नेपाललाई दिशा दिन साइबर भ्रम होइन, राष्ट्रको भरोसा चाहिन्छ

# लक्की चन्द
आजको नेपाली राजनीति सामाजिक सञ्जालको हल्लाबाट होइन, मतपेटिकामा खस्ने सचेत मतबाट तय हुन्छ। Facebook र TikTok मा देखिने फलोअर्सको भीड, लाइक–सेयरको आँधी र कृत्रिम समर्थनले यथार्थलाई ढाक्न खोजे पनि देशको भविष्य त्यसले निर्धारण गर्दैन। बालेन्द्र साहका लाखौँ फलोअर्स देख्दा कतिपयलाई सत्ता पनि यहीँबाट बन्छ जस्तो लाग्नसक्छ, तर गहिरिएर हेर्दा सामाजिक सञ्जालको ठूलो हिस्सा फेक, बोट र राजनीतिक एजेन्डाले परिचालित साइबर जमातमै सीमित छ। न त ती मतदाता हुन्, न त समाजको निर्णय बदल्ने हैसियत राख्छन्। तर यही भ्रमले सिर्जना गरेको साइबर अराजकता भने आज देशका लागि गम्भीर चुनौती बनेको छ।
यथार्थ राजनीति भने जमिनमा हुन्छ: गाउँ, टोल, परिवार र मतपेटिकामा। यही यथार्थ बुझ्ने र त्यसअनुसार अघि बढ्ने दल हो एमाले। संगठन, विचार र राष्ट्रप्रतिको जिम्मेवारी एमालेको शक्ति हो, र त्यो शक्तिको केन्द्रमा अनुभवी, निर्णायक र राष्ट्रवादी नेतृत्व केपी शर्मा ओली उभिएका छन्।
सत्ता जोगाउन निर्वाचन क्षेत्र फेर्दै हिँड्ने राजनीति नयाँ होइन। प्रचण्ड घुम्दै फिर्दै रुकुम पुगेका छन्। उनी जहाँ पुगे पनि व्यक्तिगत जित सम्भव देखिनसक्छ, तर देशले स्थिरता, स्पष्ट दिशा र दीर्घकालीन योजना पाउने आधार भने कमजोर नै रहन्छ। सत्ता चलाउने चाल र राष्ट्र निर्माण गर्ने दृष्टि एउटै कुरा होइन, यहाँ भिन्नता स्पष्ट छ।
कांग्रेसभित्र पनि भाषण र लोकप्रियताले राजनीति चलाउने भ्रम देखिन्छ। गगन थापाको क्षेत्र परिवर्तन, परिवर्तनका नारामाथि उभिएको राजनीति र संसदीय प्रणालीको आधारभूत यथार्थ नबुझी गरिने अतिरञ्जित अभिव्यक्तिले गम्भीर राजनीतिलाई हल्का बनाएको छ। देश भाषणले होइन, नीति, अनुशासन र संस्थागत क्षमताले बन्छ।
यही सन्दर्भमा झापा–५ को राजनीतिक चित्र अत्यन्त स्पष्ट छ। काठमाडौंको मेयर पदबाट चर्चामा आएका बालेन्द्र साहको झापा–५ बाट उम्मेदवारी साहस कम, अपरिपक्वता बढी देखिन्छ। यो निर्णय व्यक्तिगत महत्वाकांक्षा हो कि कसैको प्रयोग, समयले देखाउनेछ। तर झापा–५ केपी शर्मा ओलीको राजनीतिक किल्ला हो भन्ने यथार्थ कसैले नकार्न सक्दैन। यही क्षेत्रबाट पटक–पटक जनताको विश्वास जित्दै राष्ट्रिय नेतृत्वमा पुगेका ओलीका लागि यहाँको जनमत नयाँ होइन, स्थापित भरोसा हो।
एमालेले झापाको सामाजिक, आर्थिक र राजनीतिक यथार्थ गहिरो रूपमा बुझेको छ। संगठन मजबुत छ, कार्यकर्ता प्रतिबद्ध छन् र नीति स्पष्ट छ। त्यसैले ओलीलाई जिताउन पार्टीको सम्पूर्ण शक्ति परिचालन हुनेछ र यही आधारमा एमाले फेरि देशको पहिलो पार्टी बन्ने दिशामा अघि बढेको देखिन्छ।
अब चुनावी परिणामको तस्वीर पनि क्रमशः स्पष्ट हुँदैछ। कुनै पनि पार्टीले एकल बहुमत ल्याउने सम्भावना न्यून छ। तर ठूलो पार्टी बन्ने प्रतिस्पर्धा एमाले र कांग्रेसबीच सीमित हुनेछ। माओवादी केन्द्र तेस्रो स्थानमा सीमित रहनेछ भने रास्वपा केही सिटमा खुम्चिने संकेत देखिन्छ। जनता न त पुरानो नाम सुनेर आँखै चिम्लिन्छन्, न त नयाँको नाममा अपरिचित प्रयोग स्वीकार्छन्। जनताले भरोसा खोज्छन् र त्यो भरोसा आज एमालेसँग छ।
प्रधानमन्त्री को बन्ने भन्ने प्रश्नमा पनि उत्तर क्रमशः स्पष्ट हुँदैछ। वर्तमान आन्तरिक चुनौती, आर्थिक दबाब र अन्तर्राष्ट्रिय जटिलताबीच देशलाई स्थिरता दिन सक्ने क्षमता, अनुभव र आत्मविश्वास केपी शर्मा ओलीसँग छ। कांग्रेस अझै नेतृत्वगत अन्योलमा छ, प्रचण्ड अवसरवादी राजनीतिमा सीमित देखिन्छन् र बालेन्द्र साह संसदीय अभ्यासको प्रारम्भिक चरणमै छन्।
नेपाललाई साँच्चिकै विकासको बाटोमा लैजान संविधानमा आवश्यक सुधार, बलियो राज्य संयन्त्र र निर्णायक नेतृत्व अपरिहार्य छ। त्यो काम कांग्रेस र एमाले जस्ता राष्ट्रिय दलहरूको सहकार्य बिना सम्भव छैन। तर ग्रासरुट यथार्थ के भन्छ भने एमाले बिना राष्ट्र निर्माण सम्भव छैन। यही यथार्थ बालेन्द्र साहले महानगर चलाउँदा बुझेका छन्। नत्र पहिलो कार्यकालमै प्रशासनिक असफलताका कारण प्रचण्डले राजीनामा दिनुपरेको इतिहास हामीसँग छ।
यो विचार-तर्क कसैलाई कठोर लाग्न सक्छ, कसैलाई असहज। तर देशभक्ति भनेको मिठा कुरा मात्र होइन, तीतो सत्य बोल्ने साहस पनि हो। लोकतन्त्रको सुन्दरता बहसमा छ, तर राष्ट्रको भविष्य दृढ, अनुभवी र राष्ट्रवादी नेतृत्वमै सुरक्षित हुन्छ।
आज त्यो नेतृत्व एमालेसँग छ र त्यसको स्पष्ट नाम हो, केपी शर्मा ओली।





