पूर्व मन्त्री खरेल डाँडो देखाउँदै, कसम खाँदै

पूर्व सञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ का उम्मेदवार जगदीश खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको लक्ष्य १ सय ५० सिट रहेको दाबी गरेका छन् ।

हिजो ललितपुरको शंखु भकारीडाँडामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले १ सय ४० सिटभन्दा कम नआउने र रास्वपाकै एकल सरकार बन्ने विश्वास व्यक्त गरे ।

“हाम्रो लक्ष्य १ सय ५० सिटको हो, १ सय ४० सिटभन्दा कम आउँदैन,” खरेलले भने, “एकल सरकार राष्ट्रिय स्वतन्त्र पार्टीकै बन्छ ।”

डाँडोतर्फ औँला सोझ्याउँदै उनले मतदातासँग भावनात्मक अपिलसमेत गरे, “पाँच वर्षपछि काम नगरे बुद्ध रत्न र मलाई त्यो माथिको डाँडाबाट तल झर्न नदिनु ल !”

दक्षिण भेगका मतदातालाई निर्णायक भूमिका खेल्न आग्रह गर्दै खरेलले भने, “यो क्षेत्र नम्बर १ मा कति अन्तरले जिताउनुहुन्छ, त्यो टक्क मतपेटिकामा देखिन्छ । त्यो देखिएपछि हामीलाई खुब खुशी लाग्छ।”

उनले चुनावी अभियान ललितपुरको दक्षिण भेगबाटै शुरु गरिएको जानकारी दिँदै विकासको सुरुवात पनि यही क्षेत्रबाट गर्ने प्रतिबद्धता जनाए ।

तर खरेलको यो भाषणसँगै उनको अघिल्लो भूमिकाले भने फरक  प्रश्न जन्माएको छ ।

मन्त्रीको कुर्सीमा रहँदा “हाम्रो लक्ष्य चुनाव गराउने हो” भन्दै बसेका खरेलले एक्कासी राजीनामा दिएर चुनावी मैदानमा होमिएपछि धेरैले उनलाई ‘पुरानै राजनीतिक शैली’ दोहोर्‍याएको आरोप लगाउन थालेका छन् ।

एकातिर नयाँ राजनीतिक संस्कारको कुरा गर्ने रास्वपाका उम्मेदवार खरेल, अर्कोतिर अवसर मिल्नासाथ मन्त्री पद त्यागेर उम्मेदवार बन्ने निर्णय—यसले उनीमाथि नैतिकताको प्रश्न खडा गरेको टिप्पणी स्थानीय स्तरमै हुन थालेको छ ।

डाँडो देखाउँदै खाएको कसम र १५० सिटको दाबीले खरेलको आत्मविश्वास त देखाएको छ, तर मतदाताले उनलाई “नयाँ अनुहार कि पुरानै राजनीतिको अर्को संस्करण ?” भनेर हेर्ने कि नहेर्ने, त्यो भने अब मतपेटिकामै छिनोफानो हुने देखिन्छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button