रणनीतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने चीन–उरुग्वे प्रतिबद्धता
विकास रणनीति समन्वयदेखि हरित र डिजिटल भविष्यसम्म सहकार्य विस्तार

बेइजिङ। चीन र उरुग्वेले विकास रणनीतिको समन्वय सुदृढ गर्दै अर्थ–व्यापार, वित्त, कृषि तथा पशुपालन, पूर्वाधार निर्माण र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) जस्ता क्षेत्रमा सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता जनाएका छन्। चीनका राष्ट्रपति सी जिनपिङले मंगलबार बेइजिङमा उरुग्वेको ओरिएन्टल गणतन्त्रका राष्ट्रपति यामान्दु ओर्सीसँग भएको औपचारिक वार्ताका क्रममा यो कुरा बताएका हुन्।
वार्ताका क्रममा राष्ट्रपति सीले हरित विकास, डिजिटल अर्थतन्त्र, कृत्रिम बौद्धिकता (एआई) र स्वच्छ ऊर्जाजस्ता उदीयमान क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी क्षेत्रहरूमा सहकार्य विस्तारले दुवै देशको आर्थिक वृद्धि र संरचनात्मक रूपान्तरणलाई गति दिने विश्वास व्यक्त गरे।
राष्ट्रपति ओर्सी आइतबार एक सातादेखि चल्ने राजकीय भ्रमणका लागि चीन आएका हुन्। सन् २०२६ मा चीन भ्रमण गर्ने उनी पहिलो ल्याटिन अमेरिकी नेता हुन्। उनको भ्रमण आयरल्यान्ड, दक्षिण कोरिया, क्यानडा, फिनल्यान्ड र बेलायतका नेताहरूको चीन भ्रमणपछि भएको हो।
वार्ताका क्रममा राष्ट्रपति सीले चीन–उरुग्वे कूटनीतिक सम्बन्ध स्थापना भएको ३८ वर्ष पूरा भएको स्मरण गराउँदै भने, “अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि दुवै देशले आपसी सम्मान र पारस्परिक लाभको आधारमा सम्बन्धलाई निरन्तर अघि बढाएका छन्।” उनले नयाँ परिस्थितिमा दुवै पक्षले आफ्नो परम्परागत मित्रतालाई निरन्तरता दिँदै समग्र रणनीतिक साझेदारीलाई अझ मजबुत र जीवन्त बनाउनु आवश्यक रहेको बताए।
सीले दुवै देशले एक–अर्काका मुख्य चासो र मूल हितलाई दृढतापूर्वक समर्थन गर्नुपर्ने, सबै तह र क्षेत्रका मैत्रीपूर्ण आदान–प्रदान विस्तार गर्नुपर्ने तथा शासन अनुभवको आदान–प्रदानमार्फत रणनीतिक आपसी विश्वासलाई निरन्तर गहिरो बनाउनुपर्नेमा जोड दिए।
उनले चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले १५औँ पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको उल्लेख गर्दै यसले आगामी पाँच वर्षका लागि चीनको विकासको खाका तय गरेको र यसबाट उरुग्वेसहित विश्वका सबै देशका लागि व्यापक अवसर सिर्जना हुने बताए।
चीन र उरुग्वेका जनताबीच प्राकृतिक आत्मीयता रहेको उल्लेख गर्दै राष्ट्रपति सीले संस्कृति, शिक्षा, खेलकुद, सञ्चार माध्यम र स्थानीय तहबीचको सहकार्यलाई थप सुदृढ गर्न तथा जनस्तरको आवत–जावत सहज बनाउँदै जन–जनबीचको मित्रता बलियो बनाउनुपर्ने धारणा राखे।
वर्तमान विश्व शताब्दीमै नदेखिएको गहिरो परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै सीले अन्तर्राष्ट्रिय परिवेश अस्थिरता र रूपान्तरणको मिश्रणले चिनिएको तथा एकपक्षीय दबाब र बलमिच्याइँ बढ्दै गएको बताए। उनले सन् २०२६ का लागि ‘ग्रुप अफ ७७ र चीन’को अध्यक्षता सम्हाल्न उरुग्वेलाई चीनको समर्थन रहने स्पष्ट पार्दै, विश्व दक्षिणका देशहरूबीच ऐक्यबद्धता मजबुत गर्न र समान, व्यवस्थित बहुध्रुवीय विश्व तथा समावेशी आर्थिक विश्वीकरण प्रवर्द्धन गर्न चीन उरुग्वेसँग मिलेर काम गर्न इच्छुक रहेको बताए।
चीनले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका देशहरूसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै राष्ट्रपति सीले ती देशहरूको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको संरक्षणमा चीनको समर्थन रहने दोहोर्याए। साथै, उनले उरुग्वेले ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रहरूको समुदाय (सेलाक) र मर्कोसुरको घुम्ती अध्यक्षता सम्हाल्ने कार्यमा चीनको समर्थन रहने र क्षेत्रीय देशहरूसँग मिलेर चीन–ल्याटिन अमेरिका साझा भविष्यको समुदाय निर्माणलाई अघि बढाइने बताए।
वार्तापछि दुवै राष्ट्रपतिले लगानी, व्यापारलगायत विभिन्न क्षेत्र समेटिएका १० भन्दा बढी सहकार्यसम्बन्धी दस्तावेजमा हस्ताक्षर भएको साक्षी बने, जसले चीन–उरुग्वे सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।




