प्याट्रिस लुमुम्बा हत्या: अफ्रिकाको स्वाभिमानमाथि साम्राज्यवादको खुला प्रहार

# पासाङ ल्हामु
अफ्रिकी महादेशको मुटु कंगोमाथि स्वतन्त्रताको सूर्य उदाएको मात्र सात महिना बितेको थियो। ३० जुन १९६० मा बेल्जियमबाट औपचारिक रूपमा स्वतन्त्र बनेको यो अपार प्राकृतिक सम्पदाले भरिएको राष्ट्र अझै नवजात अवस्थामै थियो। त्यही बेला, कंगोका प्रथम निर्वाचित प्रधानमन्त्री प्याट्रिस लुमुम्बा आफ्नै देशको कात्तिको कारागारमा बन्दी थिए।
१७ जनवरी १९६१ को त्यो रात केवल अँध्यारो र चिसो मात्र थिएन, त्यो रात अफ्रिकाको इतिहासमा सबैभन्दा निर्मम अध्याय लेखिन लागेको थियो।
प्याट्रिस लुमुम्बा साधारण राजनीतिज्ञ थिएनन्। उनी एउटा विचार थिए, एउटा आन्दोलन थिए, र अफ्रिकाको पुनर्जागरणको प्रतीक थिए। मात्र ३४ वर्षको उमेरमा उनले कंगोको नेतृत्व सम्हाल्दै देशलाई वास्तविक अर्थमा “जनताको हातमा” फर्काउने संकल्प गरेका थिए। स्वतन्त्रता दिवसमा दिएको उनको ऐतिहासिक भाषण: “हामीले भोगेको अपमान, शोषण र अमानवीयताको विरुद्ध रगतले सिंचित यस भूमिलाई आज हामी स्वतन्त्र घोषणा गर्दछौँ” ले केवल कंगोलाई होइन, समग्र अफ्रिकी महादेशलाई झक्झक्याएको थियो।
तर यही निर्भीक अभिव्यक्तिले पश्चिमी साम्राज्यवादी शक्तिहरूलाई असहज बनायो। लुमुम्बाको स्पष्ट धारणा थियो, कंगोको जमिन, खनिज र सम्पदा कंगोका जनताकै हुनुपर्छ; विदेशी शक्तिहरूको लुटको साधन होइन। खानी राष्ट्रियकरण, आर्थिक स्वावलम्बन र पान–अफ्रिकावादी एकताको अवधारणा उनले व्यवहारमै उतार्न खोजे।
यसै कारण वाशिङ्टन र ब्रुसेल्समा षड्यन्त्रको जाल बुन्न थालियो। CIA प्रमुख एलन डलेसले लुमुम्बालाई “सोभियत समर्थक” का रूपमा चित्रित गरे। बेल्जियमका शासक वृत्त अझै कंगोलाई आफ्नै उपनिवेश ठान्ने मानसिकताबाट मुक्त हुन सकेका थिए। उद्देश्य एउटै थियो—लुमुम्बालाई सत्ता र इतिहास दुवैबाट हटाउने।
सन १९६० सेप्टेम्बरमा राष्ट्रपति जोसेफ कासाभुबुसँगको टकरावपछि लुमुम्बा पदबाट निलम्बित भए। उनलाई मौन बनाउन विष दिने प्रयाससम्म गरियो। अन्तर्राष्ट्रिय शक्तिहरूबाट घेरिएपछि उनी सोभियत सहयोगतर्फ उन्मुख भए, जसलाई पश्चिमी शक्तिहरूले आफ्नो प्रभुत्वका लागि खतरा ठाने।
१७ जनवरी १९६१ को रात लुमुम्बालाई कात्तिको कारागारबाट एलिसाबेथभिल लगियो। त्यहाँ उनीमाथि अमानवीय यातना दिइयो। त्यसपछि गोली हानियो। तर अपराध यहीँ रोकिएन। प्रमाण मेटाउने नाममा उनको शरीर नष्ट गरियो। यो क्रूरता मानव इतिहासमै विरलै देखिने प्रकारको थियो। सबैभन्दा पीडादायी तथ्य, हत्यामा संलग्न बेल्जियम प्रहरी अधिकारीले लुमुम्बाको एउटा सुनको दाँत दशकौँसम्म “स्मृतिचिन्ह” का रूपमा राखे।
कंगो विश्वकै सबैभन्दा धनी प्राकृतिक स्रोत भएको मुलुक हो। कोबाल्ट, हीरा, तामा, सुन र दुर्लभ खनिजहरूले भरिएको यो भूमि स्वतन्त्रतापछि पनि शान्ति र समृद्धिबाट टाढै रह्यो। लुमुम्बापछि देशले लामो तानाशाही, गृहयुद्ध र लाखौँ निर्दोष नागरिकको मृत्यु भोग्नुपर्यो। आज पनि कंगोका धेरै भूभागमा खनिज नियन्त्रणका लागि सशस्त्र द्वन्द्व जारी छ।
लुमुम्बा हत्याले विश्वभर आक्रोश फैलायो। यो घटनाले अफ्रिकामा उपनिवेशवादविरोधी चेतनालाई झन तीव्र बनायो। तर न्याय आउन दशकौँ लाग्यो। अन्ततः बेल्जियमले नैतिक जिम्मेवारी स्वीकार गर्यो, शासकहरूले खेद व्यक्त गरे, र लुमुम्बाको अवशेष कंगोलाई फिर्ता गरियो।
तर प्रश्न अझै बाँकी छ, के त्यो पर्याप्त थियो?
लुमुम्बाको हत्या एउटा व्यक्तिको अन्त्य मात्र थिएन। त्यो अफ्रिकाको स्वाभिमानी भविष्यको सम्भावनामाथिको आक्रमण थियो। आज पनि जब नयाँ उपनिवेशवाद, आर्थिक नियन्त्रण र सत्ता परिवर्तनका रणनीतिहरू देखिन्छन्, लुमुम्बाको कथा हामीलाई चेतावनी दिन्छ।
१७ जनवरी केवल एउटा शहीदको सम्झनाको दिन होइन। यो दिन साम्राज्यवादी शोषणविरुद्ध चेतनाको प्रतीक हो। एउटा दाँत फिर्ता आयो, तर कंगोका जनताको लुटिएको गौरव, अवसर र भविष्य अझै फिर्ता आउन बाँकी छ।
“हाम्रो संघर्ष विश्वका सबै दमित जनताको संघर्ष हो।
हाम्रो विजय तिनैको विजय हुनेछ।”
— प्याट्रिस लुमुम्बा
नाेट: यो लेख t.me/RussianBaZa बाट प्रेरित भएर तयार गरिएको हो।





