इतिहास र देशको गौरवमाथि लक्षित आतङ्क

#प्रेम सागर पौडेल 

नेपालमा केही दिनअघि देखापरेको जेन-जेड आन्दोलनका नाममा सञ्चालित हिंसात्मक र विध्वंसात्मक गतिविधिहरूलाई एक स्वतःस्फूर्त सामाजिक आन्दोलनका रूपमा हेर्नु गम्भीर भुल हुनेछ। यी गतिविधिहरू गहिरो राजनीतिक पूर्वाग्रह, रणनीतिक निर्देशन, र लक्षित उद्देश्यसहितका योजनाबद्ध कार्यहरू हुन्, जसको निशानामा विशेषतः देशको पक्षमा अडान राख्ने, चीनसँग सम्बन्ध विस्तार गर्न क्रियाशील, र अमेरिकी प्रभावबाट बाहिरिएका र विरोधमा उभिने नेताहरू परेका छन्। आक्रमणमा परेकाहरूको सूची हेर्दा प्रस्ट हुन्छ कि उनीहरू सामान्य रूपमा होइन, एउटा योजनाअनुसार छानिएर लक्ष्य बनाइएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली, जसले चीनसँग विभिन्न सम्झौता गर्दै रणनीतिक साझेदारी निर्माणको प्रयास गरेका थिए, अमेरिकी प्रभावको प्रतिरोध गरेकाले विरोधको मुख्य लक्ष्य बनेका छन्। यदि उनी भ्रष्टाचारकै कारण निशानामा परेका थिए भने, देशमा उनीभन्दा बढी भ्रष्टाचारमा मुछिएका नेताहरू थुप्रै छन्, तर उनीहरू कसैलाई पनि केही गरिएको छैन। यसको अर्थ विरोधको वास्तविक कारण भ्रष्टाचार थिएन, बरु विदेश नीति र राजनीतिक ध्रुवीकरणको आधारमा नेता चयन गरिएको थियो।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछिल्ला दिनहरूमा ओलीलाई समर्थन जनाउन थालेपछि र चीनको पक्षमा उभिन थालेपछि उनको घरमाथि आक्रमण गरिएको थियो। उनको श्रीमतीलाई हात बाँधेर घरमा आगो लगाइएको घटनाले स्पष्ट गर्छ कि यो व्यक्तिगत प्रतिशोध नभई, संगठित हिंसात्मक अभियान थियो। झलनाथ खनाल स्वयं भाग्न सफल भए पनि, घटनाले उनीहरूको जीवनमा गम्भीर असर पारेको छ। ओलीनिकट नेता महेश बस्नेतमाथि गरिएको आक्रमण, जसमा उनीलाई लखेटी–लखेटी कुटिएको र घरमा आगो लगाइएको छ, यो रणनीतिक हिसाबले गरिएको कार्य हो भन्ने पुष्टि गर्छ।

यसै सन्दर्भमा, शेरबहादुर देउवा र उनकी पत्नी, जसले अमेरिकी एसपीपी अस्वीकार गरेर भारतसँग सम्बन्ध विस्तारको बाटो लिइरहेका थिए र क्षेत्रीय स्थिरताकाे पक्षमा सरकिदै थिए, उनीहरूमाथि पनि मरणासन्न हुने गरी कुटपिट भएको, घर र स्कुलसहित हिल्टन होटलमा समेत आगजनी भएको कुरा उल्लेखनीय छ। यस्तै, गगन थापा, जो पहिला अमेरिकी क्याम्पमा र पछिल्ला दिनमा भारतीय क्याम्पमा सरकिएका थिए, उनी पनि यस्तै आक्रमणको शिकार भए। यी घटनाहरू एकै ढाँचाका छन्, शक्तिशाली पश्चिमी गुटहरूका विरोधीहरूलाई लक्षित गर्ने, डर देखाउने, र राजनीतिक रूपमा निष्क्रिय बनाउने।

