चिनियाँ नयाँ वर्षअघि प्रधानमन्त्री शाहको चीन भ्रमण हुने सम्भावना, कूटनीतिक तयारी शुरु

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणका लागि काठमाडौं र बेइजिङबीच प्रारम्भिक कूटनीतिक छलफल शुरु भएको छ। हालै भारतको राजकीय भ्रमण सम्पन्न गरेका प्रधानमन्त्री शाहले सन २०२७ फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै चीन भ्रमण गर्ने सम्भावना रहेको छ।
कान्तिपुरका अनुसार परराष्ट्र मन्त्रालयका अधिकारी तथा सरकारी स्रोतहरूले चिनियाँ पक्षबाट प्रस्ताव हुने मितिअनुसार आगामी जनवरीमै भ्रमण हुन सक्ने संकेत गरेका छन्।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्रीको भारत भ्रमणअघि अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। ती भेटवार्तामा राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई यथाशीघ्र स्वागत गर्न चीन तयार रहेको सन्देश दिएका थिए।
प्रधानमन्त्री शाह पनि चीन भ्रमणका लागि इच्छुक रहेको एक मन्त्रीले बताएका छन्। नेपालले चिनियाँ पक्षलाई भ्रमणका लागि उपयुक्त मिति प्रस्ताव गर्न आग्रह गरेको छ।
प्रधानमन्त्रीको प्रस्तावित चीन भ्रमणलाई नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक तथा विकास सहकार्य, व्यापार र पूर्वाधार सम्पर्क विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
भ्रमणको निश्चित मिति तथा द्विपक्षीय वार्ताका कार्यसूची भने औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छन्।





