१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री शाहको प्रस्तावित चीन भ्रमण : नेपालको तयारी र रणनीतिक प्राथमिकता

मुना चन्द

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सम्पन्न भएलगत्तै काठमाडौं र बेइजिङबीच उनको प्रस्तावित चीन भ्रमणबारे प्रारम्भिक कूटनीतिक छलफल सुरु भएको छ। सन् २०२७ फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै भ्रमण हुने सम्भावना देखिएको छ। भ्रमणको निश्चित मिति औपचारिक रूपमा सार्वजनिक हुन बाँकी रहे पनि नेपालका लागि यो उच्चस्तरीय कूटनीतिक भेटघाटमा मात्र सीमित नभई आर्थिक विकास, व्यापार, पारवहन विविधीकरण, पूर्वाधार निर्माण र रणनीतिक सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण अवसर हो।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गरी प्रधानमन्त्रीलाई यथाशीघ्र स्वागत गर्न बेइजिङ तयार रहेको सन्देश दिएका थिए। नेपालले पनि चिनियाँ पक्षलाई उपयुक्त मिति प्रस्ताव गर्न आग्रह गरेको छ। यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमण सम्पन्न गरेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २० सदस्यीय प्रतिनिधिमण्डलले चिनियाँ नेतृत्वसँग गरेको संवादले उच्चस्तरीय द्विपक्षीय सहकार्यका लागि थप अनुकूल वातावरण निर्माण गरेको देखिन्छ।

प्रधानमन्त्री शाहले उक्त प्रतिनिधिमण्डललाई भ्रमण औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्र सीमित नराखी व्यापार, प्रविधि, पर्यटन तथा कृषि आधुनिकीकरणका क्षेत्रमा नेपालले लाभ लिन सक्ने सम्भावना पहिचान गर्न निर्देशन दिएका थिए। अब प्रधानमन्त्री स्वयंको भ्रमणमा ती प्राथमिकतालाई स्पष्ट कार्ययोजना र परिणाममुखी आर्थिक कूटनीतिमा रूपान्तरण गर्न सकिन्छ।

बीआरआई र पूर्वाधार कनेक्टिभिटी

भ्रमणको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाको कार्यान्वयन हुनुपर्छ। नेपाल र चीनबीच सन् २०१७ मे १२ मा बीआरआई सहकार्यसम्बन्धी समझदारीपत्र तथा सन् २०२४ डिसेम्बर ४ मा बेल्ट एन्ड रोड सहकार्यको रूपरेखामा हस्ताक्षर भएको थियो। यी दस्तावेजले द्विपक्षीय विकास साझेदारीका लागि आवश्यक आधार तयार गरे पनि प्रमुख परियोजनाको कार्यान्वयन अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। अब नयाँ समझदारीको सङ्ख्या बढाउनुभन्दा विद्यमान सम्झौतालाई समयबद्ध कार्यान्वयनमा लैजानु प्राथमिकता बन्नुपर्छ।

केरुङ–काठमाडौं सीमापार रेलमार्ग, टोखा–छहरे सुरुङमार्ग, अरनिको राजमार्गको स्तरोन्नति, किमाथांका–खाँदबारी सडक तथा उत्तरी सीमा नाका जोड्ने पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिन आवश्यक छ। हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल नेपालको भौगोलिक सीमिततालाई आर्थिक अवसरमा रूपान्तरण गर्ने दीर्घकालीन आधार बन्न सक्छ। यसका लागि परियोजनाको प्राविधिक सम्भाव्यता, वित्तीय ढाँचा, वातावरणीय प्रभाव, निर्माण अवधि र सञ्चालन व्यवस्थापनबारे ठोस सहमति आवश्यक छ।

व्यापार तथा पारवहन सहजीकरण

व्यापार तथा पारवहन सहजीकरण भ्रमणको अर्को प्रमुख विषय हो। सन् २०१६ मा भएको नेपाल–चीन पारवहन तथा यातायात सम्झौता र सन् २०१९ मा हस्ताक्षरित त्यसको कार्यान्वयन प्रोटोकलले नेपाललाई चीनका चार समुद्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह प्रयोग गर्ने आधार प्रदान गरेको छ। अब यस अधिकारलाई व्यावहारिक उपयोगमा ल्याउन परीक्षण ढुवानी, भन्सार समन्वय, ढुवानी लागत न्यूनीकरण तथा आवश्यक पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्छ। पारवहन विविधीकरण कुनै छिमेकीविरुद्ध लक्षित कदम नभई नेपालको आर्थिक सुरक्षा, आपूर्ति प्रणालीको स्थायित्व र रणनीतिक स्वायत्तता सुदृढ गर्ने माध्यम हो।

