पारस्परिक विश्वास र सहकार्यको बाटोमा अघि बढ्ने सन्देश
दुई किनाराबीच आवत–जावतदेखि एआई र पर्यटनसम्म सहकार्य विस्तारमा साझा धारणा

बेइजिङ। चीनको कम्युनिस्ट पार्टी (सीपीसी) र चिनियाँ कुओमिन्ताङ (केएमटी) पार्टीसँग आबद्ध अनुसन्धान संस्थाहरूको संयुक्त आयोजनामा मंगलबार बेइजिङमा सम्पन्न एक थिंक ट्यांक फोरमले दुई किनाराबीच (क्रस–स्ट्रेट) आदान–प्रदान र सहकार्य प्रवर्द्धनका लागि साझा धारणा सार्वजनिक गरेको छ। फोरममा प्रस्तुत १५ बुँदे साझा धारणा पाँच प्रमुख क्षेत्र समेटेर तयार गरिएको हो।
फोरममा सहभागीहरूले दुई किनाराबीचको सामान्य आवत–जावत तत्काल पुनःस्थापनाको आवश्यकता औंल्याउँदै डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) प्रशासनले लगाउँदै आएको व्यक्ति आदान–प्रदान सम्बन्धी प्रतिबन्ध हटाउन आह्वान गरेका छन्। साथै, समुद्री तथा हवाई यात्रु सेवाहरू पूर्ण रूपमा पुनःसञ्चालन गर्नुपर्नेमा उनीहरूको जोड थियो।
ताइवान ट्राभल एजेण्ट एसोसिएसनका अध्यक्ष याओ ता–क्वाङले पछिल्लो एक वर्षमा डीपीपी प्रशासनका प्रतिबन्धका बाबजुद पनि झण्डै ५० लाख टापुवासी चिनियाँ मुख्यभूमि पुगेको उल्लेख गर्दै जनस्तरको सम्पर्क अझै जीवित रहेको बताए। उनले आगामी दिनमा दुई किनाराबीचको आदान–प्रदान क्रमशः व्यवस्थित र नियमित बन्दै जाने, जसले जन–जनबीचको सम्पर्क बढाएर शान्तिपूर्ण विकासमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
ताइवान टुरिज्म इन्टरचेन्ज एसोसिएसनका संस्थापक अध्यक्ष लाइ सेह–जेनले व्यावहारिक र विवेकपूर्ण ढंगले दुई किनाराबीचको आदान–प्रदान अघि बढाउनुपर्ने धारणा राख्दै पर्यटनलाई सेतुका रूपमा प्रयोग गरी भविष्यका सकारात्मक सम्भावनाहरू खोल्न सकिने बताए।
उदीयमान उद्योगमा सहकार्य सुदृढ गर्ने विषयमा फोरमले “एआई प्लस म्यानुफ्याक्चरिङ” क्षेत्रमा नमूना परियोजनाहरू संयुक्त रूपमा विकास गर्ने र विश्वस्तरीय प्रभाव राख्ने एआई नवप्रवर्तन केन्द्र स्थापना गर्ने प्रस्ताव अघि सारेको छ। चीन सूचना तथा सञ्चार प्रविधि एकेडेमीअन्तर्गतको कृत्रिम बौद्धिकता अनुसन्धान संस्थानका विभाग निर्देशक सु शानका अनुसार चिनियाँ मुख्यभूमिसँग विशाल बजार, पूर्ण औद्योगिक शृंखला र बलियो नीतिगत समर्थन छ भने ताइवानसँग अत्याधुनिक सेमिकन्डक्टर उत्पादन र हार्डवेयर अनुसन्धान तथा विकासमा उत्कृष्ट क्षमता रहेको छ। यी दुवै पक्षका विशेषताहरू एक–अर्काका लागि अत्यन्तै पूरक र लाभदायी रहेको उनले बताए।
साझा धारणा पत्रमा स्वास्थ्य सेवा, वातावरण संरक्षण, विपद रोकथाम तथा न्यूनीकरणजस्ता क्षेत्रमा पनि दुई किनाराबीच सहकार्य र आदान–प्रदान विस्तार गर्ने प्रस्ताव समावेश गरिएको छ।
फोरमले ताइवान स्ट्रेटका दुवै किनाराका नागरिकलाई एकताबद्ध हुन, सन् १९९२ को सहमति कायम राख्न, ‘ताइवान स्वतन्त्रता’सम्बन्धी अलगाववादी गतिविधि र बाह्य हस्तक्षेपको विरोध गर्न तथा स्ट्रेट क्षेत्रमा शान्ति जोगाउन आह्वान गरेको छ।
“क्रस स्ट्रेट आदान–प्रदान र सहकार्यका सम्भावना” विषयक उक्त फोरममा सीपीसी र केएमटीका थिंक ट्यांक सदस्यहरू, पर्यटन, उद्योग, विज्ञान तथा प्रविधि, स्वास्थ्य सेवा र वातावरण संरक्षण लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा विज्ञसहित दुई किनाराबाट १०० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।




