जेष्ठ नागरिक गृह मन्दिरका देवता
माघ १, बर्दिया ।

जेष्ठ नागरिकहरु गृह मन्दिरका देवता भएकाले उनीहरुलाई घर परिवारबाट दिनुपर्ने मायाममता र स्याहारमा कमी हुन नुहुने बाँसगढी नगरपालिकाका प्रमुख शालीकराम अधिकारीले बताउनुभएको छ ।

बाँसगढी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा आयोजित जेष्ठ नागरिक र परिवारका सदस्यहरुबीच आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै वहाँले यो कुरा बताउनुभएको हो ।
कार्यक्रममा पारिवारीक सदस्यहरुसहित बाँसगढी नगरपालिकाका ५० जना जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा शिक्षक एवम् सञ्चारकर्मी प्रभात सुवेदीले जेष्ठ नागरिक तथा वहाँहरुलाई घरपरिवारले दिनुपर्ने माया ममता तथा स्याहार र जेष्ठ नागरिकहरुको हक अधिकार तथा सेवासुविधाबारे राज्यले गरेको कानुनी व्यसव्थाका बारेमा सहभागी जेष्ठ नागरिक तथा वहाँहरुका घरपरिवारका सदस्यहरुसँग अन्तरक्रियात्मक तरिकाले सहजीकरण गर्नुभएको थियो । जीवन र जगतका विषयहरु जोड्दै र समयसमयमा वहाँका भजन तथा गीतहरुका कारण जेष्ठ नागरिकहरु निकै खुशी भएका थिए ।
बाँसगढीका जेष्ठ नागरिकका अग्रज प्रेम प्रसाद शर्माको सभाध्यक्षमा सम्पन्न कार्यक्रमा बाँसगढी नगरपालिका महिला तथा बालबालिका शाखाका कमला थापा मगर र भगवती ढकालको उपस्थिती रहेको थियो ।