नेपालले दूरदर्शिता, आत्मसम्मान र सन्तुलनको राजनीति अपनाउनु पर्छ

# विवेक सागर पाैडेल

ईरान र ईजरायलबीचको युद्ध पछिल्ला दशकहरूमा पश्चिम एसियामा देखा परेको सबैभन्दा खतरनाक तनाव हो। लामो समयदेखि परोक्ष माध्यमबाट लडिँदै आएको यो संघर्ष अब प्रत्यक्ष र राज्यस्तरीय रूपमै बदलिएको छ। अमेरिकाको सहयोगमा इजरायलले जुन प्रकारले ईरानी आणविक संरचनाहरूमा बंकर बस्टर बम र क्रुज मिसाइल प्रयोग गरेर आक्रमण गर्‍यो, त्यसले यस युद्धलाई नयाँ र खतरनाक मोडमा पुर्‍याएको छ। इरानले त्यसको जवाफमा प्रत्यक्ष मात्र होइन, परोक्ष रूपमा पनि विभिन्न मोर्चाबाट कठोर जवाफ दिने संकेत दिएको छ।

अमेरिकाले यो हस्तक्षेपलाई आणविक प्रसार रोक्ने सुरक्षा उपायका रूपमा प्रस्तुत गरिरहेको भए पनि गहिराइमा हेर्दा यो पश्चिम एसियामा आफ्नो प्रभुत्व जोगाउन र चीन–रुसको बढ्दो प्रभावलाई घटाउन गरिएको रणनीतिक चाल हो। अमेरिकी एकल निर्णय र संयन्त्रलाई चीन र रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र एकपक्षीय हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्, जसले वर्तमान वैश्विक सन्तुलनलाई थप अस्थिर बनाउने देखिन्छ।

चीनले यस युद्धमा संयमता र वार्ताको पक्ष लिएको छ। उसले पश्चिम एसियाको शान्ति र ऊर्जा आपूर्तिको स्थिरतामा प्रत्यक्ष चासो राख्छ, विशेषतः होरमुज जलडमरूमा संकट देखिएमा त्यसको असर चीनको तेल आपूर्तिमा पर्छ। तर साथसाथै, उसले ईरानसँगको २५ वर्षे रणनीतिक साझेदारीमार्फत यो तनावलाई अवसरमा रूपान्तरण गर्ने सम्भावना पनि देखेको छ। रुसले सुरुमा यस युद्धलाई युक्रेनबाट विश्वको ध्यान अन्यत्र लैजाने माध्यमका रूपमा हेरे पनि अब उसले यसको सम्भावित अस्थिर असरलाई लिएर चासो देखाएको छ।

दक्षिण एशियामा यसको प्रभाव धेरै संवेदनशील छ। नेपाल जस्ता देश, जुन खाडी मुलुकहरूमाथि श्रम आप्रवासन र इन्धन आपूर्तिमा निर्भर छन्। युद्धका कारण उत्पन्न हुने तेल मूल्यवृद्धि, मुद्रास्फीति र रोजगारी संकटबाट प्रत्यक्ष प्रभावित हुनेछन्। नेपालले हालसम्म असंलग्नताको नीति पालन गर्दै आएको भए पनि विश्व कूटनीतिमा विकसित हुँदै गएको ध्रुवीकरणको बीचमा अब त्यो सन्तुलन राख्न गाह्रो हुनसक्छ। विशेष गरी चीनसँगको आर्थिक सम्बन्ध, भारतसँगको आपूर्ति निर्भरता, र अमेरिकी दबाबबीच नेपालको कूटनीतिक चातुर्यता परीक्षणमा पर्नेछ।

यस युद्धको लुकेको पक्षमा सूचनायुद्ध, साइबर हमला, इन्धन मार्गको जोखिम र ईरान–चीन–रुसबीचको खुफिया सहकार्य पनि सक्रिय हुँदै गएको देखिन्छ। यी देशहरूले पश्चिमी हस्तक्षेपलाई ‘साम्राज्यवादी नाटक’ को रूपमा विश्व समुदायमा चित्रित गर्न एकीकृत सन्देश प्रणाली प्रयोग गरिरहेका छन्।

यो केवल इजरायल र ईरानबीचको लडाइँ मात्र होइन, यो नयाँ विश्वव्यवस्थाको संघर्ष पनि हो। एकातिर अमेरिकी नेतृत्वको एकध्रुवीय व्यवस्था छ; अर्कातर्फ चीन र रुसको नेतृत्वमा बहुध्रुवीय, सार्वभौम राष्ट्रहरूको सञ्जाल खडा हुँदैछ, जो शान्ति, अन्तराराष्ट्रिय कानुन र विकासमा आधारित सहकार्यलाई बढावा दिन चाहन्छन्।

नेपालका लागि यो रणनीतिक निर्णयको घडी हो। अबको आवश्यकता हो, तेल आपूर्तिको वैकल्पिक योजना, आप्रवासी श्रमिकहरूको संरक्षण रणनीति, विदेशी सञ्चारको विश्लेषणात्मक निगरानी, र दीर्घकालीन कूटनीतिक सन्तुलन। स्पष्ट, सावधान र सन्तुलित भूमिका नै नेपालको दीर्घकालीन हितका लागि अनिवार्य हुनेछ।

अन्ततः, यो युद्ध मिसाइल र सैनिक मात्र होइन, सूचना, साख र विश्वव्यवस्थाको पनि युद्ध हो। साना राष्ट्रहरू तब मात्र सुुनिन्छन्, जब उनीहरूले दूरदर्शिता, आत्मसम्मान र सन्तुलनको राजनीति अपनाउँछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button