नेपाल–युएई आमनेसामने : विश्वकप सपनाका लागि अनिवार्य जित

कीर्तिपुर — आईसीसी विश्वकप लिग–२ अन्तर्गत छैटौं शृंखलाको पहिलो खेलमा आज नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईको सामना गर्दैछ। सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको आधार मानिएको प्रतियोगिताका लागि दुवै टोलीलाई जित अत्यन्त आवश्यक छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजे सुरु हुने खेलमा दुवै टोली तालिकाको पुछारबाट माथि उठ्ने योजनासहित मैदान उत्रने छन्। हालसम्म २० खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ भने युएई १० अंकसहित पुछार (आठौँ) मा छ।
लिग–२ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोटमा स्थान बनाउनेछन् भने पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्नेछ। त्यसैले यो शृंखला नेपालको एकदिवसीय वरियता र विश्वकप सपना दुवैका लागि चुनौतीपूर्ण बनेको छ।
पछिल्लो समय युएई नेपालका लागि कठिन प्रतिद्वन्द्वी साबित भएको छ। सन् २०२३ को जुलाईमा हराएयता नेपालले युएई विरुद्ध जित हात पार्न सकेको छैन। अघिल्लो वर्ष अक्टोबर र नोभेम्बरमा युएईमै भएको लिग–२ का दुवै खेलमा नेपाल पराजित भएको थियो।
तर, घरेलु मैदान र दर्शकको साथ पाउँदा नेपाल सधैं खतरनाक रहन्छ। विगतमा अन्तिम १२ खेलमध्ये ११ जित्दै चमत्कारी प्रदर्शन गरेको इतिहास नेपालसँग रहेको छ, जसलाई दोहोर्याउन टोली प्रयत्नरत छ।
यस शृंखलामा नेपाल र युएईसँगै ओमान पनि सहभागी छ। ओमान २९ अंकसहित तालिकाको तेस्रो स्थानमा मजबुत अवस्थामा रहे तापनि शुक्रबारको अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले ओमानलाई ११५ रनले हराएको थियो। यसले नेपाली टोलीको मनोबल उच्च बनाएको छ।
विश्वकपको यात्रा जीवित राख्न र ओडीआई मान्यता कायम राख्न नेपालले घरेलु मैदानको फाइदा उठाउँदै आजको खेलमा स्पष्ट जित निकाल्नै पर्ने दबाब छ।





