‘फागुन २१ चुनाव पश्चिमी सफ्ट कूको नतिजा, नेपाल नवउपनिवेशीकरणको शिकार’ : देवप्रसाद गुरुङ

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता देवप्रसाद गुरुङले फागुन २१ गते सम्पन्न निर्वाचन पश्चिमा शक्ति केन्द्रहरूद्वारा प्रायोजित सफ्ट कू (शान्तिपूर्ण सत्तापलट) को परिणाम भएको आरोप लगाएका छन्। उनले यो निर्वाचन कुनै अप्रत्याशित घटना नभई ६/७ वर्षदेखि नियमित रूपमा नेपाली दलालहरूलाई प्रयोग गरी नवउपनिवेशीकरण गरिएको जीवन्त उदाहरण भएको टिप्पणी गरेका छन्।
नेता गुरुङले पुराना तीन दलले अमेरिकी सैन्य सम्झौता (एसपीपी) अस्वीकार गरेपछि २०७४ भदौ २३ र २४ मा मच्चाइएको तत्कालीन ‘मधेस केन्द्रित विद्रोह’ त्यसैको प्रतिक्रिया भएको दाबी गरे। उनका अनुसार त्यतिबेला विद्रोहको नाममा प्रायोजित विध्वंश मच्चाएर राष्ट्रपति र सेनापतिलाई प्रयोग गरी संविधान खारेज गर्ने र संकटकाल लागू गर्ने प्रयास भएको थियो।
‘संकटकाल लागू भएको भए संयुक्त राष्ट्र संघको व्यानरमा बहुराष्ट्रिय सेनाको नाममा अमेरिकी सेना भित्र्याउने योजना थियो,’ गुरुङले भने, ‘तर राष्ट्रपति र सेनापति सहमत नभएपछि त्यो प्रयास असफल भयो।’
उनका अनुसार सो योजना असफल भएपछि पश्चिमा शक्ति केन्द्रहरूले सन् २०१९ को युक्रेन मोडेललाई नेपालमा लागू गर्ने रणनीति बनाए। त्यसको परिणाम स्वरूप फागुन २१ को प्रायोजित निर्वाचन भएको र त्यसबाट पुराना तीन दललाई विस्थापित गर्ने तथा रवि लामिछाने (वालेन) लाई दोस्रो जेलेन्स्कीको रूपमा स्थापित गर्ने षड्यन्त्र सफल भएको उनको आरोप छ।
‘प्रायोजित निर्वाचनबाट सोही अनुरूपको परिणाम आइरहेको छ। वालेनलाई प्रधानमन्त्री बनाएर अमेरिकी सैन्य सम्झौता (एसपीपी) लागू गर्ने र विदेशी सेना भित्र्याउने उद्देश्य अहिले खुलस्त रूपमा देखिएको छ,’ नेता गुरुङले भने।
उनले यो सम्पूर्ण घटनाक्रम पश्चिमा शक्ति केन्द्रहरूद्वारा नेपाली दलालहरूलाई प्रयोग गरी ६/७ वर्षदेखि नियमित रूपमा सञ्चालित सफ्ट कूको प्रक्रिया भएको दाबी गरे। नेपाली कम्युनिष्ट पार्टीका नेताले यस विरुद्ध सचेत रहन र राष्ट्रियता बचाउन सम्पूर्ण नेपालीमा आह्वान समेत गरेका छन्।





