“नेपाल–चीन सम्बन्धको नयाँ युग: सहकार्य, सम्मान र साझा समृद्धिको बाटो”

# संकेत किराँती

नेपाल–चीन सम्बन्ध पाँच दशकभन्दा पुरानो मात्र होइन, हजारौँ वर्षको सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धमा आधारित छ। बुद्धको जन्मभूमि नेपाल र उनको ज्ञानको प्रसारस्थल चीनबीचको सम्बन्ध पूर्वीय सभ्यताको साझा आधार हो। यही साझा ऐतिहासिक बन्धनले आज दुई देशबीचको सम्बन्धलाई रणनीतिक उच्चतामा पुर्‍याएको छ।

नेपालले चीनलाई सधैं विश्वसनीय छिमेकी, विकास साझेदार र सार्वभौमिकता र आत्मनिर्णयको सम्मान गर्ने राष्ट्रको रूपमा लिएको छ। चीनले पनि नेपाललाई आफ्नो परराष्ट्र नीतिको “पाँच सिद्धान्त” अन्तर्गत समानता र आपसी सम्मानको दृष्टिले व्यवहार गर्दै आएको छ। विगतका दशकहरूमा चीनले नेपालमा भौतिक पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य, पर्यटन र संस्कृति लगायतका क्षेत्रमा उल्लेखनीय सहयोग पुर्‍याएको छ।

नेपाल–चीन पारस्परिक सहयोग समाजको स्थापना सन् 1987 मा भएको हो। यस संस्थाले दुई देशबीच जनस्तरको सम्बन्ध सुदृढ पार्न अग्रणी भूमिका खेल्दै आएको छ। प्रेम सागर पौडेलको नेतृत्वमा संस्थाले चीनको जनतासँग आत्मीयता, विश्वास र साझेदारीको भावना विस्तार गर्न निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

विगतमा आयोजना भएका मध्यपश्चिमाञ्चल पर्यटन महोत्सव, चिनियाँ फिल्म फेस्टिभल, सांस्कृतिक आदानप्रदान कार्यक्रमहरूले दुई देशका जनताबीच आपसी समझदारीलाई बलियो बनाएको छ। यी कार्यक्रमहरूले नेपालका ग्रामीण क्षेत्रसम्म चीनप्रतिको सकारात्मक दृष्टिकोण फैलाउन मद्दत पुर्‍याएका छन्।

नेपाल र चीनबीचको सम्बन्ध भौतिक सीमाभन्दा पर, आत्मिक र सभ्यतागत सम्बन्ध हो। यही कारणले चीनले नेपालको राजनीतिक अस्थिरता वा परिवर्तनका अवस्थाहरूमा पनि कहिल्यै हस्तक्षेप गरेको छैन। बरु उसले सधैं नेपाललाई आफ्नो आन्तरिक मार्ग रोज्ने स्वतन्त्रता र सम्मानको भावना दिएको छ।

आज विश्व बहुध्रुवीयतर्फ अग्रसर छ। यही सन्दर्भमा नेपालले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI), ग्लोबल सिक्युरिटी इनिसिएटिभ (GSI) र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (GDI) जस्ता अवधारणाहरूसँग सामञ्जस्य राख्दै आफ्नो राष्ट्रिय हितलाई सुदृढ बनाउन सक्छ। यी अवधारणाहरू नेपालका लागि मात्र आर्थिक अवसर होइनन्, भूराजनीतिक सन्तुलन र दीर्घकालीन स्थायित्वका स्तम्भ हुन्।

नेपालले हिजोको “एक देशमा झुकेर” गरिने परराष्ट्र नीति त्यागी अब “सन्तुलित, स्वतन्त्र र स्वाभिमानी” नीतिलाई अपनाउनुपर्छ। चीनसँगको सम्बन्ध यस दिशामा ठोस कदम हो। चीनले कहिल्यै नेपाललाई आफ्नो प्रभावक्षेत्रमा पार्ने प्रयास गरेको छैन, बरु “पारस्परिक लाभ र सम्मान” को सिद्धान्तमा बल दिएको छ।

नेपाल–चीन सम्बन्धको भविष्य अझ उज्ज्वल देखिन्छ। दुवै देशबीच व्यापारिक मार्गहरूको विस्तार, रसुवागढी र कीर्तिपुर–ल्हासा जोड्ने योजनाहरू, पर्यटन सहकार्य, ऊर्जा आदानप्रदान र सूचना–प्रविधि सहकार्यका सम्भावनाहरूले नयाँ युगको प्रारम्भ गरेका छन्।

नेपालका लागि चीनसँगको सम्बन्ध केवल कूटनीतिक होइन, राष्ट्रनिर्माणको मेरुदण्ड हो। नेपालको स्वाधीनता, राष्ट्रिय स्वाभिमान र विकासको गति सुनिश्चित गर्न चीनमैत्री सम्बन्धले दीर्घकालीन दिशा देखाउँछ।

नेपाल र चीनबीचको यो मित्रता हिमालजस्तै अटल रहोस्, र यो सहकार्य आगामी पुस्ताका लागि साझा समृद्धिको मार्ग बनोस् — यही शुभेच्छा।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button