बालेनको मौनता : ओलीको राष्ट्रवादी नेतृत्वको परीक्षा वा राजनीतिक भागदौड ?

काठमाडौं / प्रधानमन्त्रीका दाबेदार एवं राष्ट्रवादी नेता केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच खुला बहसको माग तीव्र बन्दै गइरहेका बेला बालेनले ओलीको चुनौती औपचारिक रूपमै अस्वीकार गरेका छन्। बहसबाट पछि हट्दै उनले २३ भदौको जेन–जीकाे नामबाट भएको हिंसात्मक र विध्वंसात्मक काण्डलाई स्मरण गरेका छन्। एक यस्तो घटना जसले आज पनि राष्ट्रिय राजनीतिमा गहिरो प्रश्नहरू उब्जाइरहेको छ। जसमा उनको संलग्नता, समर्थन वा योजनाकार भएको आशंका जनस्तरमा ब्याप्त छ। यसरी बहसबाट पन्छिनुले बालेनको नेतृत्व क्षमतामाथि नै प्रश्न खडा गरेको छ।
देशका तीन प्रमुख दलले आ–आफ्ना तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार अघि सारेका छन्। यसपटकको प्रतिस्पर्धामा राष्ट्रवादको अभिभावक केपी ओली, बालेन साह र गगन थापा मुख्य केन्द्रविन्दुमा देखिएका छन्। पटक–पटक प्रधानमन्त्री भइसकेका र राष्ट्रिय एकता तथा सार्वभौमसत्ताको पक्षमा कटिबद्ध ओलीले बहसका लागि खुलेआम ललकार्दा आधा उमेरका बालेनले भने मौन रणनीति रोजेका छन्। “२३ भदौको घटना कसैले बिर्सन सक्दैन,” भन्ने उनको टिप्पणीले बहसलाई अर्को दिशातर्फ मोड्ने प्रयास गरेको छ, तर यसले उनको राजनीतिक भागदौडलाई भने ढाक्न सकेको छैन।
बहस हुन सकेको भए ओलीको राष्ट्रवादी नेतृत्व र उनले गरेका विकास निर्माणका कामबारे जनताले प्रत्यक्ष जानकारी पाउने थिए। ओलीकै पालामा भएका ऐतिहासिक उपलब्धिहरू जस्तै राष्ट्रिय गौरवका आयोजनाहरूको सफल कार्यान्वयन, सीमा सुरक्षामा देखाइएको कठोरता, र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको स्वाभिमानपूर्ण उपस्थिति, बहस मार्फत जनतासम्म पुग्ने अवसर थियो। तर, बालेनको मौनताले जनतालाई ओलीको योगदानसँग तुलना गर्ने अवसरबाट वञ्चित गरेको छ।
बहस अस्वीकार गर्नुले बालेनका धेरै कमजोरी पनि उजागर भएका छन्। काठमाडौं महानगरमा उनले सरसफाइ र शिक्षा क्षेत्रमा केही सुधारात्मक पहल गरेको देखिए पनि ठोस उपलब्धि भने सीमित छन्। करिब २६ अर्ब रुपैयाँको बजेट हुँदाहुँदै पुँजीगत खर्च ५० प्रतिशत पनि पु¥याउन नसक्नु, फोहोरबाट मल र ग्यास उत्पादन गर्ने प्रतिबद्धता अलपत्र पर्नु, २४ भदौको घटनामा दमकल समेत प्रभावकारी रूपमा परिचालन हुन नसक्नुजस्ता विषयले उनको प्रशासनिक क्षमता र नियतमाथि प्रश्न उठाइरहेका छन्। यस्तो अवस्थामा ओलीजस्तो अनुभवी राष्ट्रिय नेतासँंग बहसमा उत्रनु उनका लागि जोखिमपूर्ण हुन सक्ने देखिन्छ।
देशको समग्र अवस्था पनि चुनौतीपूर्ण छ। लाखौं युवा रोजगारीको खोजीमा विदेशिएका छन्, सहकारी ठगी प्रकरणले सर्वसाधारण आक्रोशित छन्, अर्थतन्त्र दबाबमा छ। यस्तो संवेदनशील परिवेशमा आउँदो चुनाव केवल सरकार परिवर्तनको अभ्यास मात्र होइन राष्ट्रिय दिशा, स्थायित्व र विश्वास पुनःस्थापनाको अवसर पनि हो। यस सन्दर्भमा राष्ट्रवादी नेतृत्व ओलीसँग देशलाई संकटबाट निकालेर नयाँ उचाइमा पु¥याउने दूरदृष्टि र अनुभव दुवै छ।
बहस अस्वीकार गर्दैमा ओलीको राष्ट्रवादी नेतृत्व र योगदानलाई कम आँक्न सकिँदैन। उल्टै, यसले बालेनको राजनीतिक परिपक्वता र नेतृत्व क्षमतामाथि प्रश्न खडा गरेको छ। प्रधानमन्त्रीको आकांक्षा राख्ने व्यक्तिले जनताका प्रश्नको जवाफ दिन तयार नहुनुले उनको राजनीतिक भविष्यबारे पनि शंका पैदा गरेको छ।
अन्ततः, एउटा प्रश्न भने अनुत्तरित छ, ओलीको राष्ट्रवादी चुनौती र बालेनको मौनताबीच नेपाली जनताले कसको नेतृत्वमा भविस्य सुरक्षित देख्छन्? यही प्रश्नको उत्तरले आगामी राजनीतिक अध्याय निर्धारण गर्नेछ। तर, बालेनको यो मौनताले ओलीको राष्ट्रवादी नेतृत्व नै देशको आवश्यकता हो भन्ने जनधारणालाई अझ बलियो बनाएको छ।





