तीनकुनेमा टायर बाल्दै प्रसाईंको रिहाईको माग, न्यायिक प्रक्रियामा रिट दर्ता

काठमाडौं / काठमाडौंको तीनकुने क्षेत्रमा मंगलबार साँझ दुर्गा प्रसाईंका समर्थकहरूले उनको रिहाईको माग गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा समर्थकहरूले सडकमा टायर बाल्नुका साथै प्रसाईंलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनमाथि दबाब सिर्जना गर्ने प्रयास गरेका थिए।

हिजो राति पक्राउ परेका प्रसाईंलाई निर्वाचन आयोगको पत्रका आधारमा निर्वाचन आचारसंहिता विपरित कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले थप चार दिन हिरासतमा राख्न अनुमति पाएको छ। प्रहरी स्रोतका अनुसार, उनलाई आवश्यक अनुसन्धानपछि मात्रै छाड्ने तयारी छ।

यता, प्रसाईंका कानुन व्यवसायीहरूले उनको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेका छन्। उक्त रिट आज दर्ता भएको हो, तर भोलि र पर्सि सार्वजनिक बिदा परेकाले अदालतले शुक्रबार मात्रै यस विषयमा सुनुवाइ गर्ने सम्भावना छ।

प्रदर्शनकारीहरूले प्रसाईंमाथि लगाइएको आरोप राजनीतिक प्रतिशोध भएको दाबी गर्दै उनको रिहाईको माग गरेका छन्। अहिले तीनकुने क्षेत्रमा प्रहरी परिचालन बढाइएको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button