चीनसँगको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न नेपाली उत्पादनलाई चिनियाँ बजारमा सहज पहुँच दिलाउने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ। नेपाली चिया, कफी, जडीबुटी, हस्तकला तथा प्रशोधित कृषि उत्पादनको निर्यात प्रवर्द्धनका लागि भन्सार सहजीकरण, गुणस्तर प्रमाणीकरण र क्वारेन्टाइनसम्बन्धी प्रक्रियालाई सरल बनाउने विषयमा वार्ता गर्न सकिन्छ। नेपाल चिनियाँ वस्तुको उपभोक्ता बजारमा मात्र सीमित नभई उत्पादन, प्रशोधन र निर्यातमा आधारित आर्थिक साझेदार बन्ने दिशामा अघि बढ्नुपर्छ।

ऊर्जा, कृषि, प्रविधि र पर्यटन

ऊर्जा सहकार्य नेपाल–चीन आर्थिक सम्बन्धको अर्को सम्भावनायुक्त क्षेत्र हो। जलविद्युत्, सौर्य ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, हरित हाइड्रोजन तथा ऊर्जा भण्डारण प्रविधिमा चिनियाँ लगानी र प्राविधिक सहकार्य विस्तार गर्न सकिन्छ। यस्ता परियोजनाको विकास गर्दा नेपालको आन्तरिक ऊर्जा खपत, औद्योगिकीकरण, रोजगारी सिर्जना र दीर्घकालीन विद्युत् व्यापारलाई प्राथमिकतामा राख्नुपर्छ।

चीनले प्रविधि, औद्योगिक उत्पादन, कृषि आधुनिकीकरण र डिजिटल अर्थतन्त्रमा हासिल गरेको प्रगतिबाट नेपालले पर्याप्त लाभ लिन सक्ने सम्भावना छ। कृषि यान्त्रिकीकरण, खाद्य प्रशोधन, शीतभण्डार, सूचना प्रविधि, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति विकासमा साझेदारी विस्तार गर्न सकिन्छ। चिनियाँ लगानीलाई नेपालमा उत्पादनमूलक उद्योग स्थापना, प्रविधि हस्तान्तरण र स्थानीय रोजगारी सिर्जनासँग जोड्न सके आर्थिक सहकार्य थप परिणाममुखी बन्नेछ।

पर्यटन क्षेत्रमा चीन नेपालको महत्त्वपूर्ण सम्भावित बजार हो। चिनियाँ शहरहरूसँग काठमाडौं, पोखरा र भैरहवाको प्रत्यक्ष हवाई सम्पर्क विस्तार, चिनियाँ भाषामा पर्यटन प्रवर्द्धन तथा बौद्ध र हिमाली सांस्कृतिक सम्पदामा आधारित पर्यटन कार्यक्रम विकास गर्न द्विपक्षीय सहकार्य आवश्यक छ। जनस्तरीय सम्बन्ध, शैक्षिक आदानप्रदान र सांस्कृतिक सहकार्यले दुई देशबीचको ऐतिहासिक मित्रतालाई थप मजबुत बनाउनेछ।

सीमा व्यवस्थापन र सुरक्षा सहकार्य

सीमा व्यवस्थापनका लागि चीनले प्रस्ताव गरेको नेपाल–चीन संयुक्त नाका व्यवस्थापन समितिसम्बन्धी मस्यौदालाई पनि भ्रमणको तयारीमा प्राथमिकताका साथ अध्ययन गर्नुपर्छ। रसुवागढी, तातोपानी, कोरला र अन्य सम्भावित नाकामा आधुनिक भन्सार प्रणाली, एकीकृत सुरक्षा व्यवस्था, विपद् पूर्वसूचना प्रणाली तथा वर्षभरि सञ्चालन गर्न सकिने पूर्वाधार विकास दुवै देशको साझा हितमा छन्। विशेषगरी कोरला नाकामा बढ्दो व्यापारिक गतिविधिअनुरूप नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइ अन्त्य गर्न सरकारले आफ्नै जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ।

