अस्ताए अँध्याराे बस्तीका उज्याला कलाकार मनोज भण्डारी

बर्दियामा रहेर लामो सयमसम्म नेपाली गीत सङ्गीत तथा अभिनयको क्षेत्रमा योगदान पुर्याउनुभएका मनोज भण्डारीको आइतबार बिहान निधन भएको छ ।
गोरखा जिल्लामा जन्मिनुभई बर्दियालाई कर्मभूमि बनाउनुभएका भण्डारीको ५४ बर्षको उमेरमा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
शनिबार साँझ बेलुकीको खाना खाएर आराम गरिरहेको अवस्थामा अचानक स्वास्थ्यमा समस्या भएकोले तुरुन्तै एम्बुलेन्समा कोहलपुर मेडिकल कलेज पुर्याइएकोमा अवस्था निकै गम्भीर भइसकेकोले बिहान ४ बजेतिर वहाँले भौतिक रुपमा विश्राम लिनुभएको छिमेकी तथा बर्दियाका अग्रज शिक्षक राजु ज्ञवालीले बताउनुभयो ।
वहाँको निधनले बर्दियाको कलाको क्षेत्रमा अपूरणीय क्षती भएको भन्नुहुँदै कला साधक नरेन्द्र श्रेष्ठले वहाँसँग २०५० सालदेखिको सहकार्य रहेको स्मरण गर्नुभयो । वहाँले शुरुका दिनमा लोक तथा दोहोरी गीत गाउने तथा वहाँसँग मुम्बईमा गएर समेत कार्यक्रम गरेको स्मरण गर्नुहुँदै पछिल्लो समयमा वहाँले धेरै सडक नाटकहरुमा समेत अभिनय गर्नुभएको स्मरण गर्नुभयो । वहाँले सहयोगी हात नेपालद्वारा निर्माण गरिएको सचेतनामूलक चलचित्र ‘अँध्यारो वस्ती’ मा समेत अभिनय गर्नुभएको कलाकार श्रेष्ठले बताउनुभयो ।
यसैगरी बर्दियाका प्रथम लोक गायक एकराज पौडेलले कलासंस्कृतिको क्षेत्रमा पु¥याउनुभएको वहाँको योगदानलाई सदा स्मरण गर्नुहुँदै वहाँको अवसानबाट बर्दियाली माटोले एक कुशल कलाकर्मी तथा शिक्षासेवी गुमाएको बताउनुभयो ।
बर्दियाली शिक्षक तथा कला साधक प्रभात सुवेदीले वहाँलाई स्मरण गर्दै वहाँसग धेरै कोणबाट साथ गरेको बताउनुभयो । वहाँ एक कुशल शिक्षक, सङ्गीत सर्जक, गायक मात्रै नभएर कुशल चित्रकार र काष्ठकलामा पनि उत्तिकै पोख्त भएको स्मरण गर्नुहुँदै वहाँको अवसानले आफूलाई असाध्यै पीडावोध भएको बताउनुभयो । वहाँसग धेरै सांस्कृतिक कार्यक्रम तथा नाटकहरूमा सँगसँगै यात्रा गरेको र सधैँ वहाँले नाटकमा सूत्रधारको भूमिका गर्नुभएको सुवेदीले स्मरण गर्नुभयो ।
तीन दशक लामो अवधिसम्म बर्दियाको गुलरिया स्थित एक निजी विद्यालयमा शिक्षण गरी हाल राजापुर नगरपालिका ४ मा बस्दै आउनुभएका मनोज भण्डारीले पछिल्लो समय आफ्नै व्यवसाय गर्दै आउनुभएको थियो ।
वहाँको आमा, धर्मपत्नी र दुई छोराहरु रहेका छन् ।