सेतो महिनाको अवसरमा राष्ट्रपति पुटिनको शुभकामना : रुसी बौद्ध समुदायलाई हार्दिक सम्बोधन

काठमाण्डौ, २० फेब्रुअरी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा रहेका बौद्ध धर्मावलम्बीहरूलाई सेतो महिना (चन्द्र पात्रो अनुसारको नयाँ वर्ष) को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पुटिनले जारी गरेको शुभकामना सन्देशमा रुसी बौद्ध समुदायले पुर्खौंदेखि सञ्चालन गर्दै आएको ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक सम्पदा र विशिष्ट परम्परा एवं रीतिथितिहरूको संरक्षण गरेकोमा प्रसन्नता व्यक्त गरेका छन्।

रुसको सार्वजनिक जीवनमा बौद्ध संघसंस्थाहरू सक्रिय रूपमा सहभागी रहेको उल्लेख गर्दै राष्ट्रपति पुटिनले उनीहरूले महत्त्वपूर्ण शैक्षिक र परोपकारी कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएका छन्। यसका साथै अन्तरधार्मिक तथा अन्तरजातीय सद्भाव प्रवर्द्धन, पारिवारिक मूल्यहरूको सुदृढीकरण र युवा पुस्ताको शिक्षामा बौद्ध समुदायले पुर्याएको योगदानको पनि उनले प्रशंसा गरेका छन्।

राष्ट्रपति पुटिनले विशेष रूपमा बौद्ध समुदायले विशेष सैन्य अभियानमा संलग्न सैनिकहरू र उनका परिवारलाई पुर्याएको अर्थपूर्ण सहयोगको सराहना गरेका छन्। यस्तै मठमन्दिर तथा ऐतिहासिक स्थलहरूको पुनर्निर्माण, नयाँ गुम्बा तथा शैक्षिक केन्द्रहरू निर्माणमा देखाएको निष्ठा पनि उल्लेखनीय रहेको उनले बताएका छन्।

“रुसमा बसोबास गर्ने सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू, यस प्राचीन धर्मलाई अनुसरण गर्ने सबैमा यस उज्ज्वल एवं शुभ अवसरमा म हार्दिक बधाई व्यक्त गर्दछु। तपाईंहरू सबैको सुस्वास्थ्य, निरन्तर सफलता र उत्तम भविष्यको कामना गर्दछु,” राष्ट्रपति पुटिनको शुभकामना सन्देशमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button