बन्दको पूर्वसन्ध्यामा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। भक्तपुरस्थित निजी निवासबाट प्रहरी टोलीले उनलाई केहीबेर अघि आजै साँझ नियन्त्रणमा लिएको हो।
भक्तपुर मध्यपुर थिमि नगरपालिका–६ कमेरोटारस्थित निवासमा बसेका प्रसाईंलाई भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सूर्यबहादुर खड्का, प्रहरी वृत्त थिमीबाट डिएसपी नवराज ढुङ्गाना र प्रहरी परिसर काठमाडौंबाट इन्स्पेक्टर कृष्ण श्रेष्ठको संयुक्त टोलीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ।
प्रसाईंको पक्राउ यस्तो बेला भएको छ, जब धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले बैध्य समूहसहितको समर्थनमा भोलि नेपाल बन्द आह्वान गरेको छ। प्रसाईं पनि यसअघि राजसंस्था पुनर्स्थापनाको मुद्दा उठाउँदै आएका नेता हुन्।
यसअघि प्रसाईंको अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भेला आयोजना गरेको थियो। त्यस क्रममा प्रशासनको रोक तोकको उल्लङ्घन गर्दै राजतन्त्र पुनर्स्थापनाको नारा लगाइएको थियो। प्रसाईं आफैं पूर्वराजालाई स्वागत गर्न विमानस्थल परिसरभित्र प्रवेश गरेका थिए।
प्रसाईं यसअघि पनि धेरैपटक पक्राउ परिसकेका छन्। गत फेब्रुअरी ६ मा उनी काठमाडौंको चोभारबाट निर्वाचनविरोधी अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका थिए। दुई दिनपछि धरौटीमा रिहा भएका थिए। यसअघि जनवरी १९ मा पनि पोखरामा पक्राउ परेका उनी भोलिपल्टै धरौटीमा रिहा भएका थिए।
प्रसाईंले २०८१ चैत १५ मा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै टिङ्कुनेमा गराएको प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो। त्यसपछि उनी भारत भागेका थिए र पक्राउ गरेर नेपाल ल्याइएको थियो।





