रणनीतिक साझेदारी र तनावको नयाँ युग: इराण-रुस सम्बन्ध गहिरिँदै, अमेरिकासँग वार्ता जारी

मस्को/तेहरान, १९ फेब्रुअरी : क्षेत्रीय तनाव चुलिँदै गइरहेको बेला इराण र रुसले आणविक ऊर्जा तथा सैन्य अभियानलगायत धेरै मोर्चामा सहकार्य अभिवृद्धि गरिरहेका छन्। यो विकास यस्तो समयमा भएको हो जब इराण अमेरिकासँग आणविक सम्झौताको प्रयासमा छ।

बुधबार रुसी ऊर्जामन्त्री सर्गेई सिभिलेभले तेहरानमा इराणी तेलमन्त्री मोहसिन पाकनेजादसँगको संयुक्त पत्रकार सम्मेलनमा भने, “हामी बुशेहर आणविक ऊर्जा केन्द्रको दोस्रो र तेस्रो एकाइको निर्माण जारी राखेका छौं र अतिरिक्त उच्च क्षमता तथा न्यून क्षमताका एकाइहरूको विकल्पमा छलफल गरिरहेका छौं।” रुस सन् १९९५ मा निर्माण सम्झौतामा हस्ताक्षर भएदेखि नै इराणको दक्षिणी तटमा रहेको बुशेहर परियोजनामा संलग्न छ।

सिभिलेभसँगको भेटमा इराणी राष्ट्रपति मसूद पेजेश्कियानले इरान रुससँगको सम्बन्ध “नयाँ युग” मा प्रवेश गरेको बताउँदै यसलाई कार्यान्वयन गर्न “गम्भीर” रहेको बताए। उनले विश्व शक्तिहरूको “एकपक्षीय” नीतिको आलोचना पनि गरे।

यसैबीच, इरानी सञ्चारमाध्यमका अनुसार इरान र रुसको नौसेना बीच बिहीबार ओमानको खाडी र उत्तरी हिन्द महासागरमा संयुक्त अभ्यास हुने कार्यक्रम छ। अभ्यासका प्रवक्ता हसन माक्सुद्लुले यसले समुद्री सुरक्षा र संयुक्त कारबाही सुदृढ गर्ने बताए।

यी घटनाक्रम यस्तो बेला भएका हुन् जब अमेरिका र इरानबीच तनाव चरम बिन्दुमा पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत युएसएस जेराल्ड आर फोर्डलाई मध्यपूर्वमा पठाउने घोषणा गरेका छन्। यो पोत हाल मध्य-अटलान्टिकमा रहेको छ र खाडी क्षेत्रतर्फ जाँदैछ।

सैन्य तैनातीसँगै कूटनीतिक प्रयास पनि जारी छन्। मंगलबार जेनेभामा इरान र अमेरिकाबीच अप्रत्यक्ष आणविक वार्ताको दोस्रो चरण सम्पन्न भएको छ। इरानी विदेशमन्त्री सैय्यद अब्बास अराक्चीले यो वार्ता पहिलो चरणभन्दा बढी “रचनात्मक” रहेको बताए। अमेरिकी अधिकारीहरूले पनि प्रगति भएको तर धेरै विवरणमा छलफल गर्न बाँकी रहेको जनाएका छन्।

बुधबार अराक्ची र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का महानिर्देशक राफेल ग्रोसीबीच टेलिफोन वार्ता भएको छ। ग्रोसीले नतिजा “सकारात्मक” रहेको बताएका छन्।

पेरिसमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी ऊर्जा सचिव क्रिस राइटले चेतावनी दिए, “उनीहरूले आणविक हतियारले के गर्न सकिन्छ भन्नेबारे स्पष्ट पारिसकेका छन्। यो पूर्ण रुपमा अस्वीकार्य छ।” पश्चिमा अधिकारीहरूका अनुसार इरानसँग अब ६० प्रतिशतसम्म संवर्धित युरेनियम रहेको छ, जुन हतियार-ग्रेडको नजिक छ। तेहरानले भने आफ्नो कार्यक्रम शान्तिपूर्ण ऊर्जाका लागि मात्र रहेको दाबी गर्दै आएको छ।

यसैबीच, इजरायल उच्च सतर्कतामा रहेको छ र इरानसँग टकराव चाँडै सुरु हुन सक्ने आकलन गरेको छ। सार्वजनिक प्रसारक कानले वरिष्ठ इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। संसदको विदेश मामिला तथा रक्षा समितिका अध्यक्ष बोआज बिस्मुथले नेसेटमा भने, “हामी इरानको सन्दर्भमा चुनौतीपूर्ण दिनहरूको सामना गरिरहेका छौं।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button