ठगीका अनेक तरिका
सम्पादकीय

मानिसका असिमित आवश्यकताहरू हुनु स्वाभाविक हो । तर, कहिलेकाहीँ आफ्ना आवश्यकताहरूलाई सिमित गर्न सक्नु पनि पर्छ । अत्यावश्यक आवश्यकतालाई पूरा गर्दै जीवन रहेसम्म आफू अनि घर परिवार र समाजका लागि सकारात्मक कर्महरू गर्र्दै जानु पर्छ । कहिलेकाहीँ भने मानिसहरूमा अधिक आर्जनको लालसाले गर्दा समाजमा नकारात्मक प्रवृत्तिहरूको विगविगी बढ्ने रहेछ ।
आजभोलि केही कलुसित मानसिकता भएकाहरू जो अरुलाई भ्रम वा गुमराहमा पारेर ठगेर आर्जन गर्न पल्केका छन् उनीहरुले आफ्नो ठगीको स्वरुपलाई आम मानिसले चाल नपाउने गरेर समय सापेक्ष बनाइरहेका छन् । यस्ता ठगीका कारण सोझा सिधा मानिसहरूलाई मात्र हैन कहिँ कतै त प्रतिष्ठित संघसंस्थाहरूलाई समेत विश्वास र प्रलोभनमा पारेर अनलाइन तथा अफलाइनका माध्यमबाट समाजमा अनेक तरिकाले ठगी गर्ने प्रचलन बढ्दै गएको पाइन्छ ।
कहिले गोल्ड क्वेस्ट, कहिले इनोभेटिभ त कहिले के–के नाम गरेर भौतिक नेटवर्किङका माध्यमबाट यस्ता ठगीका कामहरू हुने गरेकोमा पछिल्लो समय भने भर्चुअल नेटवर्किङबाट ठगी गर्ने प्रचलन बढीरहेको कुरा सञ्चार माध्यममा आइरहेको पनि छन् । यस विषयमा विभिन्न तरिकाले राज्य, प्रहरी, प्रशासनले पनि आम जनतालाई सचेत गराउँदै आएका छन् । यसरी सचेत गराउँदा गराउँदै पनि समाजमा मानिसहरू बेला बेलामा ठगीमा परेको कुरा आइरहेकै छन् ।
मानिस जब फूर्सदिलो हुन्छ वा दिमाग खाली हुन्छ, त्यसबेला नै उसमा नकारात्मक प्रवृत्तिहरू हाबी हुन्छन् । अनि अनेकन बहानाबाजी गर्दै मानिसलाई भ्रमको खेती गर्न शुरु गर्छन् । केही साता अगाडि बाँके जिल्लाका विभिन्न संघ, संस्था, कार्यालय, पालिका, वडा, विद्यालय लगायतलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम जोड्दै उपरोक्त संस्थामा आवद्ध सम्पूर्ण व्यक्तिहरुमा वेभ म्यासेजको प्रयोग गरी कम्प्युटर, प्रोजेक्टर, पेन ड्राइभ, ल्यापटप व्याग, सिसि क्यामेरा, केही आउट डेटेड पुस्तक लगायतका सामग्री राष्ट्रिय सभा सदस्यबाट वितरण गरिने भनेर म्यासेज पठाइ भ्रम छर्दै केही विद्यालयहरुलाई सस्ता सामग्रीहरु सेवा शुल्क भन्दै रु. ५० हजार नगदै लिइ विक्री गरेको र ततपश्चात माघ २३ र २४ गते सोही समूह बर्दिया जिल्लामा आई उही रणनीति अपनाई बर्दियामा किशोर सिंह राठोर र तिलक शर्मा ‘हिमाल’ को नाम लिएर सयौं संघसंस्थाका पदाधिकारीहरुलाई वेभ म्यासेज तथा पटक पटक फोन गरी वितरणको अन्तिम दिन भन्दै भ्रमपूर्ण तरिकाले कमसल सामान बढी मूल्यमा बेच्ने क्रममा कम्युटर एसोसिएसन बर्दिया र प्रविधिमैत्री शिक्षक समाज बर्दियाले प्रहरीमा सूचना दिइ पक्राउ गरी अनुसन्धानको दायरामा पु¥याएर अनुसन्धान भैरहेको नेपाल पुलिसको अनलाइनमा प्रकाशित समाचारमा उल्लेख छ ।
यस्ता ठगीका गतिविधिबाट बँच्नका लागि कुनै पनि कुरामा आँखा चिम्म गरेर लाग्नु पहिले गहन तरिकाले बुझेर मात्र निर्णय लिन र चनाखो रहन अनुरोध छ ।