अमेरिकी सेना सिरियाबाट फिर्ता : एक दशक लामो उपस्थितिको अन्त्य

वासिङ्टन, १९ फेब्रुअरी : अमेरिकाले सिरियामा तैनाथ आफ्ना करिब १ हजार सैनिक पूर्ण रुपमा फिर्ता लिने भएको छ। वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बुधबार यो जानकारी दिएको हो।
रिपोर्टअनुसार पेन्टागनले यसै महिनाको सुरुमा सिरियाको उत्तरपूर्वी भागमा रहेको अल-शद्दादी बेस र सिरिया-जोर्डन-इराक सीमानाको रणनीतिक चोक अल-तान्फ ग्यारिसनबाट आफ्ना सबै सैनिक फिर्ता गरिसकेको छ। आगामी दुई महिनाभित्र बाँकी रहेका सबै अमेरिकी फौज सिरियाबाट बाहिरिनेछन्।
दुई अमेरिकी अधिकारीहरूले जर्नललाई बताएअनुसार ह्वाइट हाउसले अब सिरियामा अमेरिकी सैन्य उपस्थिति आवश्यक नरहेको ठहर गरेपछि एक दशक लामो यो उपस्थिति समाप्त हुन लागेको हो। अधिकारीहरूका अनुसार यो फिर्ता मध्यपूर्वमा इराणविरुद्ध सम्भावित हमलाका लागि भइरहेको ठूलो सैन्य तैनातीसँग सम्बन्धित भने छैन।
अमेरिकी सेना सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा सिरियाको गृहयुद्धका बेला इस्लामिक स्टेट (आईएस) विरुद्धको लडाइँको नाममा पहिलो पटक सिरिया भित्रिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा सिरियामा अमेरिकी सैनिक संख्या घटाउँदै लगिएको थियो।
विश्लेषकहरूका अनुसार यो फिर्ता मध्यपूर्वको भूराजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तनको संकेत हो। सिरियामा रुस र इरानको बढ्दो प्रभावका बीच अमेरिकी सेना फिर्ता हुनुले यस क्षेत्रमा नयाँ शक्ति सन्तुलन कायम हुन सक्ने टिप्पणी गरिएको छ।





