कान्तिपथको द्वार

कविता

माफ माग्छ प्रभु शिष्य अनेक
जे हुँदै सब गयो अविवेक
जन्मँदा जति गरें सब विन्ती
भूलले हुनगयो अपकीर्ति ।१

ईन्द्रियै वसपरि खुब दौडे
स्वाभिमान सहजै पर फालें
पूर्वकर्म जतिथ्यो गुणकारी
त्यत्ति मात्र हुनगो शुभ साक्षी ।२

देर कत्ति नगरेर तिमीले
दिव्यज्योति भरी ज्ञान दिएथ्यौ
जे जति हुनगए पनि बाधा
झट्ट आई प्रभुनै पर सार्यौ।३

लाग्नुपर्छ निज कर्म अंगाली
सत्यले सब दिनेछ वहाली
होश जोश पनि राख बिचार
बन्छ मानव शरीर अपार ।४

जाग मानव तिमी अब जाग
राग द्वेष मनका सब फाल
दौड निर्मम बनी अब भाग
जित्नुपर्छ अब है! नव काल ।५

गर्नुपर्छ दश माथि प्रहार
बाँधिराख गर होश बिचार
होश नित्य गर जोश सपार
मात्र हो प्रभु उही सब सार ।६

खोल मार्ग अब चेत हजार
लक्ष्य बन्छ अब भेट्नु छ सार
गर्छु श्रेय अब बन्छु अपार
हुन्न कर्म अब कत्ति उजाड।७

काल व्यर्थ बिती गो अब जागेँ
माफ द्यौन अब विन्ती बिसाएँ
होश साथ अब राख्छु म प्यार
खोल कान्तिपथको अब द्वार ।८

कवि खगेश्वर गौतम निवृत्त शिक्षक हुनुहुन्छ । अर्घाखाँचीमा जन्मिनुभएका र बर्दियामा लामो समय शिक्षण तथा समाजसेवामा समर्पित गौतम हाल काठमाडौै कोटेश्वरमा बस्दै आउनुभएको छ । यो कविता वहाँको प्रकाशोन्मुख दोस्रो कविताकृति “मनोरम रारा” मा समेटिएको कविता हो । जुन कृति छिट्टै प्रकाशनको तयारीमा रहेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button