बर्दियाका बालिकाहरुले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
भगीरथी भट्ट प्रकरण

माघ २९, गुलरिया । समग्रनेपाल संवाददाता ।
विभिन्न निहुँमा समाजमा पछिल्लो समयमा महिला तथा बालबालिकाहरुमाथिका हिंसाहरु बढीरहेकोमा चिन्ता व्यक्त गर्दै आज बर्दियाका बालिकाहरुले जिल्ला प्रशासन कार्यालय गुलरियामा पुगी प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ९ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
जिल्ला २०५७ सालमा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझैसम्म पनि सार्वजनिक गर्न र घटनाको सत्यतथ्य बाहिर ल्याउन सकेको छैन । त्यस्तै २०७४ साल माघ २२ मा रुपन्देहीमा १२ वर्षीया सरस्वती हरिजनको पनि बलात्कारपछि हत्या गरिएको घटना त्यस्तै केही समय अघि बर्दियाको बारबार्दिया नगरपालिका वडा नं. ३ की १२ वर्षीया बालिका अभिभावकसँग मजदुरीको लागि भारतको विहारमा ११ जनाले सामुहिक बलात्कारपछि हत्या गरेर लाश जलाइएको घटनाले मानवीय संवेदनलाई नै चुनौती दिएको उल्लेख गरिएको छ । त्यस्तै बाँके नेपालगञ्जकी एक सामुदायिक विद्यालयमा अध्ययनरत बालिकालाई बलात्कारपछि निर्मम तरीकाले कुटपिट गरि फालिएको घटना पनि सार्वजनिक गरिएको छ ।
यसैगरी बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागीरथी भट्टको पौष १ गते विद्यालयबाट पढेर घर फर्किने क्रममा बलात्कारपछि निर्मम तरीकाले हत्या गरेर फालिएको अवस्थामा झाडीमा शव भेटिएको दुःखद र अमानवीय घटनाले पुनः झस्काएको भन्दै मानवता विरोधी अपराधका यी घटनाहरुले बालिका तथा किशोरीहरु समाजमा अझै पनि सुरक्षित हुन नसकेको तीतो अनुभव भएको र घटनाका दोषीहरुले उन्मुक्ति पाउने र न्याय दिन नसक्ने लाचारीपन प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अब यस्ता कहालीलाग्दा घटनाहरु भोग्नु नपरोस् भन्दै जिल्ला शिक्षा अधिकारीमार्फत ९ बुँदे मागहरु प्रधानमन्त्रीसमक्ष पेश गरेका गरिएको छ ः।
बर्दियाका किशोरीहरु तथा महिला अधिकारकर्मीहरुको संयुक्त अभियानमा आज जिल्ला प्रशासन कार्यालय बर्दियामा पुगेको टोलीले निर्मला पन्तको घटनाको यथार्थ सार्वजनिक गर्नुपर्ने, भागीरथी भट्टको घटनामा संलग्नलाई सार्वजनिक गरी कडा भन्दा कडा कारवाही गर्नुपर्ने, बर्दिया बारबर्दिया ३ की बालिकाको घटनाको अनुसन्धान गरी दोषीमाथि कानुन बमोजिम कारवाहीका लागि नेपाल सरकारबाट पहल गर्नुपर्ने, महिला तथा बालिकामाथि हुने जघन्य अपराधमा संलग्न अपराधीहरुलाई संरक्षण दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने, सचेतना कार्यक्रम सहित बालिकाहरुलाई आत्मरक्षाको सिप दिनुपर्ने, विद्यमान कानुनको परिपालना गरिनुपर्ने लगायतका मागहरु पेश गरिएको छ ।
कार्यक्रमा बर्दियाका महिला अधिकारकर्मी अभियन्ताहरुको पनि सहभागीता रहेके थियो ।