१४ मंसिर २०८३, आईतवार

इरानमा गुणस्तरहीन मदिरा सेवनबाट ३२ जनाको मृत्यु, ८६५ जना प्रभावित

ड्रागन मिडिया समाचार कक्ष

इरानका विभिन्न प्रान्तमा गुणस्तरहीन मदिरा सेवनबाट कम्तीमा ३२ जनाको मृत्यु भएको छ। गत अक्टोबर ३१ देखि विषाक्त मदिरा सेवनका कारण ८६५ जना प्रभावित भएको इरानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार स्वास्थ्य मन्त्रालयका जनसम्पर्क प्रमुख हुसेन केरमानपुरले विषाक्तताको लक्षण देखिएका ७४६ पुरुष र ११९ महिला उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पुगेको जानकारी दिएका छन्।

दक्षिणी होर्मोजगान प्रान्तमा सबैभन्दा बढी १० जनाको मृत्यु भएको छ। उत्तरपूर्वी खोरासान रजावी प्रान्तको नेशाबुरमा छ जना र दक्षिणी फार्स प्रान्तको सिराजमा पाँच जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल १६० जना अस्पतालमा उपचाररत छन्। तीमध्ये २४ जनालाई सघन उपचार कक्षमा राखिएको छ भने आठ जनामा मस्तिष्क मृत्यु भएको जनाइएको छ।

इरानमा सामान्यतया मदिरा उत्पादन, बिक्री तथा सेवन कानुनी रूपमा प्रतिबन्धित छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button