निर्वाचन, कछुवा मतगणना र प्रविधि

यही बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन सकिएको भोलीपल्ट देखि मतगणना हुने क्रम जारी छ । कसको मत कति ? को अगाडी वा पछाडि छ ? कसले कहाँ जीत हात पा¥यो ? को भन्दा को कति मतले अगाडी छ ? मतपरिणाम कहिलेसम्म होला भनी प्रतिक्षा गर्दै विशेष चासोका साथ कोही मतगणना स्थलमा चर्को गर्मीको प्रवाह नगरी धर्ना दिए झैं बसिरहेका छन् भने कोही सामाजिक सञ्जाल मार्फत जानकारी आदान प्रदान गर्न व्यस्त छन् भने कतिपय टेलीभिजन रेडियो लगायत संचार माध्यमा मार्फत र सूचना तथा प्रविधिबाट टाढा रहेका मानिसहरु साथीभाइ मार्फत पनि जानकारी लिई विशेष चासोका साथ लिइरहेका छन् । मतगणना स्थलबाट अद्याधिक जानकारी प्राप्त नभइरहेको संचारकर्मीहरुको गुनासो छ भने मतगणनामा खटिएका टोलीले पचासौं उम्मेदवारहरुको प्रतिनिधीहरुलाई प्रत्येक मतपत्र देखाउँदै गणना गर्नुपर्ने अवस्थाका कारण समय धेरै लाग्ने गरेको कुरा बताइरहेका छन् ।
“चुनावको अन्तिम नतिजा आउँदासम्म भोट कसलाई हालेको नै विर्सिएला जस्तो छ” भनेर एकजना मित्रले रमाइलो पाराले सामाजिक सञ्जालमा त्यत्तिकै दुखेसो पोखेका त होइनन् होला । अहिले भईरहेको मतगणना कार्य यदि यही गतिमा हुने हो भने अन्तिम नजिता आउन हप्तौंदिन मात्र त के महिनौं दिन समेत पर्खनुपर्ने आँकलन गरिएको पाइन्छ । अहिलेको विज्ञान तथा प्रविधिको जमाना पनि निर्वाचन सम्पन्न भएको लामो समयसम्म मतपरिणाम आउन नसक्नु, निर्वाचन आयोगले पनि घण्टौं समय सम्म मतगणनाको अवस्था अपडेट गराउन नसकेको महसुस आम नागरिकले गरेको सर्वविदितै छ । निर्वाचनको प्रचारप्रसारको क्रममा नेताले दिएका आश्वासन, घोषणा पत्रमा गरेका वाचा हेर्ने हो भने कसैले नेपाललाई स्वीजरल्याण्ड, अमेरिका, कोरिया ……. जस्तो विकसित राष्ट्र बनाउने सपना नबाँडेको पनि होइन । तर निर्वाचनकै क्रममा, वा निर्वाचन सम्पन्न हुनासाथ एक क्लिकमा निर्वाचन परिणाम निकाल्ने प्रविधिको विकास गर्ने प्रयास कसैले कहिल्यै गरेको पाइएन । के यही पाराले होला त नेपाल विकसित राष्ट्र ? वर्तमान समयमा प्रयोगमा आइरहेको विज्ञान तथा प्रविधिको प्रयोग मार्फत यो असम्भव भने अवश्य छैन जुन विभिन्न मुलुकहरुमा प्रयोग भइरहेको छ ।

हुन त ४०% भन्दा कम जनसंख्या इन्टरनेट पहुँच भएको हाम्रो देश नेपालको शैक्षिकस्तर, जनचेतना, सूचना तथा प्रविधिमा पहुँच र प्रयोगको दृष्टिकोणले यो असम्भव जस्तो पनि लाग्न सक्छ तर असम्भवलाई सम्भव बनाउनको लागि यसको विकल्पको बारेमा सोच्न पनि उत्तिकै आवश्यक छ । नेपालमा अहिले विभिन्न निजी क्षेत्रमा कम्पनी, संघसंस्थाहरुले विज्ञान तथा प्रविधिको प्रयोग मार्फत विभिन्न तालिम गोष्ठी, छलफल गर्ने, विभिन्न तथ्यांक संकलन गर्ने जस्ता अभ्यास गर्दै आइरहेका छन् । तर सरकारी निकायहरुमा संरचना निर्माण भई जडान भए तापनि यसको भरपुर प्रयोगमा भने कन्जुस्याइँ हुँदै आएको छ ।

निर्वाचन जस्तो आम जनचासोको राख्ने महत्वपूर्ण राष्ट्रिय कार्यक्रममा विज्ञान तथा प्रविधिको प्रयोग गर्न सकेमा छिटोछरितो मतपरिणाम दिई जनविश्वास बढाउनु साथै यसले मत बदर नहुने र निर्वाचनको व्यवस्थापन, कर्मचारी परिचालन, मतपत्र छपाइ, सुरक्षाकर्मी परिचालन, भड्किलो प्रचार प्रसारमा हुने खरबौं रुपैयाँ बचाउन सकिन्छ जसलाई अन्य विकासका काममा लगानी गर्न सकिन्छ । तर विडम्बना नै भन्नुपर्छ यही निर्वाचन मार्फत चुनिएका नेतृत्वहरु नै विज्ञान तथा प्रविधिको प्रयोगको बारेमा सोच्न सक्ने र कल्पना गर्न सक्ने क्षमता कत्तिको राख्दछन् त्यसले नै भविष्यमा हुने निर्वाचनमा यसको प्रयोगले महत्व पाउन सक्छ ।

त्यसैले हरेक निर्वाचनमा उम्मेदवारी दिने व्यक्ति जनताको लोकप्रिय हुनुका साथसाथै आधुनिक विज्ञान तथा प्रविधिको बारेमा जानकार नेतृत्व आउन आजको आवश्यकता छ । आशा गरौं, भविष्यमा हुने आम जनचासो रहने महत्वपूर्ण कार्यक्रमलाई चुस्तदुरुस्त विश्वासिलो तरीकाले जतिसक्दो नतिजा दिनको लागि कछुवा गति अनुसरण हैन कि विज्ञान तथा प्रविधिको प्रयोग भएको देख्न पाइयोस्, शुभकामना ।। जय प्रविधि ।।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button