आन्तरिक तयारी र संस्थागत संयन्त्र

भ्रमणको सफलता नेपालको आन्तरिक तयारीमा निर्भर हुनेछ। परराष्ट्र मन्त्रालयको नेतृत्वमा अर्थ, उद्योग, वाणिज्य, ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधारसम्बन्धी मन्त्रालय सम्मिलित उच्चस्तरीय अन्तरमन्त्रालयीय संयन्त्रमार्फत प्राथमिकता निर्धारण गर्न सकिन्छ। निजी क्षेत्र, विषयविज्ञ, उद्योगी, लगानीकर्ता र सम्बन्धित सरोकारवालासँग व्यवस्थित परामर्श गरी नेपालको वार्ताको आधार तयार गर्न आवश्यक छ।

विगतका द्विपक्षीय सम्झौताको कार्यान्वयन अवस्था, बाँकी दायित्व र प्रशासनिक अवरोधको वस्तुगत समीक्षा भ्रमणअघि नै गरिनुपर्छ। हस्ताक्षरका लागि प्रस्तावित सम्झौता तथा समझदारीपत्रको कानुनी, आर्थिक र प्राविधिक परीक्षण सम्पन्न गरी प्रत्येक परियोजनाको जिम्मेवार निकाय, वित्तीय श्रोत र कार्यान्वयन समयसीमा निर्धारण गर्न सके भ्रमणपछि पनि उपलब्धिको नियमित अनुगमन गर्न सकिनेछ।

वित्तीय सहकार्यमा अनुदान, सहुलियतपूर्ण ऋण, प्रत्यक्ष वैदेशिक लगानी तथा संयुक्त उद्यमका सम्भावनालाई परियोजनाको प्रकृतिअनुसार मूल्याङ्कन गर्नुपर्छ। राष्ट्रिय ऋण वहन क्षमता, आर्थिक प्रतिफल र दीर्घकालीन सार्वजनिक हितलाई ध्यानमा राखेर वित्तीय ढाँचा निर्धारण गर्दा विकास सहकार्य दिगो र पारस्परिक लाभमा आधारित बन्न सक्छ।

सन्तुलित कूटनीति र राष्ट्रिय हित

नेपालको चीन नीति कुनै तेस्रो मुलुकसँगको सम्बन्धबाट निर्देशित हुनु आवश्यक छैन। भारतसँगको मित्रता र सहकार्य विस्तार गर्नु तथा चीनसँगको आर्थिक एवं रणनीतिक साझेदारी सुदृढ गर्नु परस्पर विरोधी विषय होइनन्। सार्वभौम समानता, पारस्परिक सम्मान, पञ्चशील, असंलग्नता र एक चीन सिद्धान्तप्रतिको निरन्तर प्रतिबद्धताका आधारमा नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्दै आएको छ। दुवै छिमेकीको आर्थिक प्रगतिबाट लाभ लिन सक्ने क्षमता विकास गर्नु नै नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग मेल खान्छ।

निष्कर्ष

प्रधानमन्त्री शाहको प्रस्तावित चीन भ्रमणलाई सम्झौताको सङ्ख्या, प्रतिनिधिमण्डलको आकार वा औपचारिक स्वागतको भव्यताबाट मात्र मूल्याङ्कन गर्नु पर्याप्त हुनेछैन। भ्रमणको वास्तविक सफलता कति परियोजना कार्यान्वयनमा गए, व्यापार र पारवहन कति सहज भयो, कति उत्पादनमूलक लगानी भित्रियो र नेपाली जनताको जीवनस्तर सुधारमा कस्तो योगदान पुग्यो भन्ने आधारमा मापन हुनेछ।

नेपाल र चीनबीच राजनीतिक विश्वास, ऐतिहासिक मित्रता र विकास सहकार्यको बलियो आधार विद्यमान छ। अब त्यसलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने जिम्मेवारी नेपालको व्यवस्थित गृहकार्य, संस्थागत क्षमता र कूटनीतिक दक्षतासँग जोडिएको छ। प्रधानमन्त्रीको चीन भ्रमण त्यस दिशामा महत्त्वपूर्ण अवसर बन्न सक्छ। नेपालले बेइजिङबाट के प्राप्त गर्ने भन्ने मात्र होइन, प्राप्त अवसरलाई राष्ट्रिय समृद्धिमा कसरी रूपान्तरण गर्ने भन्ने स्पष्ट कार्ययोजनासहित भ्रमणको तयारी गर्नुपर्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button