१४ मंसिर २०८३, आईतवार

न्युयोर्कमा मेसीको शताब्दी संस्करणको परेड, लाखौं दर्शक सहभागी

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकाको न्युयोर्क शहरमा शनिबार मेसीको ‘थ्याङ्क्सगिभिङ डे परेड’ को १००औं संस्करण भव्य रूपमा सम्पन्न भएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अमेरिका तथा विश्वका विभिन्न मुलुकबाट आएका लाखौं दर्शक ऐतिहासिक परेडमा सहभागी भएका थिए।

समुन्द्री आँधीका कारण निर्धारित मितिभन्दा दुई दिनपछि आयोजना गरिएको परेड म्यानहट्टनको अपर वेस्ट साइडदेखि हेराल्ड स्क्वायरसम्म चार किलोमिटर लामो मार्गमा सञ्चालन भएको थियो।

आयोजक मेसीका अनुसार यस वर्ष कीर्तिमानी सङ्ख्यामा १०० वटा विशाल बेलुन तथा हावा भरिएका आकर्षक आकृति प्रदर्शन गरिएको थियो। लोकप्रिय कार्टुन पात्र स्नुपी र वुडस्टकसँगै चिनियाँ खेलौना कम्पनी पप मार्टको ‘लाबुबु’ पनि विशेष आकर्षण बनेको थियो।

सन १९२७ मा परेडको पहिलो कार्टुन पात्रको बेलुनका रूपमा प्रस्तुत गरिएको ‘फेलिक्स द क्याट’ लाई यस वर्ष पुनः प्रदर्शनमा ल्याइएको थियो।

अमेरिकी परिवारहरूमा पुस्तौंदेखि सांस्कृतिक परम्पराका रूपमा स्थापित यस परेडमा सहभागी हुन कतिपय दर्शकले वर्षौंदेखि तयारी गरेका थिए। एरिजोनाबाट आएकी क्यान्डिस इभान्सले १००औं संस्करणमा सहभागी हुन एक दशकअघिदेखि योजना बनाएको बताइन्।

सन १९२४ मा शुरु भएको मेसीको परेड दोस्रो विश्वयुद्धका कारण सन १९४२ देखि १९४४ सम्म स्थगित भएको थियो। सन १९४५ मा पुनः सञ्चालनमा आएको परेड यस वर्ष आफ्नो १००औं संस्करणमा पुगेको हो।

विशाल कार्टुन आकृति, कलात्मक झाँकी र पुस्तौंदेखिको पारिवारिक सहभागिताले यस परेडलाई अमेरिकी सांस्कृतिक जीवन तथा न्युयोर्कको पर्यटन क्षेत्रको विशिष्ट पहिचान बनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button