‘एक पटकको नेपाली, सधैंको नेपाली’ : रास्वपा घोषणापत्रमा दोहोरो नागरिकताको पक्षमा उभिने घोषणा

सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा दोहोरो नागरिकताको पक्षमा उभिने स्पष्ट अडान लिएको छ। कर्णालीको राजधानी सुर्खेतमा बिहीबार आयोजित एक कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।
रास्वपाको घोषणापत्रको बुँदा नम्बर ९९ मा प्रवासमा रहेका नेपालीहरूलाई देशको आर्थिक रूपान्तरणको मुख्य आधार स्तम्भको रूपमा हेरिएको उल्लेख छ। ‘विदेशमा रहेका नेपालीहरूका लागि मतदानको अधिकार प्रदान गर्नुको साथै गैरआवासीय नेपालीहरूको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिने’ घोषणा गरिएको छ।
रास्वपाले गैरआवासीय नेपालीहरूको सम्पत्ति अधिकारमा रहेका प्रशासनिक झन्झटहरू तत्काल अन्त्य गर्ने प्रतिबद्धता समेत जनाएको छ। यसअन्तर्गत गैरआवासीय नेपालीको पुँजीलाई नेपालका ठूला पूर्वाधार र नवप्रवर्तनमा लगानी गर्न विशेष कानुनी सुरक्षा, ‘डलर खाता’ को सहजता र प्रतिफल सहज रूपमा फिर्ता लैजान सक्ने कानुनी प्रावधान बनाउने वाचा गरिएको छ।
घोषणापत्रमा प्रवासमा रहेको उच्च तहको ज्ञान, सीप र प्रविधिलाई स्वदेशको शिक्षा, स्वास्थ्य र उद्योगसँग प्रत्यक्ष जोड्न ‘राष्ट्रिय ज्ञान बैंक’ स्थापना गर्ने पनि उल्लेख छ। यसले विश्वभर छरिएर रहेका नेपालीहरूको ज्ञान र सीपलाई देश विकासमा उपयोग गर्न सहज बनाउने दाबी रास्वपाको छ।
यस्तै संसारको जुनसुकै कुनामा रहेका नेपालीहरूले नेपालको पर्यटन, संस्कृति र लगानी प्रवर्द्धन गर्न ‘स्वयंसेवी दूत’ को रूपमा काम गर्ने वातावरण र संयन्त्र बनाइने पनि घोषणापत्रमा उल्लेख छ। ‘प्रवास मार्फत नेपाली भाषा, कला र मौलिक पहिचानलाई विश्वका प्रमुख सहरहरूमा जीवन्त रूपमा फैलाइनेछ, जसले नेपालको ‘सफ्ट पावर’ लाई मजबुत बनाउनेछ,’ घोषणापत्रमा भनिएको छ।
रास्वपाको घोषणापत्र उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गठित समितिले तयार पारेको हो। घोषणापत्र सार्वजनिक कार्यक्रममा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत शीर्ष नेताहरूको उपस्थितिले यसलाई पार्टीले विशेष प्राथमिकता दिएको संकेत गरेको छ।
दोहोरो नागरिकताको मुद्दामा रास्वपाले लिएको यो अडानले गैरआवासीय नेपाली समुदायमा सकारात्मक सन्देश गएको छ। लामो समयदेखि गैरआवासीय नेपालीहरूले उठाउँदै आएको यो मागलाई रास्वपाले चुनावी घोषणापत्रमै समावेश गरेर यो समुदायको मत तान्ने रणनीति लिएको देखिन्छ। तर, यस विषयमा अन्य दलहरू के अडान लिन्छन् भन्ने पनि हेर्न बाँकी नै छ।





