बालेनविरुद्ध गृहमन्त्रालयमा उजुरी
नागरिकतामा थर र घर ठेगाना परिवर्तनमा झूटो विवरण दिएको आरोप

काठमाडौं, २० फेब्रुअरी । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) विरुद्ध नागरिकतामा झूटो विवरण दिएको आरोपसहित गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ।
सामाजिक अभियन्ता युवराज सफलले दिएको उजुरीमा साहले नागरिकता ऐन, २०६३ विपरीत कार्य गरेको दाबी गर्दै उनको नागरिकता खारेज गरी कानुनी कारबाही गर्न माग गरिएको छ।

गृह मन्त्रालयलाई सम्बोधन गरी दर्ता गरिएको उजुरीमा २०६३ साल पुस ६ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट ५१९२ नम्बरको नागरिकता लिँदा ‘साह’ उल्लेख गरिएको तर पछि काठमाडौँ महानगरपालिकाको मेयर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा घर परिवर्तन गरी फरक विवरण उल्लेख गरिएको दाबी छ।
उजुरीकर्ता युवराज सफलले गृह मन्त्रालयमा दिएको उजुरीको बेवास्ता भएमा सर्वोच्च अदालत समेत जाने चेतावनी दिएकाे बुझिएको छ। श्राेतका अनुसार `गृह मन्त्रालयमा उजुरी दर्ता गराएको छु। यो उजुरीलाई सरकारले बेवास्ता गरे सर्वोच्चसमेत जान्छु,’ सफलले बताएका छन्।
उजुरीकर्ताले नागरिकता ऐन, २०६३ को दफा १२ अनुसार कुनै पनि नेपाली नागरिकले झूटो विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्द गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन्। साथै, घर परिवर्तन गर्न चाहने व्यक्तिले दफा १७(२) अनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था भए पनि सो प्रक्रिया पूरा नगरी थर परिवर्तन गरिएको आरोप लगाइएको छ।
निवेदनमा सम्बन्धित कागजातको अनुसन्धान गरी कानुन बमोजिम नागरिकता खारेज गर्न तथा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ।
यस विषयमा बालेन्द्र साहको अहिलेसम्म कुनै प्रतिक्रिया आएकाे छैन। नागरिकता प्रकरणले पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेतालाई कानुनी रूपमा थप दबाबमा पार्न सक्ने आकलन गरिएको छ।





