निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं पुनः पक्राउ, समर्थकहरू आक्रोशित

काठमाडौं, फागुन ५: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका अध्यक्ष दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। भक्तपुरस्थित उनको निवासमा हिजो राति करिब ९ बजे प्रहरी पुगेर उनलाई नियन्त्रणमा लिएको हो।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको आरोपमा पक्राउ गर्न आदेश दिएपछि प्रहरी उनको घरमा पुगेको थियो। आयोग स्रोतका अनुसार प्रसाईंमाथि आचारसंहिता विपरित भ्रम फैलाएको कसूर लगाइएको छ। यसअघि पनि सोही आरोपमा उनलाई पक्राउ गर्न आदेश दिइएको थियो, तर त्यतिबेला भने पक्राउ परेनन्।
प्रसाईंको पक्राउ यस्तो बेला भएको छ, जब धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले आज नेपाल बन्द घोषणा गरेको छ। बन्दको पूर्वसन्ध्यामा उनी पक्राउ परेपछि उनका समर्थकहरूमा तीव्र आक्रोश देखिएको छ। प्रसाईंले आफ्ना माग पूरा नभए फागुन ७ गतेदेखि अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएका थिए। आयोग स्रोतका अनुसार सोही चेतावनीपछि उनलाई पक्राउ गरिएको हो।
यता प्रसाईंको अभियानका एक नेताले भने निर्वाचन आयोगले आचारसंहिता विपरित कार्य गरेको अभियोग लागेका अन्य कतिपयलाई भने कारबाही नगरेको आरोप लगाएका छन्। उनले भने, ‘सिंहदरबार किन जलाइयो, सर्वोच्च किन जलाइयो र संसद भवन किन जलाइयो भन्ने प्रश्न गर्ने व्यक्ति अहिले नेपालमा दुर्गा प्रसाईं एक्लै हुन्। अरु सबै दुलाभित्र पसिसकेका छन्। उनको गतिविधि बढेमा चुनाव रोकिने आकलन सरकार र सरकारलाई धाप मार्ने शक्तिले गरेपछि हाम्रा संयोजक पक्राउ पर्नुभएको हो।’
प्रसाईंलाई पक्राउ गरेकोमा उनका समर्थकहरूले आजको बन्दलाई थप प्रभावकारी बनाउने चेतावनी दिएका छन्। उता प्रहरीले भने प्रसाईंलाई आवश्यक कानुनी प्रक्रिया पुर्याएर म्याद थप गरी अनुसन्धान अघि बढाउने जनाएको छ।
निर्वाचन आयोगले भने आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। प्रसाईंको पक्राउले चुनावी सन्दर्भमा थप तनाव सिर्जना गरेको छ, भने राजनीतिक दलहरूले भने यसलाई आ–आफ्नो ढंगले व्याख्या गरिरहेका छन्।





