शहीदको सपना साकार पार्न समृद्ध नेपालको बाटोमा अघि बढौं : ओली

काठमाडौं, फागुन ७ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले आजको दिनलाई नेपाली इतिहासकै गौरवशाली र परिवर्तनकारी दिनका रूपमा चित्रण गरेका छन्।

एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले २००७ साल फागुन ७ गते जनताको अदम्य साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक तथ्य सम्झिएका छन्। यस अवसरमा प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्ने अमर सहिदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति उनले हार्दिक श्रद्धाञ्जली तथा भावपूर्ण सम्मान व्यक्त गरेका छन्।

नेता ओलीले आजको दिनले हरेक नेपालीमाथि तीन महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी सुम्पेको बताएका छन्। सन्देशमा भनिएको छ, “पहिलो, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउनु हाम्रो प्राथमिक कर्तव्य हो। दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवन्त राख्नुपर्छ।”

त्यस्तै, तेस्रो जिम्मेवारीबारे उल्लेख गर्दै उनले भनेका छन्, “आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य छ।”

अन्त्यमा अध्यक्ष ओलीले आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबै नेपाली एकजुट भई जागरूकतापूर्वक अघि बढ्न सकून् र देशको समृद्धिको यात्रालाई सफल बनाउन सकून् भन्ने कामना गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button