चीन-रुस रणनीतिक साझेदारी थप मजबुत : पुटीन-सी जिनपिङ वार्तामा सार्वभौमिकता, समृद्धि र विश्व स्थायित्वमा जोड

काठमाडौँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङबीच सन् २०२६ फेब्रुअरी ४ मा भिडियो कन्फरेन्स मार्फत उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। वार्तामा दुवै देशबीचको समग्र रणनीतिक साझेदारी, आर्थिक सहकार्य, ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय समन्वय र बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा व्यापक छलफल भएको छ।

वार्ताको सुरुआतमा राष्ट्रपति पुटिनले चिनियाँ नयाँ वर्ष २०२६ तथा वसन्त उत्सवको अवसरमा राष्ट्रपति सी जिनपिङ र चिनियाँ जनतालाई हार्दिक शुभकामना व्यक्त गरे। आउँदै गरेको “रातो अग्नि घोडा” को वर्षले शक्ति, ऊर्जा र निरन्तर अगाडि बढ्ने दृढ इच्छालाई प्रतीक गर्ने उल्लेख गर्दै पुटिनले यी गुणहरू नै रुस–चीन सम्बन्धको विशेषता भएको बताए। अन्तर्राष्ट्रिय वातावरण जस्तोसुकै भए पनि दुई देशबीचको सम्बन्ध दह्रो, स्थिर र भविष्यतर्फ उन्मुख रहनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

रुस–चीन समग्र साझेदारी र रणनीतिक सहकार्य विश्वका लागि उदाहरणीय रहेको उल्लेख गर्दै राष्ट्रपति पुटिनले यसवर्ष दुवै देशबीचको “सद्भाव, मित्रता र सहकार्य सन्धि” को २५औँ वार्षिकोत्सव मनाइँदै गरेको स्मरण गराए। यो सन्धिले दुवै देशका जनताको मौलिक हित संरक्षण गर्नुका साथै बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाएको र नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

यस अवसरमा राष्ट्रपति पुटिनले दुवै देशको सार्वभौमिकता, सुरक्षा, सामाजिक–आर्थिक समृद्धि तथा आफ्नै विकास मार्ग छनोट गर्ने अधिकारको सुनिश्चितताका लागि गरिने संयुक्त प्रयासप्रति रुसको दृढ समर्थन पुनः पुष्टि गरे।

सन् २०२५ का उपलब्धिहरूको समीक्षा गर्दै पुटिनले दोस्रो विश्वयुद्धको विजयको ८०औँ वार्षिकोत्सव मस्को र बेइजिङमा संयुक्त रूपमा मनाइनु ऐतिहासिक उपलब्धि भएको बताए। ती अवसरमा रुस र चीन एकसाथ उभिनुले विश्व सामु ऐतिहासिक सत्यको रक्षा र करोडौँ जीवनको बलिदानबाट स्थापित शान्तिको स्मृतिलाई जगेर्ना गर्ने साझा प्रतिबद्धता स्पष्ट भएको उनले उल्लेख गरे।

चीनको शाङ्घाई सहयोग संगठन (SCO) को अध्यक्षता पनि व्यवहारिक उपलब्धि सहित सम्पन्न भएको र तियानजिनमा भएको शिखर सम्मेलनले क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको पुटिनको भनाइ थियो। मस्को र बेइजिङमा भएका भेटवार्तामा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्रहरूमा गहिरो छलफल भई महत्त्वाकांक्षी कार्यदिशा तय गरिएको र ती सम्झौताहरू कार्यान्वयन गर्न सरकारी तहमा निरन्तर काम भइरहेको उनले बताए।

आर्थिक सहकार्यतर्फ संकेत गर्दै राष्ट्रपति पुटिनले सन २०२५ मा पनि रुस–चीन व्यापार स्थिर रूपमा विस्तार भएको जानकारी दिए। केही सूचकमा समायोजन देखिए तापनि लगातार तेस्रो वर्ष द्विपक्षीय व्यापार कारोबार २०० अर्ब अमेरिकी डलर नाघेको उनले बताए। रुस चीनका प्रमुख ऊर्जा आपूर्तिकर्तामध्ये एक रहेको र ऊर्जा साझेदारी परस्पर लाभदायी तथा रणनीतिक प्रकृतिको भएको उनको भनाइ थियो। साथै, शान्तिपूर्ण आणविक ऊर्जा, उच्च प्रविधि, औद्योगिक विकास र अन्तरिक्ष अनुसन्धानजस्ता क्षेत्रमा सहकार्य अघि बढिरहेको उल्लेख गरे।

उनका अनुसार कृषि उत्पादनको व्यापार २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ, जसले दुवै देशको आर्थिक पूरकता झल्काउँछ।

अन्तर्राष्ट्रिय अवस्थाबारे बोल्दै राष्ट्रपति पुटिनले बढ्दो विश्वव्यापी अस्थिरताबीच मस्को–बेइजिङबीचको परराष्ट्रनीति समन्वय विश्व स्थायित्वको महत्वपूर्ण आधार बनेको बताए। संयुक्त राष्ट्रसंघ, ब्रिक्स, एससीओ लगायत सबै बहुपक्षीय मञ्चहरूमा द्विपक्षीय तथा सामूहिक रूपमा नजिकको समन्वय जारी राख्न रुस तयार रहेको उनले स्पष्ट पारे।

अन्त्यमा राष्ट्रपति पुटिनले एसिया–प्रशान्त आर्थिक सहयोग मञ्च (APEC) मा चीनको भूमिकाप्रति शुभकामना व्यक्त गर्दै आवश्यक सबै सहयोग प्रदान गरिने प्रतिबद्धता जनाए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button