संगठनले मनायो विद्यार्थीसँगै शिक्षक दिवस

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बर्दियाले ४२औँ शिक्षक दिवस आज विद्यार्थीहरुका लागि रचनात्मक कार्य गरेर मनाएको छ। ‘हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण’ भन्ने मूल आदर्श वाक्य सहित संगठनको स्थापनाको अवसर पारेर बर्दिया जिल्लाका आठ ओटै पालिकाहरुमा पालिका स्तरीय कविता प्रतियोगिता सञ्चालन गरी प्रत्येक पालिकाबाट प्रथम हुन सफल एक छात्र र एक छात्रा गरी छनोट भएका प्रतियोगीहरुबीच जिल्ला स्तरीय प्रतियोगिता सुसम्पन्न गरेको हो ।
बढैयाताल गाउँपालिका मैनापोखर स्थित होटल सुनगाभामा भएको कविता वाचन प्रतियोगितामा सम्पूर्ण पालिकाहरुलाई खबर संप्रेषण गरिएतापनि गुलरिया, बढैयाताल, बाँसगढी, ठाकुरबाबा र बारबर्दियाका विद्यालयको सहभागीता रहेको आयोजक तथा संगठनका जिल्ला अध्यक्ष भक्तिसागर रेग्मीले बताउनुभयो । यस प्रतियोगितामा छात्र तथा छात्रातर्फ गरी अलग अलग मूल्याङ्कन गरिएको थियो । जस अनुसार छात्रातर्फ बगलाुमखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाकी प्रश्ना सुवेदी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढीकी गीता ओली, त्रिभुवन माध्यमिक विद्यालय ठाकुरद्वाराकी वसन्ती खड्काले क्रमशः प्रथम, द्वित्तीय र तृतीय स्थान प्राप्त गर्नुभएको छ भने धर्मभक्त माध्यमिक विद्यालय बारबर्दियाकी ज्योति शर्मा र सरस्वती माध्यमिक विद्यालय बढैयाताल जगतियाकी पूर्णीमा परियारले,सान्त्वना स्थान हासिल गर्नुृभएको हो ।
यसैगरी छात्रतर्फ जनता माध्यमिक विद्यालयका देव बहादुर परियार प्रथम, बगलाुमखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाका सम्राट तिमिल्सिना द्वित्तीय र शुभकामना एकेडेमी बर्दियाका विवेक वि.क. ले तृतीय स्थान प्राप्त गर्न सफल हुनुभएको छ । विजेताहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सचिव तथा कार्यक्रमका प्रमुख अतिथि अम्बिका चापागाईं तथा विशिष्ट अतिथि बढैयाताल गाउँपालिका उपाध्यक्ष दीपा गौतम लगायतले पुरस्कार तथा प्रमाण–पत्र प्रदान गर्नुभएको थियो । प्रमोद कुमार तिमिल्सिना निर्णायक संयोजक रहनुभएको निर्णायक समूहको सदस्यहरुमा निरन्जना चन्द र भोजराज गौतम रहनुभएको थियो ।
कार्यक्रममा जिल्लामा संगठनको स्थापनामा योगदान पुर्याउनुहुने संस्थापक सदस्य एवम् सेवानिवृत्त शिक्षक यदुनन्दन शर्मालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । संगठनका जिल्ला अध्यक्ष भक्तिसागर रेग्मीको सभाध्यक्षतामा सम्पन्न यो कार्यक्रका प्रमुख अतिथि संगठनका राष्ट्रिय समितिका सचिव अम्बिका चापागाईंले संगठनले विगतमा गरेका कार्यहरुको स्मरण गर्दै विद्यार्थी लक्षित यस प्रकारको कार्यक्रमको शुरुवात गरेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा, विशिष्ट आतिथिको रुपमा रहुनुभएका बढैयाताल गाउँपालिका उपाध्यक्ष दिपा गौतमले सम्पूर्ण सहभागीहरुलाई बधाईं दिनुहुँदै यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरुको प्रतिभा अझ उजागर हुने सदिक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा, शिक्षक महासंघ जिल्ला अध्यक्ष कृष्णराज शर्मा, निवर्तमान जिल्ला अध्यक्ष निराजन चापागाईं, नेपाल शिक्षक संघ बर्दिया अध्यक्ष नारायण शर्मा, अखिल नेपाल शिक्षक संगठनका कोषाध्यक्ष ऋषिराम गौतम, विद्यालय कर्मचारी संगठनका अध्यक्ष रामशंकर थारु, व्याप्सन जिल्ला अध्यक्ष तेजनाथ पौडेल, एनप्याव्सन अध्यक्ष बुद्ध गिरी लगायत विभिन्न पालिका स्तरीय शिक्षक संघ संगठनका प्रमुख लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने जिल्लाका विभिन्न विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा विद्या ज्योति नमूना माध्यमिक विद्यालय कण्ठपुर, बर्दिया एकेडेमी तथा पोलिटेक्निक रिसर्च सेन्टरका विद्यार्थीहरुले रोचक नृत्यहरु प्रस्तुत गरेका थिए । सांस्कृतिक तथा प्रविधि संयोजन भोजराज बरालले गर्नुभएको थियो भने कार्यक्रममा आर्थिक रुपमा सहयोग गर्नुहुने विरेन्द्र भाट, सिभिल बैैक शितलाबजार शाखा र सिटिजन बैक मैनापोखर शाखालाई पनि सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।