निर्वाचन खारेजीको मागसहित नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

काठमाडौं । निर्वाचन बहिष्कार गर्दै आएको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी फागुन ५ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ। पार्टीले आज एक सूचना जारी गर्दै सर्वपक्षीय सरकार गठनको मागसहित बन्दको आह्वान गरेको हो।

पार्टीद्वारा जारी पत्रमा भनिएको छ, “साम्राज्यवादी डिजाइन अन्तर्गत फागुन २१ गते हुन गइरहेको कथित निर्वाचन खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेपका विरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न र स्वाधीन संयुक्त सरकार स्थापनाको बाटोमा अघि बढ्न यही फागुन ५ गते हाम्रो पार्टीले नेपाल बन्दको आयोजना गरेको जानकारी गराउन चाहन्छौँ।”

पार्टीले नेपाल बन्द गर्नुका अन्य कारणहरू पनि बुँदागत रूपमा प्रस्तुत गरेको छ। जसमा जनसंविधान निर्माण गर्न, भ्रष्टाचार र कालोबजारी अन्त्य गर्न, युवाहरूलाई स्वदेशमै रोकेर रोजगारीको सिर्जना गर्न, भूमिहीनहरूलाई जमिनको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य र यातायात निःशुल्क गर्न लगायतका मागहरू समावेश छन्।

उल्लेखनीय छ, नेकपा (बहुमत) ले लामो समयदेखि निर्वाचन बहिष्कार गर्दै आएको छ र विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पार्टीले आफ्नो मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएको छ।

यस बन्दको घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको छ भने सर्वसाधारणमा समेत आन्दोलनको प्रभाव के पर्ने हो भन्ने चासो व्यक्त गरिएको छ। यसैबीच प्रहरीले दुर्गा प्रसाईंलाई उनको निवासबाट पक्राउ गरिसकेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button