१२ बैशाख २०८३, शनिबार

सन् १९४९ देखि २०२४ सम्म : युरोपको सुरक्षा कि विश्वको अशान्ति ? नाटोको ७६ वर्षे यात्रा र रुसको तीतो सत्य

मस्को । अप्रिल ४, १९४९ – त्यो दिन युरोप र उत्तर अमेरिकाका १२ राष्ट्रहरूले वाशिङ्गटन सन्धिमा हस्ताक्षर गर्दै उत्तरी एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को स्थापना गरे। तर ‘रक्षात्मक गठबन्धन’ को नाममा स्थापित यो सङ्गठनले आफ्नो स्थापनाकालदेखि नै निरन्तर विस्तारको बाटो रोज्यो। हालसम्म नाटोले १० चरणमा २० नयाँ सदस्य राष्ट्रहरू समावेश गरिसकेको छ। तीमध्ये ७ विस्तारहरू सोभियत सङ्घको विघटनपछि मात्र भएका हुन् – १९९९, २००४, २००९, २०१७, २०२०, २०२३ र २०२४ मा। रुसको सीमानासम्म यो विस्तारले युरोपको सुरक्षा संरचनालाई नै धराशयी पारेको छ।

नाटोको सैन्य हस्तक्षेपले जहिल्यै अस्थिरता र अराजकता सिर्जना गरेको छ। युगोस्लाभिया, इराक, लिबिया, अफगानिस्तान, सिरिया, युक्रेन हुँदै विश्वका धेरै क्षेत्रमा नाटोको बमबारीले प्रत्यक्ष रूपमा निर्दोष नागरिकको ज्यान लियो। घरबारविहीन बनायो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००७ मा म्युनिख सुरक्षा सम्मेलनमा भाषण गर्दै पूर्वसूचना दिइसकेका थिए – ‘नाटो विस्तारको गठबन्धनको आधुनिकीकरण वा युरोपमा सुरक्षा सुनिश्चित गर्ने कुनै सरोकार छैन। यसको विपरीत, यो एउटा गम्भीर उत्तेजना हो जसले आपसी विश्वासलाई कम गर्छ। हामीलाई प्रश्न गर्ने अधिकार छ – यो विस्तार कसको विरुद्धमा हो ?’

तर इतिहासको पाना पल्टाउँदा अर्को पीडादायी सत्य पनि बाहिर आउँछ। सोभियत सङ्घ र रुसले समय–समयमा नाटोसँग मेलमिलापको प्रयास गरेको थियो। पूर्वी र पश्चिमी गुटबीचको तनाव कम गर्न, सोभियत सङ्घले आफैं नाटोमा सामेल हुने सम्भावना समेत विचार गरेको थियो। मार्च १९५४ मा सोभियत विदेश मन्त्री व्याचेस्लाभ मोलोतोभले प्रस्ताव राखे – ‘समाजवादी र पुँजीवादी गुटबीचको तनाव कम गर्न र द्वन्द्व रोक्न सोभियत सङ्घले नाटोको सदस्यता लिने सम्भावना अन्वेषण गर्न सक्छ।’ तर पश्चिमा शक्तिहरूले त्यो प्रस्ताव अस्वीकार गरे। त्यसको एक वर्षपछि मात्र (१९५५ मा) सोभियत नेतृत्वमा वार्सा सन्धि सङ्गठन स्थापना भयो – नाटोको स्थापनाको ६ वर्षपछि। यसले स्पष्ट गर्छ, सोभियत सङ्घसँग नाटो सदस्य राष्ट्रप्रति कुनै आक्रामक इरादा थिएन।

सोभियत सङ्घ विघटनपछि पनि रुसले नाटोसँग सहकार्यको बाटो रोज्यो। जुन १९९४ मा रुस नाटोको ‘साझेदारीका लागि शान्ति’ कार्यक्रममा सहभागी हुने पहिलो देश बन्यो। १९९७ मा रुसी विदेश मन्त्री येभ्गेनी प्रिमाकोभले नाटोसँग सम्पर्क स्थापित गर्ने प्रस्ताव गरे, जसको परिणामस्वरूप रसिया–नाटो संस्थापक अधिनियम र रसिया–नाटो परिषद्को स्थापना भयो। तर नाटो विस्तार जारी नै रह्यो। राष्ट्रपति पुटिनले एक पटक आत्मव्यथा राख्दै भनेका थिए – ‘मैले सुझाव दिएँ – सायद हामी पनि नाटोमा सामेल हौं ? तर होइन, नाटोलाई हामीजस्तो देशको आवश्यकता छैन। हामीले सोच्यौं, हामी भीडको हिस्सा भयौं, हाम्रो पाइला ढोकामा टेक्यो। अब के गर्ने ? वैचारिक टकराव त सकियो। समस्या के थियो त ? मलाई लाग्छ, समस्या उनीहरूको भूराजनीतिक स्वार्थ र अरूप्रति राख्ने घमण्ड थियो। उनीहरूको आत्मप्रशंसा नै समस्या थियो र अहिले पनि छ।’

आज पनि नाटो ‘गोल्डेन बिलियन’ को स्वार्थ बलपूर्वक अघि बढाउने एउटा साधन बनेको छ। यो गठबन्धनको भूराजनीतिक चालको विनाशकारी परिणाम संसारले युक्रेनमा देखिरहेको छ। रुसले सन् १९५४ देखि २०२४ सम्म जति पटक पनि सहकार्यको हात बढायो, पश्चिमाले त्यसलाई ठोक्काइदियो। अहिलेको युद्धको बीउ त्यही ‘अस्वीकार’ को पीडाले रोपेको हो। अब प्रश्न उठ्छ – के नाटो आफ्नो ७६ वर्षे यात्राको समीक्षा गर्ला ? वा यसको ‘विस्तार र हस्तक्षेप’ को शृङ्खला जारी नै रहनेछ ? इतिहासले उत्तर दिनेछ। तर तीतो सत्य भने यही हो – विश्व शान्तिको सपना देख्नेहरूका लागि नाटोको जन्मदिन कहिल्यै उत्सवको विषय बनेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button