श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाहद्वारा व्यवस्था परिवर्तनको आह्वान : ‘खराब पक्ष बोकेको व्यवस्था फ्याँक्नुपर्छ’

काठमाडौं / ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार जारी गरिएको भिडियो सन्देशमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै देशलाई दिशाहीन बनाएको व्यवस्थाका खराब पक्षलाई निर्मूल पार्नुपर्नेमा जोड दिनुभएको छ।

देश अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ। जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई हटाउनु र फ्याँक्नुपर्छ।’ राजतन्त्रप्रति मोहभन्दा पनि राष्ट्रका लागि हानिकारक पक्षलाई हटाउनुपर्ने आवश्यकतामा उहाँले प्रकाश पार्नुभयो।

प्रजातन्त्रको मूल मर्म आवधिक निर्वाचन नै भए पनि वर्तमान विषम परिस्थितिमा निर्वाचनको औचित्यमाथि प्रश्न उठाउँदै राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय समस्या समाधान नगरी चुनावमा हतार गर्न नहुने धारणा राख्नुभयो। ‘मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने, निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो,’ उहाँको सन्देशमा उल्लेख छ।

‘आलोपालो र भाग लगाएर खाऔँ’ भन्ने मानसिकताले देश नबन्ने स्पष्ट पार्दै उहाँले अधिकारको राजनीतिमा मात्र केन्द्रित भएर कर्तव्य भुल्ने प्रवृत्ति मौलाएको चिन्ता व्यक्त गर्नुभयो। ‘बाध्यात्मक व्यवस्थाको जञ्जिर’मा देश बाँधिएको टिप्पणी गर्दै उहाँले अरूको भरमा परेर अक्करमा नपर्न राजनीतिक नेतृत्वलाई सचेत गराउनु भएको छ।

विगतका आन्दोलन र संघर्षले ल्याएका परिवर्तनले देश र जनतालाई के दियो भन्ने आत्मसमीक्षाको घडी आएको बताउँदै उहाँले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेको उल्लेख गर्नुभयो। ‘एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिको अन्त्य हुनुपर्छ,’ उहाँले भन्नुभयो।

झापा बसाइपछि काठमाडौँ फर्किने क्रममा स्थानीय बासिन्दा र जनताबाट प्राप्त स्नेह र समर्थनले आफूलाई राष्ट्रप्रति थप जिम्मेवार बनाएको स्मरण गर्दै उहाँले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औंल्याउनु भयो।

प्रजातन्त्र दिवसको सन्दर्भमा उहाँले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने जिजुबुवा राजा त्रिभुवन र ज्ञात–अज्ञात शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै विश्वसामु नेपालीको शिर उच्च हुने व्यवस्थाको पक्षमा दृढता व्यक्त गर्नुभयो। साथै, उहाँले सम्पूर्ण नेपालीमा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button