नेपाल-चीन बैंकिङ सहकार्यमा नयाँ गतिको आशा
क्युआर कोडबाट भुक्तानी सहजीकरणमा सहमति

थिएनचीन : नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल र चिनियाँ केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाका गभर्नर फान कोङसङबीच भेटवार्ता सम्पन्न भएको छ। चीनको थिएनचीन सहरमा आयोजित बैंक फर सेटलमेन्ट्सको २० औं एसिया प्रशान्त उच्चस्तरीय बैठकको अवसरमा भएको भेटमा दुईतर्फ बीच सीमापार भुक्तानी, डिजिटल भुक्तानी सहजीकरण, लगानी तथा आर्थिक सहयोगका विषयमा छलफल भएको छ।
नेपाल राष्ट्र बैंकको प्रवक्ता भन्छन्, “भेटवार्ताको क्रममा दुई देशबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदानप्रदानका अवसर र चुनौतीबारे खुला छलफल भएको हो। नेपाली र चिनियाँ नागरिकले एक अर्काको मुलुकमा गर्ने भ्रमणको क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरणबारे पनि सहमति भएको छ।”
चिनियाँ पक्षले डिजिटल माध्यमबाट हुने भुक्तानीमा सहयोग आदानप्रदान र सहकार्यका लागि तयार रहेको सन्देश दिएको राष्ट्र बैंकले जनाएको छ। यसले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई अझै गतिशील बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
तथापि, चिनियाँ बैंकको शाखा नेपालमा खोल्ने विषयमा चुनौती रहेको पनि यस भेटमा उठेको छ। चिनियाँ लगानीकर्ता, बैंकर र सरकारी अधिकारीहरूले उपयुक्त कानुनी व्यवस्थाको अभावमा नेपालमा चिनियाँ बैंकको शाखा खोल्ने चाहनाले मूर्तरुप लिन नसकेको बताउँदै आएका छन्।
नेपाल राष्ट्र बैंकको नीति अनुसार, होलसेल बैंकिङ बाहेक रिटेल बैंकिङको व्यवस्था नगरेसम्म अन्य विदेशी बैंकका झैँ चिनियाँ बैंकका शाखा पनि नेपालमा खुल्ने सम्भावना सीमित नै रहने बताइएको छ।
गत अगष्टको अन्त्यमा थिएनचीनमा सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डल सहभागी भएपछि नेपाल-चीन आर्थिक सहयोगलाई थप गर्ने संदर्भमा यो भेटवार्तालाई महत्वपूर्ण मानिन्छ।
नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल नेतृत्वको तीन सदस्यीय टोली बैंकिङ क्षेत्रका वरिष्ठ अधिकारीहरूको रहेको छ।




