शक्ति सन्तुलनको नयाँ युगतर्फ चीनको निर्णायक पाइला

# प्रेम सागर पाैडेल

विश्व आज तीव्र परिवर्तन र अनिश्चितताले भरिएको चरणमा प्रवेश गरिरहेको छ। अन्तर्राष्ट्रिय शक्ति सन्तुलन पुनःसंरचनाको प्रक्रियामा छ, सुरक्षा चुनौतीहरू परम्परागत सीमाभन्दा बाहिर फैलिएका छन् र प्रविधिले युद्धको स्वरूप नै बदलिदिएको छ। यस्ता परिस्थितिमा कुनै पनि देशको सैन्य शक्ति केवल हातहतियार, प्रविधि वा सैनिक सङ्ख्याले मात्र निर्धारण हुँदैन। त्यसको वास्तविक आधार हुन्छ दृढ सैन्य सिद्धान्त, स्पष्ट वैचारिक मार्गदर्शन र दीर्घकालीन रणनीतिक सोच। यही यथार्थलाई गहिरोसँग आत्मसात गर्दै चीनले सैन्य सिद्धान्त सम्बन्धी कार्यका लागि नयाँ नियमावली जारी गरेको छ, जसलाई केन्द्रीय सैन्य आयोगका अध्यक्ष राष्ट्रपति सी चिनफिङ्गले अनुमोदन गर्नुभएको छ।

मार्च १ देखि लागू हुने यो नियमावली चीनको सैन्य आधुनिकीकरण यात्रामा एक महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यो कदम कुनै आकस्मिक निर्णय होइन, बरु पछिल्ला वर्षहरूमा चीनले अघि सारेको दीर्घकालीन सैन्य सुधार, संस्थागत सुदृढीकरण र वैचारिक स्पष्टताको निरन्तरता हो। चीनले अब सैन्य विकासलाई केवल भौतिक क्षमताको विस्तारमा सीमित नराखी, त्यसको सैद्धान्तिक र बौद्धिक आधारलाई पनि समान महत्व दिने स्पष्ट सन्देश दिएको छ।

इतिहासले देखाएको छ कि युद्ध जित्ने वा हार्ने निर्णायक तत्व सधैँ हतियार मात्र हुँदैन। सैन्य सिद्धान्तले सेनाको सोच, रणनीति र निर्णय क्षमतालाई निर्देशित गर्छ। आधुनिक युगमा युद्ध बहुआयामिक बनेको छ, सूचना, साइबर, अन्तरिक्ष, कृत्रिम बुद्धिमत्ता र मनोवैज्ञानिक पक्षहरू पनि युद्धका मुख्य मोर्चा बनेका छन्। यस्तो अवस्थामा परम्परागत सोच पर्याप्त हुँदैन। चीनले यही परिवर्तनशील यथार्थलाई ध्यानमा राख्दै सैन्य सिद्धान्तको आधुनिकीकरणलाई केन्द्रमा राखेको देखिन्छ।

नयाँ नियमावलीले सैन्य सिद्धान्त सम्बन्धी कार्यलाई व्यवस्थित, मानकीकृत र दीर्घकालीन बनाउने उद्देश्य राखेको छ। यसले सैन्य सिद्धान्त विकास रणनीति, दीर्घकालीन योजना र वार्षिक योजनाको सामग्री, तिनको तयारी र सार्वजनिक प्रक्रिया स्पष्ट गरेको छ। यसबाट सैन्य चिन्तन व्यक्तिगत वा अस्थायी निर्णयको भरमा होइन, संस्थागत प्रणालीभित्र विकास हुने वातावरण तयार हुन्छ। यस्तो व्यवस्था दीर्घकालीन स्थिरता र निरन्तरताको प्रतीक हो, जुन कुनै पनि शक्तिशाली सेनाको आधारभूत आवश्यकता हो।

राष्ट्रपति सी चिनफिङ्गको नेतृत्वमा चीनले पछिल्ला वर्षहरूमा सैन्य सुधारको व्यापक प्रक्रिया अघि बढाएको छ। संगठनात्मक पुनर्संरचना, संयुक्त कमाण्ड प्रणालीको विकास, प्रविधिमा लगानी र अनुशासन सुदृढीकरणसँगै अब सैन्य सिद्धान्तलाई पनि संस्थागत रूप दिनु यही सुधारको स्वाभाविक चरण हो। सी जिनपिङले बलियो राष्ट्रका लागि बलियो सेना अपरिहार्य हुने कुरा बारम्बार उल्लेख गर्दै आउनु भएको छ। तर उहाँको दृष्टिमा बलियो सेना भनेको केवल शक्तिशाली हतियारले सुसज्जित संस्था होइन, स्पष्ट विचार, अनुशासित सोच र राष्ट्रिय हितप्रति प्रतिबद्ध संगठन हो।

