निर्वाचनको मुखमा भारतीय राजदूतसँग रवि लामिछानेको भेट : अर्थपूर्ण संकेत वा संयोग?

काठमाडौं, फागुन ५: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा र लामिछानेविरुद्ध अदालतमा विचाराधीन मुद्दाको संवेदनशील अवस्थामा भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण दृष्टिले हेरिएको छ।
काठमाडौं जिल्ला अदालतमा तारेख बुझेर निस्किए लगत्तै लामिछाने सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगेका थिए। घाम ढल्किन लागेको समयमा होटल प्रवेश गरेका उनी भारतीय राजदूतसँग करिब एक घण्टा भेटवार्ता गरी साँझ साढे ५ बजे होटलबाट बाहिरिएको स्रोतले जनाएको छ। भेटपछि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्, त्यहाँबाट उनी धनगढीका लागि प्रस्थान गरेको रास्वपा स्रोतले बताएको छ।
यो भेट यस्तो समयमा भएको हो, जतिखेर लामिछानेविरुद्ध अदालतमा सम्पत्ति शुद्धीकरण तथा संगठित ठगीको मुद्दा विचाराधीन छ। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको प्रयास असफल झैं देखिएको छ। अदालतले उनलाई पटक–पटक उपस्थित हुन आदेश दिँदै आएको छ र मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढिरहेको छ।
यसअघि गत वर्ष सेप्टेम्बरमा पनि भारतीय राजदूत श्रीवास्तवले रास्वपा केन्द्रीय कार्यालय बानेश्वर पुगेर लामिछानेसँग भेटवार्ता गरेका थिए। त्यस क्रममा द्विपक्षीय सहायता र पारस्परिक हितका विषयमा छलफल भएको रास्वपाले जनाएको थियो। लामिछानेले नेपाल–भारत सम्बन्ध अझ सुदृढ गर्नुपर्ने र आपसी चासोका विषय वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएको बताइएको थियो।
फागुन २१ गते हुन लागेको निर्वाचन नजिकिँदै गर्दा भएको यो भेटले विभिन्न अड्कलबाजी र टीकाटिप्पणीलाई जन्म दिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार मुद्दाको संवेदनशील अवस्था र निर्वाचनको सन्दर्भमा भारतीय राजदूतसँगको भेटलाई सामान्य रूपमा लिन नसकिने बताउँछन्। यद्यपि, भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
लामिछानेले आज अदालतमा उपस्थित भई तारेख बुझेपछि राजदूतसँग भेट गर्नु र त्यसलगत्तै धनगढी प्रस्थान गर्नुले उनको व्यस्तता र निर्वाचन अभियानलाई निरन्तरता दिने संकेत गरेको छ। रास्वपाले निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी दिएको र नयाँ पुस्ताको उत्साहजनक साथ पाएको दाबी गर्दै आएको छ।
भारतीय राजदूतसँगको भेटका सम्बन्धमा रास्वपाका प्रवक्ताले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। यो भेट नियमित कूटनीतिक भेटवार्ताको क्रममा भएको हुनसक्ने र यसलाई अन्यथा अर्थ्याउन नहुने पार्टीका एक केन्द्रीय सदस्यले नाम नखुलाउने सर्तमा बताए।
यसैबीच, लामिछानेको धनगढी भ्रमणलाई निर्वाचन अभियानसँग जोडेर हेरिएको छ। उनले त्यहाँ चुनावी सभा तथा कार्यकर्ता भेटघाटको कार्यक्रम रहेको बताइएको छ। निर्वाचनको अन्तिम चरणमा पुग्दा प्रमुख दलका शीर्ष नेताहरूले विभिन्न जिल्लामा चुनावी सभा गरिरहेका छन्।





