तिब्बत मामिलामा अमेरिकी हस्तक्षेप : ट्रम्प प्रशासनद्वारा विशेष समन्वयकर्ता नियुक्ति

काठमाडौं / अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तिब्बती मामिलाका लागि अमेरिकी विशेष समन्वयकर्ताको पदमा राइली बार्न्सलाई नियुक्त गरेको घोषणा गरेका छन्। सन् २००२ मा अमेरिकी कांग्रेसले सिर्जना गरेको यस पदमा बार्न्सलाई पठाइएको हो, जो हाल प्रजातन्त्र, मानवअधिकार तथा श्रम मामिलाका सहायक विदेशमन्त्री समेत रहेका छन्।
रुबियोले मंगलबार तिब्बती नयाँ वर्ष ल्होसारको अवसरमा जारी विज्ञप्ति मार्फत बार्न्सको नियुक्ति सार्वजनिक गरेका हुन्। ‘आगो घोडा वर्षको पहिलो दिनमा, हामी विश्वभरका तिब्बतीहरूको साहस र लचिलोपनको उत्सव मनाउँछौं,’ रुबियोले भनेका छन्। ‘तिब्बतीहरूको अविभाज्य अधिकार तथा उनीहरूको भाषिक, सांस्कृतिक र धार्मिक परम्पराको संरक्षण गर्न अमेरिका प्रतिबद्ध छ,’ उनले थपेका छन्।
यो नियुक्ति यस्तो बेला भएको छ, जतिखेर राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन विश्वभर मानवअधिकारका मुद्दामा मौन रहँदै आएको छ भने अमेरिकाले भेनेजुएला, इरान, क्युबा र डेनमार्कको ग्रिनल्यान्डमा प्रत्यक्ष हस्तक्षेप वा धम्की दिने कार्य गरिरहेको छ।
चिनियाँ विदेश मन्त्रालयले चिनियाँ नयाँ वर्ष बिदाका कारण तत्काल प्रतिक्रिया नजनाए पनि विगतमा यस्तै नियुक्तिहरूको बेइजिङले कडा विरोध गर्दै आएको छ। सन् २०२० मा ट्रम्प प्रशासनकै पालामा यस्तै नियुक्ति भएपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका थिए, ‘तिब्बत मामिलाको तथाकथित समन्वयकर्ता राख्नु चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र तिब्बतलाई अस्थिर बनाउने राजनीतिक चालबाजी हो। चीन यसको कडा विरोध गर्दछ। तिब्बत मामिला चीनको आन्तरिक विषय हो र यसमा कुनै पनि विदेशी हस्तक्षेप अस्वीकार्य छ।’
यसैबीच मंगलबार नै वाशिङ्टनस्थित रेडियो फ्रि एसियाका प्रमुखले अमेरिकी सरकारद्वारा वित्तपोषित उक्त समाचार माध्यमले चीनतर्फको प्रसारण पुनः सुरु गरेको जानकारी दिएका छन्। ट्रम्प प्रशासनको बजेट कटौतीका कारण अक्टोबरमा प्रसारण बन्द गरेको रेडियो फ्रि एसियाले अब मन्डारिन, तिब्बती र उइगुर भाषामा चिनियाँ श्रोताहरूका लागि कार्यक्रम प्रसारण गर्न थालेको हो।





