रुसी हाउसमा छात्रवृत्ति प्रतिस्पर्धा, ८२ जनाको आज अन्तर्वार्ता

काठमाडौं, १७ फेब्रुअरी । रसियाली सरकारले नेपाली विद्यार्थीहरूका लागि प्रदान गर्ने सन् २०२६/२७ को छात्रवृत्तिका लागि आज रुसी हाउस काठमाडौंमा प्रतिस्पर्धात्मक अन्तर्वार्ता सञ्चालन भइरहेको छ। यस वर्ष रुसी उच्च शिक्षाप्रति नेपाली विद्यार्थीहरूको बढ्दो आकर्षणलाई दर्शाउँदै १९७ जनाले आवेदन दिएको रुसी हाउसले जनाएको छ।
आजको प्रत्यक्ष अन्तर्वार्तामा ८२ जना विद्यार्थीहरू सहभागी भइरहेका छन् भने बाँकी ११५ जनाको फेब्रुअरी २० मा अनलाइन माध्यमबाट अन्तर्वार्ता लिइने तय छ। स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका लागि सञ्चालन गरिएको यस अन्तर्वार्ताले सबैभन्दा प्रेरित र तयारी भएका विद्यार्थीहरूको छनोट गर्ने उद्देश्य राखेको छ।
छनोट भएका विद्यार्थीहरूले रुसका प्रतिष्ठित विश्वविद्यालयहरूमा चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, पर्यटनलगायत विविध विधामा अध्ययन गर्न पाउनेछन्। रसियाली सरकारले उपलब्ध गराएको यो छात्रवृत्तिले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय तथा पूर्णरूपमा निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नुका साथै नेपाल र रसियाबीचको सांस्कृतिक तथा शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।






