गरिएको निष्कर्ष निकाल्न पर्याप्त प्रमाण आवश्यक हुन्छ। अपुष्ट आरोपले वास्तविक नीतिगत जोखिमबारे हुनुपर्ने गम्भीर बहसलाई कमजोर बनाउन सक्छ।

अब सरकारले भारतसँग भएका समझदारी, प्रस्तावित परियोजनाका वित्तीय शर्त, सुरक्षा तथा प्रविधिसम्बन्धी सहकार्यको अधिकारक्षेत्र र कार्यान्वयन संयन्त्रबारे संसद् तथा नागरिकलाई स्पष्ट जानकारी दिनुपर्छ। चीन भ्रमणअघि पनि विगतका सम्झौताको समीक्षा, अन्तरमन्त्रालयीय तयारी, विषयविज्ञसँग परामर्श, वित्तीय तथा कानुनी परीक्षण र समयबद्ध कार्ययोजना तयार गर्न आवश्यक छ।

नेपालले छिमेकीको मित्रता चाहन्छ, संरक्षण होइन। विकास साझेदारी चाहन्छ, परनिर्भरता होइन। प्रविधि हस्तान्तरण चाहन्छ, निर्णयाधिकार हस्तान्तरण होइन। आर्थिक सम्पर्क विस्तार चाहन्छ, रणनीतिक नियन्त्रण होइन।

दिल्ली भ्रमणको वास्तविक उपलब्धि र बेइजिङ भ्रमणको सम्भावित सफलता दुवैलाई यही आधारमा मूल्याङ्कन गरिनुपर्छ। नेपालको कूटनीतिक सफलताको अन्तिम मापदण्ड विदेशी सहायताको आकार, सम्झौताको सङ्ख्या वा राजकीय स्वागतको भव्यता होइन; राष्ट्रिय स्वाधीनताको संरक्षण, स्वतन्त्र निर्णयाधिकारको सुदृढीकरण र नेपाली जनताको समृद्धि हो।

सार्वभौमिकता कमजोर बनाएर प्राप्त हुने विकास दिगो हुँदैन। विकासका अवसर अस्वीकार गरेर मात्र सार्वभौमिकताको संरक्षण पनि सम्भव हुँदैन। यी दुवैलाई सन्तुलित रूपमा अघि बढाउन सक्ने राष्ट्रिय क्षमता निर्माण गर्नु नै नेपालको समकालीन कूटनीतिको सबैभन्दा ठूलो चुनौती र आवश्यकता हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button