बालेन्द्र साहलाई अघि बढाउन देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेका छन् : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विचार र सिद्धान्तभन्दा ‘स्टन्ट’ र प्रचारमुखी शैलीलाई बाह्य शक्तिले योजनाबद्ध रूपले प्रवर्द्धन गरिरहेको आरोप लगाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहलाई अघि बढाउन देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको पनि आरोप लगाए।

मंगलबार काठमाडौंमा चुरे भावर पार्टीसँग भएको एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिवेशमा ‘चर्चाका लागि मात्र’ गतिविधि बढ्दै गएको र यसको पृष्ठभूमिमा बाह्य हस्तक्षेप रहेको दाबी गरे। “विचार र सिद्धान्तभन्दा ‘स्टन्ट’को भरमा लोकप्रिय हुने प्रवृत्तिलाई बाह्य शक्तिले योजनाबद्ध रूपमा प्रयोग गरिरहेको छ,” उनले भने, “त्याग, तपस्या र बलिदानमा आधारित राजनीतिको सट्टा केवल चर्चाका लागि गरिने गतिविधिलाई प्रवर्द्धन गर्नु मुलुकका लागि चिन्ताजनक छ।”

प्रचण्डले वर्तमान समयमा वास्तविक भ्रष्टाचार विरोधी अभियान र सामाजिक न्यायका मुद्दा भन्दा पनि प्रचारमुखी शैलीलाई प्राथमिकता दिइँदै आएको टिप्पणी गरे। उनका अनुसार यस्ता गतिविधिलाई उचाल्न बाह्य शक्तिको सक्रिय भूमिका देखिन थालेको छ। उनले यसले राष्ट्रिय सुरक्षा र स्वायत्ततामा प्रत्यक्ष चुनौती देखेको पनि जनाए।

देश हाल विभिन्न राजनीतिक र सामाजिक संकटको घेरामा रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले छरिएर रहेका वाम तथा देशभक्त शक्तिहरूलाई एक ढिकामा आउन आह्वान गरे। उनले भने, “कम्युनिस्ट शक्तिहरूको एकताले मात्रै बाह्य हस्तक्षेप र प्रचारमुखी राजनीतिलाई चुनौती दिन सक्छ र देशलाई सही दिशामा अघि बढाउन सकिन्छ।”

मुलुकमा राष्ट्रिय शक्ति निर्माण गर्न र जनताको पक्षमा स्पष्ट राजनीतिक धार स्थापित गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताउँदै उनले इतिहासको सम्मान र राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई सुदृढ बनाउने उद्देश्यले आफूले कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण प्रक्रियालाई तीव्र बनाइरहेको जानकारी दिए।

चुरे भावर पार्टीसँगको एकता कार्यक्रम उनको यसै प्रयासको अंश हो। उनले देशलाई साम्राज्यवादी हस्तक्षेप र आन्तरिक विघटनकारी शक्तिबाट जोगाउन वाम गठबन्धन र देशभक्ति शक्तिलाई अझ सङ्गठित र दृढ बनाउने आवश्यकता रहेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button