रसुवागढीको सुक्खा बन्दरगाह अहिलेको ठाउँमा बन्न नसक्ने

रसुवागढी नाकाको टिमुरेमा निर्माणाधीन एकीकृत जाँचचौकी (सुक्खा बन्दरगाह) अब सोही स्थानमा बनाउन उपयुक्त नहुने देखिएको छ । रसुवा सुक्खा बन्दरगाह निर्माण कम्पनी तिब्बत फुली कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर एङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलबिच सोमबार भएको छलफलमा त्यस्तो जानकारी गराइएको गोरखापत्र अनलाइनले जनाएको छ।
छलफलमा निर्माण कम्पनीका प्रोजेक्ट मेनेजरले उक्त स्थानमा सुक्खा बन्दरगाह बनाउन उपयुक्त नभएको र अन्य ठाउँ छनोट गर्नुपर्ने सुझाव दिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपाल सरकारका तर्फबाट सम्बन्धित मन्त्रालयबाट सो विषयमा थप छलफल गरी समितिलाई प्राप्त निर्देशन बमोजिम जानकारी गराउने बताउनुभयो ।
गत असार २४ मा आएको बाढीले बन्दरगाहमा एक अर्ब रुपियाँ बराबरको भौतिक क्षति भएको जनाइएको छ । बाढीले बन्दरगाहबाहेक मितेरी पुलसहितका संरचनामा क्षति पुर्याउनुका साथै १४ जना चिनियाँ र आठ जना नेपालीको मृत्यु भएको थियो। सुक्खा बन्दरगाह निर्माणस्थलमा भोटेकोशी नदीतर्फ लगाएको पर्खाल चार सय मिटर भत्किएको, २५० वटा सवारीसाधन पार्किङका लागि बनाएको ढलान पूर्ण रूपमा क्षति भएको, दुई वटा गोदाममा माटो र ढुङ्गा भरिएको, दुई वटा लोडिङ/अनलोडिङ सेड क्षति भएको र ब्याचिङ प्लान्टसमेत गरी कुल एक अर्ब रुपियाँ बराबरको भौतिक क्षति भएको समितिले जनाएको छ । ८१ प्रतिशत सम्पन्न निर्माण कार्य भएको उक्त सुक्खा बन्दरगाहमा निर्माण भएका संरचनामा ५५ प्रतिशत क्षति भएको अनुमान गरिएको छ । सुक्खा बन्दरगाह परिसरमा निर्माण भएका संरचनामध्ये प्रशासनिक भवन मात्र ठिक अवस्थामा रहेको समितिले जनाएको छ । चीन सरकारको दुई अर्ब १६ करोड रुपियाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा बन्दरगाह निर्माणाधीन थियो ।
CGTN