नियमावलीले नवप्रवर्तनलाई विशेष प्राथमिकता दिएको छ। आधुनिक सैन्य प्रतिस्पर्धा प्रविधिमा आधारित छ र प्रविधि निरन्तर परिवर्तनशील छ। त्यसैले सैन्य सिद्धान्त पनि स्थिर हुन सक्दैन। अनुसन्धानको मोडेल परिष्कृत गर्दै नयाँ विचारलाई प्रोत्साहन गर्ने, उपयोगी सिद्धान्तलाई व्यवहारमा उतार्ने र समयसँग मेल नखाने अवधारणालाई पुनःमूल्याङ्कन गर्ने व्यवस्था नियमावलीमा समेटिएको छ। सैन्य सिद्धान्तसम्बन्धी उपलब्धिहरूको दर्ता, साझा प्रणाली, मूल्याङ्कन, मान्यता, प्रवर्द्धन र प्रयोगका स्पष्ट मापदण्ड तय गर्नुले अनुसन्धानलाई कागजी अभ्यासमा सीमित हुन नदिई व्यवहारिक प्रयोगसँग जोड्ने आधार तयार गर्छ।

सात अध्याय र ५२ धारामा समेटिएको यो नियमावली संरचनागत रूपमा विस्तृत र व्यावहारिक देखिन्छ। यसले सैन्य सिद्धान्तलाई अमूर्त विचारको तहबाट तल झारेर स्पष्ट नियम, प्रक्रिया र जिम्मेवारीसहितको प्रणालीका रूपमा विकास गर्ने प्रयास गरेको छ। यस्तो स्पष्टता र संरचनागत गहिराइले चीनको सैन्य विकासमा आत्मविश्वास झल्काउँछ। जब कुनै देश आफ्नो मार्गप्रति स्पष्ट हुन्छ, उसले बाह्य आलोचना वा दबाबलाई सहजै व्यवस्थापन गर्न सक्छ।

पश्चिमी विश्वमा कहिलेकाहीँ चीनका यस्ता कदमलाई शंकाको दृष्टिले हेरिन्छ। सैन्य सुधार र नियमावलीलाई विस्तारवाद वा खतरा भनेर चित्रण गर्ने प्रयास पनि देखिन्छ। तर तथ्यमा आधारित विश्लेषण गर्दा चीनको राष्ट्रिय रक्षा नीति मूलतः रक्षात्मक रहेको स्पष्ट हुन्छ। नयाँ नियमावलीले आक्रामकता होइन, अनुशासन, स्थिरता र स्पष्ट सिद्धान्तमार्फत सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको देखिन्छ। सैन्य सिद्धान्तलाई व्यवस्थित बनाउनु भनेको अनियन्त्रित शक्ति प्रयोगलाई होइन, विवेकपूर्ण र जिम्मेवार निर्णय प्रक्रियालाई बलियो बनाउनु हो।

चीनले सधैँ आफ्नो विकास मार्ग शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ। आर्थिक विकास, गरिबी निवारण, पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय सहकार्यमा चीनको सक्रियता यसको उदाहरण हो। सैन्य सिद्धान्तको आधुनिकीकरण पनि यही शान्तिपूर्ण विकास मार्गसँग जोडिएको देखिन्छ। स्पष्ट सिद्धान्त भएको सेना आवेगमा होइन, रणनीतिक विवेकका साथ अघि बढ्छ। यसले गलत अनुमान, आकस्मिक टकराव र अनावश्यक द्वन्द्वको सम्भावना घटाउँछ।

आजको विश्वले जिम्मेवार शक्तिको खोजी गरिरहेको छ। जलवायु परिवर्तन, महामारी, क्षेत्रीय द्वन्द्व र विकास असमानता जस्ता साझा चुनौतीहरूको समाधानका लागि स्थिरता आवश्यक छ। चीनले आफूलाई यस्तो स्थिरतामा योगदान पुर्‍याउने शक्तिका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ। सैन्य सिद्धान्तको सुदृढता पनि यही प्रयासको एक महत्वपूर्ण पक्ष हो। जब कुनै देशको सैन्य शक्ति स्पष्ट नियम र वैचारिक मार्गदर्शनभित्र सञ्चालन हुन्छ, तब त्यो शक्ति अन्तर्राष्ट्रिय शान्तिका लागि खतरा होइन, सन्तुलनको कारक बन्न सक्छ।

राष्ट्रपति सी चिनफिङ्गद्वारा अनुमोदित नयाँ नियमावलीले चीनको दीर्घकालीन सैन्य दृष्टिकोणलाई झल्काउँछ। यसले देखाउँछ कि चीन तत्कालीन लाभभन्दा पनि भविष्यका चुनौतीलाई ध्यानमा राख्दै अघि बढिरहेको छ। सैन्य सिद्धान्तलाई संस्थागत, आधुनिक र गतिशील बनाउने यो प्रयासले चिनियाँ सेनालाई मात्र होइन, चीनको समग्र राष्ट्रिय रणनीतिलाई पनि सुदृढ बनाउने अपेक्षा गरिएको छ।

अन्ततः, यो नियमावली चीनको आत्मविश्वास र परिपक्वताको संकेत हो। शक्ति प्रदर्शनभन्दा पनि शक्ति व्यवस्थापनमा जोड दिने, हतियारभन्दा पनि विचारलाई केन्द्रमा राख्ने र सैन्य क्षमतासँगै वैचारिक स्पष्टतालाई समान महत्व दिने दृष्टिकोण नै आजको जटिल विश्वमा दीर्घकालीन स्थिरताको आधार बन्न सक्छ। चीनको यो कदमलाई यही व्यापक सन्दर्भमा बुझ्नु आवश्यक देखिन्छ।

लेखक: प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ। उहाँले नेपाल-चीन सम्बन्ध, हिमालय क्षेत्रको भू-राजनीति, र एसियाली सुरक्षा मुद्दाहरूमा गहन अध्ययन गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button