आन्दोलनमा सहभागी हिंस्रक समूहहरू साधारण युवा थिएनन्। उनीहरू नामलिष्ट, ठेगाना र नक्सासहित परिचालित थिए। यो स्वस्फूर्त जनप्रदर्शनको लक्षण होइन, बरु एउटा पूर्वनियोजित आतंककारी कार्यशैली हो। यस अभियानको नेतृत्वमध्ये एकजना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ रहेको चर्चामा छ। उनलाई कतिपयले जेन-जेड आन्दोलनका संयोजकका रूपमा प्रस्तुत गरिरहेका छन्। पूर्वप्रधानन्यायाधीशहरू कल्याण तिमिल्सिना र सुशीला कार्की तथा काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) पनि योजनाकारका रूपमा उल्लेख छन्। उनीहरूले प्रत्यक्ष या अप्रत्यक्ष रूपमा आन्दोलनलाई सहजीकरण गरिरहेको स्पष्ट देखिन्छ। यो त्यस्तो आन्दोलन हो जसले अमेरिकी वा युरोपेली युनियन पक्षका कसैलाई क्षति पुर्याएको छैन, उनीहरूलाई जोगाएर अरुपक्षीय नेताहरूलाई मात्र लक्षित गरिएको छ। यो अपराधकाे योजनाकारको रुपमा पाेल खुल्ने डरले दाहाल आँफैले दिएको निर्देशनमा उनको घर तोडफोड गरिएको भनिन्छ, आगजनी हुनुअघि उनले आफ्ना महत्त्वपूर्ण सामग्री सुरक्षित स्थानमा सारिसकेका थिए, जसले घटनालाई नाटकको रूपमा देखाउँछ।

यस्तै, भाटभटेनी सुपरमार्केटका सञ्चालक, जसले चीनबाट सामान आयात गर्ने र ओलीको आग्रहमा एमालेलाई पार्टी कार्यालय बनाउन जग्गा उपलब्ध गराएका थिए, ती पनि आक्रमणको निशाना बने। उनको सुपरमार्केट लुटिएको, आगो लगाइएको विवरण यसमा समावेश छ। विद्यादेवी भण्डारी, जसले राष्ट्रवादी अभिव्यक्तिहरू दिइरहेकी थिइन्, उनीमाथि पनि भीड आक्रमित भएको थियो। पूर्वराष्ट्रपतिका रूपमा सुरक्षा अपेक्षित भए पनि, उनलाई कारबाही गरिनुपर्छ भन्ने घोषणा भएसँगै उनको घरमा आगो लगाइएको र ताेडफोड गरिएको थियो। देशको मुख्य प्रशासनिक भवन सिंहदरबार, शितलनिवास र सर्वोच्च अदालतलाई निशाना बनाएर ध्वस्त बनाइयो।

सबैभन्दा महत्त्वपूर्ण पक्ष यो हो कि आन्दोलनका नाममा कुनै पनि माओवादी नेता वा कार्यकर्तालाई क्षति पुर्याइएको छैन। यस्तै, रास्वपा जस्ता दलहरू, जुन IDU (International Democrat Union) बाट परिचालित रहेको बताइन्छ, उनीहरू पनि पूर्ण रूपमा सुरक्षित छन्। यसको अर्थ आन्दोलनको लक्ष्य सत्तामा रहेका सबै नभएर चुनिएका केही पात्रहरू मात्र थिए, जुन कुनै पनि तटस्थ आन्दोलनको विशेषता होइन।

यी सबै गतिविधिहरू नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीको प्रत्यक्ष उपस्थितिमा भएका छन्। यति ठूलो परिमाणको तोडफोड, आगजनी, लुटपाट, र हिंसा भइरहँदा सुरक्षा निकायहरूको निष्क्रियता आफैंमा गम्भीर प्रश्नको विषय हो। यदि यो स्वतन्त्र आन्दोलन थियो भने, सुरक्षा निकायहरूले हस्तक्षेप गर्नुपर्ने थियो। उनीहरूको मौनता वा उपस्थिति सन्देहास्पद देखिन्छ। यसले प्रमाणित गर्छ कि आन्दोलनलाई उच्च राजनीतिक तहबाट सुरक्षा र निर्देशन प्राप्त थियो।

यस सम्पूर्ण घटनाक्रमको गहिरो अध्ययन गर्दा स्पष्ट हुन्छ कि जेन-जेड आन्दोलन नामक यस अभियान वास्तवमा एक पूर्वनियोजित आतंकवादी हमला थियो, जसको उद्देश्य नेपाली राजनीतिक सन्तुलनलाई अमेरिका र पश्चिमी शक्तिको पक्षमा तान्नु, चीनसमर्थक धारणा राख्ने नेताहरूलाई निष्क्रिय बनाउनु, र राष्ट्रियता तथा स्वाधीनताको मुद्दालाई दबाउनु थियो। यो कुनै जनमतको स्वर थिएन, यो संगठित र निर्देशित राजनीतिक हिंसा थियो, जुन लोकतन्त्रको नाममा नेपालमा फैलिएको छ।

(लेखक वरिष्ठ पत्रकार, राजनीतिक विश्लेषक, नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष र अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुनुहुन्छ।)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button