जनमतको सम्मान गर्दै जनसेवाको व्रत कायमै : माधव नेपाल

रौतहट, – यसपटकको रौतहट जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा जनताको चाहना अनुकूल परिणाम नआए पनि लोकतन्त्रमा जनमत नै सर्वोपरि हुने दृढ विश्वासका साथ त्यसलाई शिरोपर गरिएको छ। वरिष्ठ नेता माधव कुमार नेपालले आइतबार एक वक्तव्य जारी गर्दै निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गरेका छन्।
विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालले आफूलाई तारा चिन्हमा मतदान गरी विश्वास जनाउने सम्पूर्ण मतदाता दाजुभाइ, दिदीबहिनी एवं चुनावी अभियानमा दिनरात खट्ने पार्टीका सबै साथीहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्।
राजनीतिमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै नेता नेपालले मतले हारजित भएपनि जनताको सेवा गर्ने प्रतिबद्धता कहिल्यै नहार्ने स्पष्ट पारेका छन्। उनले अब आफ्नो भूमिका रचनात्मक प्रतिपक्षको हुने जनाउँदै जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार प्राप्ति, भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्दै सुसंस्कृत एवम समृद्ध समाज निर्माणका लागि समाज र राजनीतिमा विद्यमान सबै विकृति-विसंगति विरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘जनताको विश्वास, माया र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो,’ भन्दै उनले बाँकी जीवन पनि जनताकै सेवा, हित र समृद्ध तथा गौरव गर्न लायक रौतहट र नेपाल राष्ट्रको निर्माणमा समर्पित गरी सामाजिक रूपान्तरणको अभियानमा निरन्तर लागिरहने उद्घोष गरेका छन्।





